• ७ पुस २०८२, सोमबार

सप्तरीमा हराएका चार बालबालिका फेला

blog

हराएका चार बालबालिका सप्तरी प्रहरीद्वारा सकुशल फेला पारी आफन्तको जिम्मा लगाएको । तस्बिर : देवराम यादव

देवराम यादव

सप्तरी, पुस ७ गते । सप्तरीको तिरहुत गाउँपालिका–३, गोइठी टोलबाट हराएका चार जना बालबालिका सकुशल फेला परेका छन्।

पुस ६ गते दिउँसो करिब ४ बजे सोही टोलमा बसोवास गर्ने बिरेन्द्र सरदारकी ७ वर्षीया छोरी सृष्टिकुमारी सरदार, चन्दर सरदारकी करिब ७ वर्षीया छोरी वर्षाकुमारी सरदार, रामचन्द्र सरदारकी करिब ८ वर्षीया छोरी आरोसी सरदार र उनका करिब ६ वर्षीया छोरा कृष्ण सरदार गरी चार जना बालबालिका हराएको थियो । उहाँहरूलाई सप्तरी प्रहरीले सकुशल फेला गरी परिवारलाई जिम्मा लगाइएको सप्तरी प्रहरीले जनाएको छ ।

बालबालिका लामो समयसम्म घर नफर्किएपछि अभिभावक तथा आफन्तले गाउँघर, नातागोता र सम्भावित स्थानहरूमा खोजतलास गरेका थिए। खोजतलासका क्रममा उहाँहरू फुफुको घर हनुमाननगर, सप्तरीतर्फ जान्छु भनी हिँडेको बुझिएपछि बिरेन्द्र सरदारलगायतले इलाका प्रहरी कार्यालय भारदह, सप्तरीमा मौखिक जानकारी गराएका थिए।

जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले खोजतलास अभियान सुरु गरेको थियो। सोही क्रममा सोमबार उक्त चारै जना बालबालिका भारदहबाट कोशी ब्यारेजतर्फ पैदल जाँदै गरेको अवस्थामा कोशी पुलछेउबाट फेला परेको जिल्ला प्रहरी बार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनु भयो ।