अमरराज नहर्की
बन्दीपुर (तनहुँ), पुस ७ गते । बन्दीपुर भ्रमण वर्ष २०२५ को समापन तथा तमु ल्होसार पर्वको अवसरमा आगामी पुस १५ गते बन्दीपुरमा विशाल ‘कौरा नृत्य’ प्रदर्शन गरिने भएको छ ।
‘हाम्रो ल्होसार, हाम्रो कौरा, कौराको उद्गमस्थल तनहुँ, हाम्रो गर्व’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस कार्यक्रमले जिल्लाको मौलिक सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्दै पर्यटन प्रवर्धन गर्ने लक्ष्य राखेको छ ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बन्दीपुरको पर्यटनलाई मौलिक संस्कृतिसँग जोडेर अगाडि बढाउन यो उत्सव कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो, “बन्दीपुरको प्राकृतिक सौन्दर्यसँगै यहाँको रैथाने संस्कृतिलाई विश्वमाझ चिनाउन हामीले भ्रमण वर्षको समापनका अवसरमा कौरा नृत्यलाई विशेष प्राथमिकता दिएका हौँ । यसले यहाँको अर्गानिक पहिचानलाई थप उचाइमा पुर्याउने र पर्यटन प्रवर्धनमा टेवा पुग्ने विश्वास लिएका छौँ ।”
बन्दीपुरको टुँडिखेलमा आयोजना हुने यस भव्य कार्यक्रममा सबैभन्दा धेरै कलाकारहरूको सहभागिता रहने र आकर्षक ‘चुट्का (कौरा) नृत्य’ नै कार्यक्रमको मुख्य आकर्षण हुने बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक बैसबहादुर गुरुङले जानकारी दिनु भयो । यो कार्यक्रम सांस्कृतिक उत्सवका साथै कौरा नृत्यमा रमाउने एक महत्त्वपूर्ण अवसरका रूपमा रहने उहाँको भनाइ थियो ।
कार्यक्रमका संयोजक हरिसिंह गुरुङले कार्यक्रम खुला रूपमा आयोजना गरिएको जानकारी दिनु भयो । नृत्यमा सहभागी हुन इच्छुक सबै जातजातिका व्यक्तिहरू आ–आफ्नै जातीय तथा संस्थागत पोशाकमा उपस्थित हुनुपर्ने व्यवस्था गरिएको बताउनु भयो र उहाँका अनसार सामूहिक रूपमा सहभागी हुन चाहनेहरूले कम्तीमा २५ जनाको समूह बनाउनु पर्ने र त्यस्ता समूहहरूले कौरा नृत्य प्रतियोगितामा समेत प्रतिस्पर्धा गर्न पाउँछन् ।
सहभागी कलाकार तथा समूहहरूलाई सम्मान र पुरस्कारको समेत व्यवस्था गरिएको छ । कलाकारहरूको प्रस्तुतिलाई थप प्रभावकारी बनाउन आयोजकले विभिन्न स्थानमा प्रशिक्षणको समेत व्यवस्था मिलाएको छ । जस अनुसार मङ्सिर २६ र २७ गते बन्दीपुर टुँडिखेल, पुस १ र २ गते दमौली खुला मञ्च र आदिकवि भानुभक्त क्याम्पस तथा पुस ४ र ५ गते रामशाह माध्यमिक विद्यालय, आँबुखैरेनीमा अभ्यास गराइएको छ । दमौली, आँबुखैरेनी र धरमपानी क्षेत्रबाट सहभागी हुने कलाकारका लागि यातायातको विशेष व्यवस्था समेत मिलाइएको आयोजकले जनाएको छ ।