• १२ पुस २०८१, शुक्रबार

कोहलपुर नगर अस्पतालबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु

blog

नगर अस्पतालमा स्वास्थ्य बिमा सुरु गरेको कोहलपुर नगरपालिका कार्यालय । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, मङ्सिर ९ गते ।
 बाँकेको कोहलपुर नगर अस्पतालले केही महिना ढिला गरेरै भए पनि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ । 

गत भदौ १ गतेबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु गर्ने गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले गत साउन २५ गते कोहलपुर नगर अस्पतालमा बिमा कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।

कोहलपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले गत भदौ १ गतेबाट सेवा दिने तयारी गरिए पनि प्राविधिक कठिनाइका कारण ढिलो गरी सेवा सुरु भएको जानकारी दिँदै अब सेवा निरन्तर जारी रहने बताउनुभयो ।

स्वास्थ्य बिमा सुरु गरिएपछि कोहलपुर नगरपालिकाका बिमितहरुको गुनासोलाई ध्यानमा राख्दै, बनकटवालगायत अन्य अस्पतालमा रेफरलका लागि जानु पर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ ।

सेवा सुरु भएबाटै सेवा लिनेहरू पनि बढ्दै गएको कोहलपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख ठकुरीले बताउनुभयो ।

कोहलपुर नगरपालिकाले स्वास्थ्य बिमाका लागि लामो समयदेखि गरिरहेको प्रयासले सार्थकता पाएको जनाउँदै कार्यवाहक प्रमुख सङ्गीता सुवेदीले अब बिरामीलाई उपचारमा सहज र सरल हुने बताउनुभयो ।

उहाँले स्वास्थ्य सेवा उपयोगको क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रिम व्यवस्थापन गर्दै वित्तीय संरक्षण प्रदान गर्ने अवधारणाअन्तर्गत सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्त्वपूर्ण कार्यक्रम स्वास्थ्य बिमा कार्यक्रम रहेको बताउनुभयो ।

स्वास्थ्य बिमा बोर्डको नमुना स्थानीय तह घोषणा कार्यविधि–२०७८ ले निर्देशित गरेका सम्पूर्ण मापदण्ड पूरा गर्दै कोहलपुर नगरपालिकाले नगर अस्पतालबाट बिमा कार्यक्रम सुरु गरेको जनाएको छ ।

यसअघि स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध नगरभित्रका नागरिकलाई बैजनाथ गाउँपालिका पुग्नुपर्ने बाध्यता रहेको थियो । बिमा कार्यक्रम सुरु भएपछि अब कोहलपुरसँगै पायक पर्ने अन्य पालिकाका नागरिकलाई समेत सहज हुने भएको छ ।