• ८ पुस २०८१, सोमबार

आइक्यापको दोस्रो दिन

विश्व शान्तिका साझा चुनौतीविरुद्ध एकजुट हुनुपर्नेमा नेताको जोड

blog

सम्मेलनमा सहभागी नेपालका नेता । तस्बिरः नारद गौतम

नोम पेन्ह (कम्बोडिया), मङ्सिर ७ गते। एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) को १२ औं साधारण सभाको दोस्रो दिन विश्वका विभिन्न दलका नेताले विश्व शान्तिका लागि साझा चुनौतीविरुद्ध एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्। 

कम्बोडियाको राजधानी नोम पेन्हमा भएको सम्मेलनमा एसिया, अफ्रिका, ल्याटिन अमेरिका, क्यारेबियन र युरोपका राजनीतिक पार्टीका प्रतिनिधिहरू सहभागी छन्। उनीहरुले सीमा विवाद, डिजिटल विभेद, फेक न्युज, साइबर अपराध, मानव बेचविखन, जलवायु परिवर्तन, दुई देशीय लडाइँ विश्व शान्तिका लागि साझा चुनौती रहेका बताएका छन। 

शान्ति र मेलमिलापको खोजी विषयमा मन्तव्य राख्दै नेताहरूले इजरायल र प्लेस्टाइन, रुस र युक्रेनबिचको लडाइँले क्षेत्रीय तनाव बढाउनुका साथै विश्व शान्तिका लागि ठूलो चुनौतीका रुपमा रहेकाले सम्बन्धित देशलाई आपसी संवाद र मेलमिलापबाट नै शान्तिको मार्ग खोज्न आह्वान गरेका छन्। 

जुनसकै धर्मको मूल सन्देश भनेको शान्ति नै भएकाले सबै धार्मिक समूह तथा समुदायले पनि दिगो शान्ति र समृद्धिका लागि एक भएर बढ्नुको विकल्प नरहेको भनाइ पनि नेताहरुको छ। 

कम्बोडियन पिपल्स पार्टी (सिसिपी) का अध्यक्ष, पूर्व प्रधानमन्त्री तथा आइक्यापका मानार्थ अध्यक्ष हुन सेनलाई शुभकामना पत्र लेख्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दिगो शान्तिको मार्गमा अगाडि बढेको उल्लेख गर्नुभएको छ। 

नेकपा (एमाले)का अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) अहिलेसँगै रहेर नेपालको शान्ति, दिगो विकास र समृद्धिका लागि काम गरिरहेको बताउनुभएको छ। 

प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘हामीले विश्वव्यापी मञ्चमा बढ्दो भूराजनीतिक तनाव र द्वन्द्वको सामना गरिरहेका छौं। यस सभामा भएका छलफलहरूले गहिरो सम्बन्ध स्थापित गर्ने र शान्तिपूर्ण, समृद्ध र स्थिर एसिया निर्माण गर्ने दिशामा काम गर्ने अनुपम अवसर प्रदान गर्दछ।’’


प्रधानमन्त्रीले ओलीले यसले एशियामा शान्ति र सहकार्यका लागि हाम्रो साझा दृष्टिकोण बनाउने र भविष्यमा दिगो प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभएको छ। प्रधानमन्त्रीको सन्देश एमाले नेता तथा आइक्यापको स्थायी समिति सदस्य डा. राजन भट्टराईले पढेर सुनाउनु भएको थियो। 

सम्मेलनलाई सम्बोधन गर्नुहुँदै पूर्व उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री सुजाता कोइरालाले नेपालले सशस्त्र संघर्षलाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सबै दल मिलेर विस्तृत शान्ति सम्झौतामार्फत शान्तिमा रुपान्तरण गरेको बताउनुभयो। 

नेपाली कांग्रेसका नेतृ कोइरालाले संवाद, सहकार्य र मेलमिलापबाट नेपालले संविधानसभामार्फत बनेको संविधान जारी गरेको र त्यसमा राज्यका हरेक अंगमा समावेशिता अपनाइएकाले शान्ति सम्भाव भएको बताउनुभयो। दिगो शान्तिका लागि सांस्कृतिक विविधताको सम्मान हुनु जरुरी छ। उहाँले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) जस्ता साझा संस्थाको क्रियाशीलताबाट स्थायी शान्ति र विकास सम्भव हुने भनाइ पनि राख्नुभयो। 

यसैगरी, पूर्व उपप्रधानमन्त्री रघुवीर महसेठले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा शान्ति र मेलमिलापतर्फ आशाजनक कदम देखिरहेका छौं भन्दै भर्खरै नेपालको संसदले सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्ने विधेयक सर्वसम्मतिले पारित गरेको प्रष्ट पार्नुभयो। 


सत्य र न्यायलाई सन्तुलन गर्ने प्रक्रिया सिर्जना गर्ने यो महत्वपूर्ण प्रतिबद्धता हो भन्दै एमाले नेता महसेठले शान्त, स्थिर र समृद्ध एसियाका लागि आक्यापमा सहभागी देशहरु सफल हुने विश्वास व्यक्त गर्नुभयो। सम्मेलनमा नेपाली नेताले नेपालको शान्ति प्रक्रियाबाट अन्य देशले पाठ सिकेर अगाडि बढ्न सक्ने विश्वास धारण राख्नु भयो।

उहाँहरुले बुद्धको देश नेपालले देखाएको शान्तिको मार्ग एसियासहितका अन्य देशका लागि पनि अनुकरणीय छ भन्दै नेपालले विकास र समृद्धिका लागि अझै धेरै काम गर्न बाँकी रहेकाले सहयोग गर्न आग्रह पनि गर्नुभयो। 

जनता पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउत, पूर्व सांसद एवम् नेपाली कांग्रेसका नेता दिव्यमणि राजभण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा मुख्य सचिव केदारबहादुर अधिकारी, जनता समाजवादी पार्टी नेपालका अन्तर्राष्ट्रिय सचिव भरत गुरुङ,  नेपाल परिवार पार्टीका अध्यक्ष एकनाथ ढकालले सम्बोधन गर्नुभएको छ। उहाँहरुले नेपालले शान्ति प्राप्त गरेर पनि विकास र समृद्धिको दिशामा धेरै काम गर्न बाँकी रहेकाले सबैको सहयोग र सद्भावको आवश्यकता औंल्याउनुभयो। 

कम्बोडियाको सत्तारुढ दल कम्बोडियन पिपुल्स पार्टी (सिसिपी) ले आयोजना गरेको कार्यक्रममा एसियाबाट २८ देशका ४९ वटा राजनीतिक दलका ६२ जना नेता तथा प्रतिनिधि सहभागी छन्। सम्मेलनमा शनिबार  मेलमिलाप प्रवद्र्धनको लागि सांस्कृतिक विविधता, शान्ति कायम गर्नका लागि डिजिटल सन्दर्भमा मिथ्या समाचार (फेक न्युज) सँगको लडाइँ र शान्ति र मेलमिलाप कायम गर्न राजनीतिक दलको भूमिका विषयमा प्रतिनिधिले विचार राख्ने कार्य जारी छ।

यो पनि पढ्नुहोस
Author
नारद गौतम

उहाँ गोरखापत्र अनलाइनको डिजिटल प्रमुख–संयोजक हुनुहुन्छ ।