चन्द्र पन्दाक
ताप्लेजुङ, मङ्सिर ५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा वडाध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा पाँच जनाकै उम्मेदवारी कायम रहेको छ । सिरिजङ्घा गाउँपालिका–३ सिकैँचाको वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका सबै जनाको उम्मेदवारी कायम रहेको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय, सिकैँचाका अनुसार निर्धारित समयभित्र उम्मेदवारी दर्ता भएका कसैले पनि नाम फिर्ता नलिएपछि सबैको उम्मेदवारी कायम रहेको हो । यही मङ्सिर १६ गते हुने उपनिर्वाचनअन्तर्गत वडाध्यक्ष पदका लागि नेपाली काँग्रेसका तर्फबाट भीमकुमार लक्सम्बा, नेकपा एमालेबाट कुमारी साउदेन लिम्बू र नेकपा (माओवादी केन्द्र)का तर्फबाट अम्बि साउदेन लिम्बूले उम्मेदवारी दिनुभएको छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट देवीप्रसाद पौडेल र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट रनध्वोज काङ्बाले उम्मेदवारी दिनुभएको छ । विभिन्न पाँच दलको प्रतिनिधित्व गर्दै वडाध्यक्ष पदको उम्मेदवारी दिनुभएका सबैको उम्मेदवारी कायम भएको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश विकास श्रेष्ठले जानकारी दिनुभयो ।
यता उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनसँगै उहाँहरूलाई निर्वाचन चिह्नसमेत प्रदान गरी सकिएको सहायक निर्वाचन अधिकृत दलबहादुर तामाङ (डिवी)ले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार उम्मेदवारले नाम फिर्ता लिने र कायम भएकालाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यक्रम तालिका रहेको थियो ।