• ७ वैशाख २०८१, शुक्रबार

भगवानपुर र विष्णुपुर गाउँपालिकामा एमाले विजयी

blog

सन्तोष सुवेदी

सिरहा, जेठ ३ गते । सिरहाको भगवानपुर र विष्णुपुर गाउँपालिकामा नेकपा (एमाले) का उम्मेदवारहरु उग्रनारायण यादव र सत्यनारायण यादव निर्वाचित हुनुभएको छ । उहाँहरुले निवर्तमान गाउँपालिका अध्यक्ष रहनुभएका वेचनप्रसाद यादव र जागेश्वर यादवलाई पराजित गरी निर्वाचित हुनुभएको हो । 

भगवानपुर गाउँपालिका एमालेका उग्रनारायण यादवले चार हजार ३०२ मत प्राप्त गर्नुभएको थियो भने उहाँको निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका वेचनप्रसाद यादवले तीन हजार २३९ मत प्राप्त गर्नुभएको थियो ।

भगवानपुर गाउँपालिकाको उपाध्यक्षमा एमालेका रेखाकुमारी यादव तीन हजार ९६० मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी जसपाका जिवछीदेवी यादवले तीन हजार २१० मत प्राप्त गर्नुभएको भगवानपुर गाउँपालिकाका निर्वाचन अधिकृत विकासकुमार रजकले जानकारी दिनुभयो । 

यसैगरी, विष्णुपुर गाउँपालिकाको अध्यक्षमा एमालेका सत्यनारायण यादवले निकटतम प्रतिद्वन्दीलाई ४१ मतले पछि पार्दै निर्वाचित हुनुभएको छ । नवनिर्वाचित गाउँपालिका अध्यक्ष सत्यनारायण यादवले दुई हजार १५८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी जसपाका जागेश्वर यादवले दुई हजार ११७ मत प्राप्त गर्नुभयो । 

विष्णुपुर गाउँपालिकाका उपाध्यक्षमा भने जसपाकी गीताकुमारी सिंह निर्वाचित हुनुभएको छ । नवनिर्वाचित सिंहले दुई हजार २७२ मत प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसकी चन्द्रकलाकुमारी यादवले एक हजार १६९ मत प्राप्त गर्नुभयो ।