कविराज घिमिरे
हिले, मङ्सिर ४ गते । धनकुटा नगरपालिकाले एभोकाडो तथा स्थानीय उत्पादनको प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीमा धनकुटा नगरक्षेत्रमा उत्पादन भएको एभोकाडोका विभिन्न तरकारीबाली, अचारका परीकार, एभोकाडो आँप किवी आदिबाट उत्पादन गरिएको जुस कृषि सामग्रीलगायत बस्तु प्रदर्शनीमा राखिएको छ ।
त्यस्तै काष्ठकला, होमस्टेसम्बन्धी जानकारीका लागि समेत स्टल राखिएको छ । एभोकाडोसहितका स्थानीय उत्पादनहरूको प्रवर्धनका तथा कृषक एवम् उद्यमीहरूलाई प्रोत्साहनका लागि प्रदर्शनी गर्न लागिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिनुभयो । प्रदर्शनीमा अहिलेसम्म धनकुटामा फलेको सबैभन्दा ठुलो एक किलो दुई सय ३० ग्रामको एभोकाडो राखिएको छ ।
नगरपालिका कार्यालयको प्राङ्गणमा एक दिने प्रदर्शनीमा एभोकाडो तथा उत्पादनहरूको प्रदर्शनी तथा बिक्री वितरण गरिएको हो । प्रदर्शनीमा उद्यमशीलता विकाससम्बन्धी परामर्श पनि दिइने नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख विकास अधिकारीले जानकारी दिनुभयो ।
प्रदर्शनीका लागि धनकुटा नगरपालिकाले स्टल निःशुल्क उपलब्ध गराएको छ । कृषक, उत्पादक, व्यवसायी, विज्ञ तथा लगानीकर्ताको एकै ठाउँमा भेटघाट तथा अन्तरक्रिया हुने भएकाले प्रदर्शनीले स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पुर्याउने धनकुटा नगरपालिकाले जनाएको छ ।
पाँच वर्षअघि धनकुटालाई एभोकाडोको राजधानी घोसणा गरेसँगै धनकुटामा वर्षेनी एभोकाडो महोत्सव हुँदै आएको छ । धनकुटामा हाल ४ हजार ९ सय २६ परिवारले १२ हजार ९९ सय रोपनीमा खेती गर्दै आएका छन् ।