• १३ वैशाख २०८१, बिहिबार

पूर्वमन्त्री रामजनम चौधरीको वडामा नयाँ रामजनम निर्वाचित

blog

अविनाश चौधरी

धनगढी, जेठ ३ गते । नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री रामजनम चौधरीको प्रभाव क्षेत्रमा नयाँ रामजनमको उदय भएको देखिएको छ । पूर्वमन्त्री चौधरीको घर रहेको जोशीपुर गाउँपालिका –४ को वडा अध्यक्षमा रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीका रामजनम चौधरीको उदय भएको हो । 

चौधरी नेपाली काँग्रेसका उम्मेदवारलाई पराजित गरेर आफ्नो प्यानलसहित वडा अध्यक्षमा विजयी हुनुभएको छ । पूर्वमन्त्री चौधरीको घर यही वडामा छ । २०७४ को स्थानीय तहको निर्वाचनमा जोशीपुर गाउँपालिकामा काँग्रेसले जितेको थियो । 

यस पटकको निर्वाचनमा सो पालिकामा काँग्रेसले अहिलेसम्म वडा पनि जित्न सकेको छैन । वडा १, ३ र ४ वडामा नागरिक उन्मुक्ति पार्टीले जितिसकेको छ भने, वडा नम्बर २ जनता समाजवादी पार्टीले जितेको छ । 

वडा अध्यक्षमा विजयी चौधरीले एक हजार ४३४ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवारले ५९९ मत प्राप्त गर्नुभयो । ८३५ मतान्तरले विजयी भइ नागरिक उन्मुक्तिका चौधरी रामजनम चौधरीको प्रभाव क्षेत्रमा नयाँ शक्तिको रुपमा उदय हुनुभएको छ । सोही गाउँपालिकाको वडा ५ मा काँग्रेसकै अर्का नेता एवम् पूर्वमन्त्री जनकराज चौधरीको घर  छ । 

वडा नम्बर ४ को महिला सदस्यमा सुमित्रा चौधरी, दलित महिला सदस्यमा दिलमाया विश्वकर्मा, सदस्यमा सञ्चित चौधरी र बेफराम डङ्गौरा विजयी हुनुभएको छ ।