काठमाडौँ, मङ्सिर ३ गते । न्युजिल्यान्डविरुद्ध तीन खेलको एक दिवसीय घरेलु टोली श्रीलङ्काले एक खेल अगावै जितेको छ ।
पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार राति भएको दोस्रो खेलमा श्रीलङ्काले न्युजिल्यान्डलाई डकवर्थ लुइस प्रणालीका आधारमा तीन विकेटले हरायो ।
यसअघि पहिलो खेलमा श्रीलङ्का ४५ रनले विजयी भएको थियो । श्रीलङ्काले न्युजिल्यान्डविरुद्धको सिरिज १२ वर्षपछि जितेको हो । जितसँगै श्रीलङ्काले सिरिजमा २–० को अग्रता लिएको छ । सिरिजको अन्तिम खेल मङ्गलबार हुनेछ ।
दोस्रो खेलमा जितका लागि दुई सय १० रनको लक्ष्य पछ्याएको श्रीलङ्काले ४६ ओभरका सात विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । श्रीलङ्काका लागि कुसल मेन्डिसले अविजित ७४ रन बनाउनुभयो । यस्तै पथुम निसन्काले २८, महेश तिक्क्षणाले अविजित २७, जानिथ लियान्गेले २२, दुनिथ वेलालागेले १८ र कप्तान चरिथ अस्लङ्काले १३ रन बनाउनुभयो ।
बलिङमा न्युल्यिान्डका माइकल ब्रेसवेलले चार विकेट लिनुभयो । कप्तान मिचेल स्यान्टनर, ग्लेन फिलिप्स र नाथन स्मिथले एक एक विकेट झार्नुभयो । यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको न्युजिल्यान्डले ४५.१ ओभरमा सबै विकेटको क्षतिमा दुई सय नौ रन बनाएको थियो ।
तर मैदान ओसिलो भएकोले टसमा ढिलाइ हुँदा खेल ४७ ओभरमा झारिएको थियो । न्युजिल्यान्डका लागि मार्क च्याम्पम्यानले सर्वाधिक ७६ रन बनाउनुभयो । मिचेल हेले ४९, विल योङ्गले २६ र ग्लेन फिलिप्सले १५ रन जोड्नुभयो ।
बलिङमा श्रीलङ्काका लागि जेफ्री वान्डरसे र महेश तिक्क्षणाले तीन तीन विकेट लिनुभयो । असिथा फर्नान्डोले दुई तथा दुनिथ वेलालागे र चरिथ अस्लङ्काले एक एक विकेट लिनुभयो । एजेन्सी