• २८ पुस २०८१, आइतबार

‘अधिकार प्रयोग गर्दा आयोगसँग नडराउनूस्’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ३ गते । प्रचलित कानुनले दिएको अधिकार प्रयोग गरी जिम्मेवारी पूरा गर्दा नडराउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियामक निकाय र सार्वजनिक संस्थानका प्रमुखहरूलाई अनुरोध गरेको छ ।  

नियामक निकाय र सार्वजनिक संस्थानका प्रमुखहरूसँग आइतबार आयोगमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले कानुनले दिएको अधिकार असल नियतसाथ प्रयोग गरेर काम गर्दा आयोगसँग डराउनुपर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो । 

नियामक निकायले सार्वजनिक र निजी क्षेत्रको प्रभावकारी नियमन गर्नुपर्ने बताउँदै प्रमुख आयुक्त राईले भन्नुभयो, “सार्वजनिक खरिद तथा निर्माणमा औचित्य, आवश्यकता र वित्तीय तथा प्राविधिक सामथ्र्यसमेतलाई विचार गरी सेवा प्रवाहमा प्रभावकारिता ल्याउनुहुन अनुरोध गर्दछु ।”

सार्वजनिक सेवा प्रवाहमा टाइम कार्ड लागु गर्न उपयुक्त हुने बताउँदै प्रमुख आयुक्त राईले आयोगमा उजुरी परेर जानकारी माग भएको कारण देखाई काम रोक्ने प्रृवत्ति देखिएकाले उक्त प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनुभयो । साथै विकासका काममा आइपरेका समस्या समाधान गर्न समन्वयका लागि आयोग तत्पर रहेको समेत उहाँले बताउनुभयो । 

कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धनमा आयोगले गर्दै आएको कार्यको प्रशंसा गर्दै आगामी दिनमा समेत आयोगले अझ प्रभावकारी रूपले कार्य गर्दै जाने अपेक्षा रहेको बताउनुभयो । भ्रष्टाचार नियन्त्रण गर्ने दायित्व सबैको भएकाले सबैले समन्वयात्मक ढङ्गले काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाबाट सार्वजनिक संस्थानको वर्तमान अवस्था, समस्या र समाधानका उपायबारे सङ्क्षिप्त प्रस्तुति भएको थियो । कार्यक्रममा उपस्थित विभिन्न निकायका कार्यकारी प्रमुखहरूले आआफ्नो निकाय र कार्यक्षेत्रमा आइपरेका समस्या, आयोगबाट पठाइएका सुझाव कार्यान्वयनको अवस्था तथा आयोगसँगको अपेक्षा प्रस्तुत गर्नुभएको थियो ।