• १९ पुस २०८१, शुक्रबार

विकास निर्माणका लागि आधार तयार गर्ने काम भएको छ : मुख्यमन्त्री

blog

बागमती प्रदेश सरकारले सय दिनभित्र गरेका प्रमुख कार्यहरू सार्वजनिक गर्न बुधबार हेटौँडामा आयोजित कार्यक्रम । तस्बिर : राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, कात्तिक २८ गते । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनमा बनेको बागमती प्रदेश सरकारले एक सय दिनभित्र सम्पादन गरेका प्रमुख कार्यहरू सार्वजनिक गरिएको छ । बहादुर सिं लामा तामाङ नेतृत्वको सरकार गठन भएयता एक सय दिनभित्र गरेको प्रमुख कार्यहरू बुधबार हेटौँडामा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको हो । 

यो अवधिमा प्रदेश सरकारलाई संस्थागत रुपमा सुदृढ गर्न तीन वटा ऐन जारीभएको, बागमती प्रदेश सरकारको दोस्रो आवधिक योजना कार्यान्वयनमा ल्याइएको, भौतिक पूर्वाधार विकास कार्यलाई प्रभावकारी बनाइएकोलगायतका प्रगति सार्वजनिक गरिएको छ ।

कार्यक्रममा मुख्यमन्त्री लामाले सय दिनको अवधिमा सुशासन र विकासका लागि आधारहरू तयार गर्ने काम भएको बताउँदै कर्मचारी अभावमा कार्यसम्पादनमा समस्या भएको बताउनुभयो । विपत् व्यवस्थापनमा प्रदेश सरकारले काम गर्न चाहेपनि कति ऐन कानुनका कारण कार्यान्वयनमा समस्या रहेको भन्दै चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि कार्यविधि निर्माणलगायतका कार्यहरू गरिएको बताउनुभयो । 

प्रदेश सरकारको सय दिनको मुख्य मुख्य उपलब्धिमा नीतिगत तथा कानुनी सुधार, संवैधानिक नियुक्ति तथा अन्य पदपूर्ति गरिएको, रुग्ण आयोजनाहरूको पहिचान गरिएको, खानेपानी कार्यालय स्थापना, विद्युतीय चालक अनुमतिपत्र प्रणाली विकास गरी सञ्चालनको अन्तिम चरणमा पुगेको, कार्यविधिहरू स्वीकृत गरिएकोलगायतका प्रगति सो अवसरमा सार्वजनिक गरिएको थियो । 

सो अवसरमा भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्के र आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले आफ्नो मन्त्रालयले विपत्को समयमा सम्पादन गरेका कार्यहरूको बारेमा जानकारी गराउनुभएको थियो ।