• ५ पुस २०८२, शनिबार

भूकम्पपछि बने सुविधासम्पन्न विद्यालय

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, पुस ५ गते  । सिन्धुली जिल्लामा २०७२ सालको भूकम्पपछि निर्माण भएका अधिकांश सामुदायिक विद्यालयका भवन सुविधासम्पन्न बनेका छन् । भूकम्पले भत्काएका ती सामुदायिक विद्यालयको भवन पुनर्निर्माणका व्रmममा सुविधासम्पन्न बनेका हुन् । निर्माण भएका नयाँ भवनमा कम्प्युटर ल्याब, विज्ञान ल्याब, लाइब्रेरी, बालकक्षा, प्रयोगशाला, प्रशासनिक कक्ष, भान्साकोठा, बालमैत्री, अपाङ्गतामैत्री, खानेपानीसहितको विद्यालयलाई चाहिने जति सबै सुविधा रहेको सम्बन्धित विद्यालयले जनाएका छन् ।

तीनपाटन गाउँपालिका–५ स्थित मावि मझुवा दोभानका प्रधानाध्यापक रघुनाथ बास्तोलाले उक्त विद्यालय भवन निर्माण सम्पन्न भएपछि विद्यार्थीले राम्रोसँग पढ्न पाएका बताउनुभयो । नयाँ भवन बनेपछि एसइईलाई लक्ष्य गरी कक्षा १० का विद्यार्थीलाई आवासीय रूपमा राखेर पढाइ सञ्चालन हुँदै आएको जानकारी उहाँले दिनुभयो । उहाँका अनुसार नवनिर्मित विद्यालय भवनमा आधुनिक कक्षाकोठा, कम्प्युटर ल्याब, विज्ञान ल्याब, पुस्तकालय, बालकक्षा, प्रशासनिक कक्ष, भान्साकोठा, बालमैत्री शौचालयलगायतका सुविधा छन् ।

फिक्कल गाउँपालिका–२, पोखरीस्थित मावि सुन्तलेले पनि नयाँ स्वरूप पाएको छ । भूकम्पले भत्काएको उक्त विद्यालयको नयाँ आधुनिक भवन एसियाली विकास बैङ्कको पाँच करोड २४ लाख २५ हजार ५०८ रुपियाँ सहयोगमा निर्माण भएको विद्यालयले जनाएको छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजनबहादुर लुङ्गेलीले भूकम्प गएको तीन वर्षसम्म खुला आकाशमुनि हावाहुरीमा पढ्दै आएका विद्यार्थी आधुनिक सुविधासहितको नयाँ भवनमा पढ्न पाउँदा निकै खुसी भएका बताउनुभयो । भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत विद्यालयमा पक्की भवन, तीनकोठे ट्रस्ट भवन र दुईकोठे ट्रस्ट भवन सबै सुविधासहित निर्माण गरिएको छ ।

कमलामाई नगरपालिका शिक्षा शाखा प्रमुख नवराज बराल पनि भूकम्पपछि पुनर्निर्माण भएका अधिकांश सामुदायिक विद्यालय भवन सुविधासम्पन्न र आकर्षक बनेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “भूकम्पपछि बनेका भवनमा अपाङ्गता भएका विद्यार्थीलाई चाहिने सबै सुविधा देखिन्छ । भवन हेर्दै बालबालिकालाई विद्यालय जाने वातावरण बनेको छ ।”

विसं २०७२ को भूकम्पले भत्काएका र चर्काएका ५५१ विद्यालयमध्ये ३८८ वटा सामुदायिक विद्यालयमा नयाँ आधुनिक भवन निर्माण भएका छन् । जिल्लामा रहेका कुल ५७५ वटा विद्यालयमध्ये २०७२ सालमा आएको विनाशकारी भूकम्पबाट ५५१ वटा विद्यालय प्रभावित भएको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार भूकम्प प्रभावित विद्यालयमध्ये २६ वटा एसियाली विकास बैङ्क, ३७ वटा विभिन्न गैरसरकारी संस्था र बाँकी नेपाल सरकारको सहयोगमा निर्माण भएका हुन् । निर्माण गरिएका ३८८ विद्यालयमध्ये विद्यालय व्यवस्थापन समितिमार्फत ३०३ वटा, निर्माण व्यवसायीमार्फत ४८ वटा र विभिन्न गैरसरकारी संस्थामार्फत ३७ वटा विद्यालय निर्माण भएको छ ।