अमरराज नहर्की
तनहुँ, पुस ५ गते । भदौ २३ र २४ भएको नवयुवा समूह (जेनजी) आन्दोलनका क्रममा जिल्ला कारागार तनहुँबाट फरार भएका चार जना कैदी/बन्दीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकका अनुसार बिहीबार र शुक्रबार गरी चार जना पक्राउ परेका हुन् ।
व्यास नगरपालिका–३ स्थित स्थानबाट नकबजनी चोरी मुद्दामा संलग्न रही कैद भुक्तानका क्रममा फरार रहेका एक जना कैदी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा जिल्ला गोरखा पालुङटार नगरपालिका–७ निवासी २२ वर्षीय सुमन परियार रहेका छन् । उनी भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जिल्ला कारागार तनहुँबाट फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको विशेष टोलीले परियारलाई बिहीबार पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया पूरा पश्चात तनहुँ जिल्ला कारागार पठाइएको जानकारी बिकले दिनुभयो ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी युनिटहरूबाट विशेष प्रहरी परिचालन गरी आन्दोलनकै क्रममा फरार रहेका थप तीन जना कैदी/बन्दीलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा जबरजस्ती करणी मुद्दामा थुनामा रहेका तथा कैद भुक्तान गरिरहेका भिमाद गाउँपालिका–६ शान्तिनगर निवासी ३० वर्षीय पिताम्बर नेपाली, बन्दीपुर गाउँपालिका–१ नाहाला निवासी ६० वर्षीय बमबहादुर कुवर र आबुखैरेनी गाउँपालिका–६ पुर्लुङ निवासी ६५ वर्षीय चन्द्रबहादुर भुजेल रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारागार कार्यालय तनहुँमा बुझाइएको छ । जेनजी आन्दोलनका क्रममा फरार रहेका अन्य कैदी/बन्दीहरूको खोजी कार्य जारी रहेको सूचना अधिकारी श्रवणकुमार बिकले जानकारी दिनुभयो ।