वसन्त पराजुली
नारायणगढ मङ्सिर ५ गते । प्रजातान्त्रिक आन्दोलनमा योगदान पु¥याएका व्यक्तित्व बखानसिंह गुरुङलाई केन्द्रमा राखेर लेखिएको ‘बखान’ उपन्यासमाथि समुदायस्तरबाट बहस तथा चर्चा–परिचर्चा सुरु भएको छ । चितवनको इतिहास, बस्ती विकास र स्थानीय तहको पहलमा पहिलोपटक किताबमाथि सार्वजनिक बहस थालिएको हो ।
भरतपुर महानगरपालिका वडा नं. २५ को प्रवर्धनमा थारु पत्रकार संघ चितवन र सुधापुन्ज साहित्य समितिको सहकार्यमा शुक्रबार पश्चिम चितवनको शुक्रनगरमा ‘बखान’ उपन्यासमाथि परिचर्चा सम्पन्न भएको हो ।
कार्यक्रममा उपन्यासले चितवनको बस्ती विकास, पर्यटन प्रवर्धन तथा प्रजातन्त्र प्राप्तिमा बखानसिंह गुरुङले खेलेको ऐतिहासिक भूमिकालाई सशक्त रूपमा उजागर गरेको निष्कर्ष निकालिएको छ ।
उपन्यासमाथि समीक्षा गर्दै समिक्षक डा. सञ्जय महतोले चितवनको बस्ती विकासदेखि आदिवासी थारु समुदायको संस्कृति र जीवनशैलीलाई उपन्यासमा सन्तुलित र सजीव ‘सेटिङ’का साथ प्रस्तुत गरिएको बताउनुभयो । उहाँले राप्ती दून परियोजनामार्फत बखानसिंह गुरुङले बाँझो जमिनलाई उर्बर बनाउन खेलेको भूमिकालाई उपन्यासले सुन्दर ढङ्गले चित्रण गरेको उल्लेख गर्नुभयो ।
“यो उपन्यास धेरै हिसाबले सबल छ । सहकारी र कृषिलाई जोडेर आजको विकसित चितवन कसरी निर्माण भयो भन्ने विषयको ऐतिहासिक पृष्ठभूमि प्रभावकारी रूपमा उठान गरिएको छ,” डा. महतोले भन्नुभयो, “इतिहासको चर्चा गर्दा थारु समुदायका मिथकहरूमा थप अध्ययन आवश्यक देखिन्छ ।
त्यस्तै, कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले समुदायस्तरमै पुगेर गरिएको यो समीक्षा ‘रोबर्टियन शैली’को गहिरो अप्रेसनजस्तै भएको टिप्पणी गर्नुभयो । लेखकले इतिहासलाई समाजसँग जोड्दै पुनः ऐतिहासिकरण गर्न सफल भएको उहाँको धारणा थियो । लामो समयसम्म ओझेलमा परेका प्रजातन्त्र सेनानी बखानसिंह गुरुङको योगदानलाई आख्यानमार्फत दस्तावेजीकरण गर्नु उपन्यासको ठुलो उपलब्धी भएको उहाँले बताउनुभयो ।
अब ‘बखान’ जस्ता कृतिहरू पाठ्यक्रममै समावेश गर्नुपर्छ भन्ने बहस उठ्न थालेको छ । इतिहास बिर्सिएर वर्तमानमा बाँच्न नसकिने भन्दै स्थानीय समुदायले नयाँ पुस्ताले यो पुस्तक पढेमा धेरै आयाममा ज्ञान आर्जन गर्न सक्ने प्रतिक्रिया दिए ।
कार्यक्रमका अवसरमा ‘बखान’ उपन्यासका लेखक बसन्त पराजुलीलाई सम्मान समेत गरिएको थियो । भरतपुर–२५ का वडाध्यक्ष छविलाल सापकोटाले स्थानीय भावना र इतिहास समेटिएको पुस्तकबारे स्थानीय स्तरमै छलफल आवश्यक ठानी कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । यसैबीच, सोही अवसरमा वडाभित्रका ज्येष्ठ नागरिकहरुलाई सम्मान समेत गरिएको थियो ।