• १२ पुस २०८१, शुक्रबार

मानखोलाको कटान रोक्न तटबन्धन

blog

बैजनाथ गाउँपालिका –८ टिटिहिरियास्थित करेलीभाङ्ग्रामा भएको क्षतिको स्थलगत जानकारी लिदैं लुम्विनी प्रदेशसभा सदस्य रत्न खत्रीसहित टोली । तस्बिरः गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके, कात्तिक २८ गते । मानखोलाको कटानका कारण सबैभन्दा बढी जोखिममा परेको बाँकेको बैजनाथ गाउँपालिका –८ टिटिहिरियास्थित करेली भाङ्ग्रामा कटान नियन्त्रणका लागि तटबन्ध गरिने भएको छ । 

मानखोलाको कटान नियन्त्रणका लागि चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विनियोजन गरेको एक करोड रुपियाँ बजेटबाट सो स्थानमा तटबन्धन निर्माण गर्न लागिएको हो । 

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नेपालगन्जका प्रमुख आशिष् विकले तटबन्धनका लागि नाप जाँचको काम गरिएको जानकारी दिदैँ तत्काल ठेक्का आव्हान गर्ने तयारी गरिएको जानकारी दिनुभयो । 

कार्यालय प्रमुख विकले भन्नुभयो, ‘मानखोलाले विभिन्न स्थानमा कटान गरेको छ, न्यून बजेट भएकाले सबैभन्दा बढी प्रभावित क्षेत्रलाई प्राथमिकता दिएर काम अघि बढाउने तयारी गरेका छौँ ।’ 

स्थानीय प्रेम खत्रीले मानखोलाको तीव्र कटानका लागि खोला किनारमा रहेको सरस्वती आधारभूत विद्यालय र सयौँ स्थानीय बासिन्दाका घर उच्च जोखिममा रहेको बताउनुभयो । उहाँले पक्की तटबन्धनको काम तत्काल अघि बढाउन माग गर्नुभयो । 

लुम्बनी प्रदेश सभा सदस्य रत्न खत्रीले मानखोलाको कटान नियन्त्रण प्रदेश सरकारको चिन्ताको विषय भएको बताउनुभयो । बाँके र बर्दियाको हजारौँ खेतीयोग्य जमिन खोलाले कटान गरेकाले नियन्त्रणका लागि गुरुयोजना अनुसार काम अघि बढाउन प्रदेश सरकारसमक्ष माग गरेको खत्रीले बताउनुभयो । 

खत्रीले भन्नुभयो, ‘गुरुयोजनाअनुसारको बजेट नभए पनि विनियोजन बजेटबाट समयमै काम सम्पन्न भएमा बस्ती जोगाउन सकिन्छ ।’ गुरुयोजना अनुसार बाँकेमा  मानखोलाको कटान नियन्त्रणका लागि करिब एक अर्ब बजेट खर्च हुने अनुमान गरिएको छ ।