• २६ मंसिर २०८१, बुधबार

सस्वरमा चराहरू (कविता)

blog

साँझतिर घर फर्कंदा चराका बथानका बथान

सधैँ बस्ने रुखका हाँगा हाँगामा 

बेतोडले भित्रैदेखि चिच्च्याई चिच्च्याई चहचहाइरहेका थिए ।


चराहरू बस्ने त्यो हाँगा बरको हुन सक्छ

चराहरूको बास्ने त्यो हाँगा पिपलको पनि हुन सक्छ

फलाना÷ढिस्कानाको कुरा भएन

सबै सबै रुखहरू सबै सबै चराका बासस्थान हुन् ।


लाग्न थालेको धेरै भो– आज मात्रै कराएका पक्कै होइनन् चराहरू

मान्छेहरूभन्दा पहिले नै गाउन÷कराउन जानेका हुन् चराहरूले

चराहरू सायद धरतीको गीत गाउन आए हुनन्

लाग्छ, चराहरू यो पृथ्वीकै रक्षा गर्न आए हुनन्

चराहरू भएर धरती भएको होला !


आजै किन यस्तरी कराए हँ चराहरू ?

सायद अब धरती डोलायमान हुने सङ्केत हुन सक्छ

घना रुखहरू छैनन्÷छैनन् सुरम्य आबहवा 

मरुद्यानको रूपान्तरणमा शस्य श्यामल धरती गलहत्याइएको छ

कालातीत निस्तब्धता ओढेर 

मुर्दाशान्तिको अन्तिम फाँकी गीत गाइरहेछन् चराहरू ।


यावत् चराका समवेत स्वरहरूमा–

कुनै चराका स्वर आकाश मैलिएकोमा जाहेरी गरे जस्तो छ

कुनै चराका स्वर पोखरी सुकेकामा खबरदारी चिच्याए जस्तो छ

कुनै चराका स्वर सबै खोला बगर पल्टेकामा चिन्तातुर जस्तो छ

कुनै चराका स्वर जङ्गली डाँडाहरूसम्म भएकामा भयातुर भएको जस्तो छ

कुनै चराका स्वर हिमालहरू फगत पत्थरिला हुँदै गएकामा 

अत्यास जागेको जस्तो छ

जुनै चराका समवेत स्वर पृथ्वीको अधोगतिको समूह गान पो हो कि !


सुनेदेखि नै चराहरूको अस्वाभाविक चिच्याइलाई 

अपसकुन माने बाजेबराजुले ।

चराहरू रमाएको सबैलाई रमाइलोमाथि रमाइलो 

चराहरू चिच्याएको सबैलाई रमाइलो÷नरमाइलो

चराहरू रमाउनु÷चिच्याउनुको अभिधार्थ

चराहरू गुनगुनाउनुको लक्षणार्थ

चराहरू भुन्भुनाउनुको व्यञ्जनार्थ

चराहरू रमाएका छैनन्

चराहरू रत्तिएका छैनन् ।


चराहरू जब रमाएकै छैनन् धरती कस्तो होला

चराहरू जम्जमाएका छैनन् जङ्गल कस्तो होला

चराहरू डुबुल्की खेलेका छैनन् तलाउ कहाँ होला

चराहरू उतर्सिएका बेला कुन कलरवको निनाद गुन्जेला र !

चराहरू बिच्किएका बेला कुन सङ्गीतको साज सजिएला र !!


चराहरूका कलरव ध्वनि भङ्ग भएका बेला

निदाउन बाँकी निद्राको लय खल्बलिएको छ

चराका चिरबिरबिना जस्केलो टेक्न बिहान हच्केको छ

गाँसको पहिलो चोइली खान चराहरू अब जुठेल्नामा आउन हतार गर्दैनन्

हुँदा हुँदा क्षितिजको रक्ताभमा चराहरूका कालो छायाँदार लहरहरू 

बन्छ बन्दैनन् शङ्काको घेरामा छु !