काठमाडौँ, कात्तिक २३ गते । असोजको दोस्रो साता परेको वर्षाका कारण बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गमा यात्रुहरू कष्टकर यात्रा गरिरहेका छन् । धुलाम्मे र साँघुरो सडकमा घण्टौँको जाम, कतै खाल्टाखुल्टी त कतै खोला तर्दै र पैदल यात्रासम्म गर्दै यात्रुहरू गन्तव्यमा पुग्छन् ।
सानो पानी पर्दा पनि रोसी खोला राजमार्ग भएर बग्ने, लेदो बग्ने अवस्था छ भने ठाउँ ठाउँमा सुक्खा पहिरो जाने जोखिम रहेकाले ढुक्क भएर सवारीसाधन चलाउन सक्ने अवस्था छैन । सवारीसाधन कम्तीमा चार पाँच घण्टा ढिलो गरी गन्तव्यमा पुग्ने गरेका छन् । पानी पर्नेबित्तिकै राजमार्ग नै बन्द हुने अवस्था छ ।
यो राजमार्ग भएर काठमाडौँदेखि बर्दीबाससम्म यात्रुवाहक विद्युतीय गाडी (इभी) चलाउँदै आउनुभएका चालक रूपक तामाङले अहिले बिपी राजमार्गको यात्रा कष्टकर र जोखिमपूर्ण रहेको बताउनुभयो । “पहिला काठमाडौँबाट बर्दीबास पुग्न बढीमा छ घण्टासम्म लाग्थ्यो भने अहिले कति समय लाग्छ भन्न सकिन्न । दस घण्टा पनि लाग्न सक्छ, १२ घण्टा पनि लाग्न सक्छ,” उहाँले भन्नुभयो, “जाम भयो भने कति घण्टा लाग्छ भन्न सकिन्न ।”
राजमार्गको २७ किलोमिटर बाटो बिग्रेको बताउँदै उहाँले नेपालथोकदेखि भकुन्डेबेँसी–ताप्चा पुलसम्मको यात्रा कष्टकर रहेको अनुभव सुनाउनुभयो । उहाँका अनुसार भकुन्डेबेँसीदेखि काभ्रेभन्ज्याङसम्म सुक्खा पहिरोका कारण जाम हुने गरेको छ । उहाँले यो खण्डमा चार घण्टासम्म जाममा बस्नुपरेको अनुभव सुनाउनुभयो ।
राजमार्गमा सुनौलो बिपी यातायात सेवा अन्तर्गत टाटासुमो चलाउनुहुने चालक बेचु मगरले हाल काठमाडौँबाट बर्दीबास पुग्न दस/एघार घण्टासम्म लाग्ने गरेको बताउनुभयो । उहाँले चौकी डाँडादेखि नेपालथोकसम्म ठाउँ ठाउँमा बाटो बगाएकाले खोलाको बाटो हिँड्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
टाटासुमोबाट बर्दीबास हुँदै काठमाडौँ आउनुभएका यात्री पुरुषोत्तम न्यौपानेले आफ्नै आँखा अगाडि सुक्खा पहिरोले राजमार्ग नै पुरिएको बताउँदै ज्यानलाई जोखिममा राखेर यो राजमार्गको यात्रा गर्नुपरेको अनुभव सुनाउनुभयो । सप्तकोशी यातायात प्रालिका अध्यक्ष देविन श्रेष्ठले नेपालथोक र मङ्गटारको बिचमा रहेको दुई वटा खहरे खोलामा ‘डाइभर्सन’ हालेर अहिलेभन्दा राम्रो अवस्थामा बिपी राजमार्गलाई सञ्चालनमा ल्याउन सक्ने सुझाव दिनुभयो ।
तीन विकल्पमा छलफल हुँदै
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बिपी राजमार्गलाई पहिलेकै अवस्थामा सञ्चालनमा ल्याउन मन्त्रालयले अनेकन प्रयास गरिरहेको बताउँदै विभिन्न विकल्पमा छलफल भइरहेको जानकारी दिनुभयो ।
उहाँले राजमार्गको क्षतिग्रस्त खण्डलाई स्थायी रूपमा पुनः सञ्चालनमा ल्याउन पहिलो विकल्पमा क्षति भएको १२ किलोमिटरसम्म सामान्यभन्दा अलि उच्च पुल (भायडक) निर्माण गर्ने विकल्पमा छलफल भइरहेको जानकारी दिनुभयो । त्यसै गरी दोस्रो विकल्पमा अहिले भएको पहाडको भित्तो खोस्रिने (भित्तातर्फ नयाँ ट्र्याक खन्ने) र तेस्रो विकल्पमा जमिन सहतबाट माथिसम्म भित्ता उठाएर सडक निर्माण गर्ने उहाँले बताउनुभयो ।
पहिलो विकल्पमा भनिएको उच्च पुल निर्माण धेरै महँगो पर्ने र दोस्रो विकल्पमा अगाडि सारिएको पहाडको भित्तो खोस्रिँदा बाढीले बगाएर लग्ने सम्भावना रहेको सचिव शर्माले स्पष्ट पार्नुभयो । उहाँले विभिन्न विकल्पमा छलफल गरिए पनि निष्कर्षमा पुग्न नसकिएको स्पष्ट पार्नुभयो ।
यी तीन वटा उपायमध्ये लागत र सजिलोको दृष्टिले जमिन सतहबाट भित्ता उठाएर माटो पुरी सडक निर्माण गर्नु नै अहिलेको अवस्थामा उचित विकल्प हुने सक्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “उचित विकल्प देखिए पनि अहिलेसम्म निष्कर्षमा पुग्न सकिएको छैन । यस विकल्पबारे पनि अहिले अध्ययन भइरहेको दाहालले स्पष्ट पार्नुभयो ।
‘जापानले चासो देखाएको छ’
बिपी राजमार्ग पुनर्निर्माणका लागि जापान सरकारले चासो देखाएको बताउँदै सचिव शर्माले राजमार्गको क्षतिग्रस्त खण्डको पुनर्निर्माणका लागि जापानी प्राविधिकहरूले स्थलगत निरीक्षण गरी स्वदेश फर्किसकेको जानकारी दिनुभयो । सो राजमार्ग पुनर्निर्माणका लागि जापानले के कस्तो सहयोग गर्नेबारे प्रतिव्रिmया छिट्टै नै प्राप्त हुने उहाँले बताउनुभयो ।
सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा रहेको यो राजमार्ग पुनर्निर्माणको सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज ३० गते नेपालका लागि जापानका राजदूत किकुता युताकासँग भेट गरी सहयोगबारे छलफल गर्नुभएको थियो ।
विसं २०७२ मा जापानी सहयोग नियोग (जाइका) द्वारा सो राजमार्ग जापान सरकारको २६ बिलियन जापानी येन र नेपाल सरकारको १.१ बिलियन (जापानी येन) को लागतमा उक्त राजमार्ग निर्माण गरिएको थियो । आर्थिक वर्ष २०५३/५४ बाट उक्त राजमार्गको निर्माण सुरु गरिएको थियो भने २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाललाई हस्तान्तरण गरेको थियो ।
धुलिखेल–सिन्धुली–बर्दीबाससम्म सो राजमार्गको कुल लम्बाइ १६० किलोमिटर छ । तीन दशकअघि सो राजमार्ग निर्माण गर्दा प्रतिकिमी ३५ करोड रुपियाँ लागत परेको थियो । अहिले सो राजमार्गको निर्माण खर्च प्रतिकिमी ५० करोड रुपियाँभन्दा बढी हुने अनुमान गरिएको छ ।