• १० मंसिर २०८१, सोमबार

इजरायलले युएनआरडब्लुएसँगको सम्बन्ध तोड्ने

blog

इजरायल, कात्तिक १९ गते । इजरायलले प्यालेस्टिनी शरणार्थीको लागि सहयोग गर्ने गाजास्थित राष्ट्रसङ्घीय निकाय (युएनआरडब्लुए) सँग सम्बन्ध तोड्ने निर्णय औपचारिक रूपमा संयुक्त राष्ट्र सङ्घसमक्ष सोमबार पेश गरेको छ ।

इजरायली विदेश मन्त्री इजरायल काट्जको निर्देशनमा, विदेश मन्त्रालयले इजरायल र यूएनआरडब्लुए बीचको सम्झौता रद्द भएको संयुक्त राष्ट्रलाई सूचित गरेको विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ ।  

विदेश मन्त्री काट्जले युएनआरडब्लुएका कर्मचारीहरूले गत अक्टोबरको नरसंहारमा भाग लिएको दाबी गर्दै उनीहरूलाई हमासका कार्यकर्ता तथा गाजापट्टीको समस्याको हिस्साको रुपमा व्याख्या गर्नुभएको छ । यद्यपि कुनै प्रमाण भने पेस गएिको छैन ।    

इजरायली संसद्ले गत महिना इजरायल र पूर्वी जेरुसेलममा युएनआरडब्लुएलाई प्रतिबन्धित गर्ने प्रस्तावलाई अनुमोदन गरेको थियो। उक्त कार्यको इजरायलको सहयोगी अमेरिकासहित अन्तर्राष्ट्रिय समुदायद्वारा निन्दा भएको थियो ।

प्यालेस्टिनी क्षेत्रहरूमा शरणार्थीलाई सात दशकभन्दा बढी समयदेखि आवश्यक सहायता प्रदान गर्ने राष्ट्रसङ्घीय एजेन्सीको प्रतिबन्ध कार्यान्वयन गरियो भने गाजामा थप मानवीय सङ्कट थपिने विज्ञहरूले जनाएका छन् ।  

यद्यपि, काट्जले उक्त तर्कलाई अस्वीकार गर्दै यूएनआरडब्लुएले गाजामा सहयोगको केहि अंश मात्र पुर्‍याइरहेको बताउनुभयो ।  

“इजरायल अन्तर्राष्ट्रिय कानुनप्रति प्रतिबद्ध रहेको जिकिर गर्दै काट्जले इजरायली  नागरिकको सुरक्षालाई असर नगर्ने गरी गाजापट्टीमा मानवीय सहायतालाई सहज बनाउने बताउनुभएको छ ।  

युएनआरडब्लुए र अन्य मानवीय संस्थाहरूले इजरायली अधिकारीलाई गाजामा सहायता प्रवाह प्रतिबन्धित गरेको आरोप लगाएका छन् । गाजामा रहेका करिब २४ लाख मानिस युद्धको समयमा कुनै न कुनै रूपमा विस्थापित भएका छन् । रासस