• ७ पुस २०८१, आइतबार

महँगियो भाइमसला

blog

काठमाडौँ, कात्तिक १४ गते । भाइटीका आउन पाँच दिन बाँकी रहँदा राजधानीको बजारमा चहलपहल बढेको छ । काठमाडौँको इन्द्रचोक, भोटाहिटी, असन, मखन गल्ली, महाबौद्ध, नयाँ सडक, नयाँ बानेश्वर, ललितपुरको लगनखेल, मङ्गलबजार, जाउलाखेललगायतका व्यापारिक केन्द्रमा भाइटीकामा चाहिने सामान बेच्ने र किन्नेको चहलपहल बढेको हो ।

तिहारका सामान किन्नेको भिड बढेसँगै सामानको मूल्य पनि मनलाग्दी छ । तिहारमा विशेष गरी लक्ष्मीपूजा गर्दा चाहिने दियो तथा पाला, मैनबत्ती र झिलिमिली बत्ती, दाजुभाइ पुज्नका लागि भाइमसला (नरिवल, काजु, पेस्ता, बदाम, किसमिस, ओखरलगायत) र ढाकाटोपीको कारोबार हुन्छ । 

तिहारका बेला भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई उपहारस्वरूप दिने विशेष मसला परिकारको निकै खपत हुन्छ । प्रायः सबै भारतबाटै आयात गरिने यस्ता भाइमसलाको भाउ यस वर्ष बजारमा छोइनसक्नुभएको छ । 


तिहारमा बढी मसला बिक्री हुने भएकाले कतिपय व्यापारीले मौका यही हो भन्दै आफूखुसी मूल्य बढाएका छन् । पुरानो स्टकमा रहेका अखाद्य र सस्तो प्रकारका मसलासमेत नयाँमा मिसाएर बेच्ने गरेको पाइएको छ तर मूल्य भने व्यापारीले उच्च दरमा लिने गरेका छन् । 

भाइमसलामा प्रयोग हुने नरिवल, पेस्ता, छोकडा, काजु, देशीबदाम, किसमिसलगायतका सामग्रीको मूल्य बढेको हो । दसैँअगाडिसम्म प्रतिकेजी एक हजार पाँच सय रुपियाँ रहेको काजुको मूल्य बढेर प्रतिकेजी दुई हजार पुगेको छ । 

व्यापारीहरू भने तिहारमा भाइमसलाको माग बढी हुने भएकाले केही मूल्य बढ्नु स्वाभाविक भएको स्वीकार गर्छन् । 

नेपाल खाद्य किराना तथा थोक व्यवसायी सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले काजु र पेस्ता आयातबाहेक देशीबदाम, ओखर, किसमिस, खुर्पानी, छोकडा र सुकमेल तिहारकै कारण बढेको स्वीकार गर्नुभयो । “काजु र पेस्ता खरिद नै महँगो परेको छ, त्यसैले यी दुई वस्तु बढ्नु स्वाभाविक हो । अस्वाभाविक महँगो भएका वस्तुको अनुगमन गरेर कारबाही गर्ने निकायले हेर्नु पर्दैन ? भन्दै उहाँले प्रतिप्रश्न गर्नुभयो ।

सरकारको नियमन र अनुगमन गरेर बजार भाउ नियन्त्रण गर्ने निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा संयुक्त रूपमा दैनिक नौ वटा टोलीबाट अनुगमन भएको दाबी गरेको छ । 

विभागका निर्देशक एवं अनुगमन संयोजक डिकबहादुर कार्कीले तिहारमा बढी खपत हुने वस्तुलाई लक्ष्य गरेर विभागको नेतृत्वमा रहेका अनुगमन टोलीले अनुगमन गरिरहेको जानकारी दिनुभयो । 

उहाँले तिहारमा बढी माग हुने भाइमसलाको मूल्य अस्वाभाविक बढेको भन्ने उजुरीका आधारमा अनुगमन गरिएको र कैफियत भेटिएका पसललाई कारबाही पनि भएको जानकारी दिनुभयो । 

भाइमसलाको विषयमा उजुरी आए अनुसार अनुगमन टोली जाँदा सम्बन्धित पसलमा त्यो अनुसारको मूल्य नबढेको भनेर पुरानै सूची देखाउने गरेको पनि निर्देशक कार्कीले जानकारी दिनुभयो ।