• १५ कात्तिक २०८१, बिहिबार

ट्युमर मार्कर

blog

एक किसिमको बायोमार्करलाई ट्युमर मार्कर भनिन्छ । यसले व्यक्ति विशेषमा क्यान्सरको उपस्थिति वा क्यान्सर भइनसकेको अवस्थामा क्यान्सरको व्यवहार थाहा पाउन प्रयोग गरिन्छ । ट्युमर मार्करले क्यान्सरको बढोत्तरी वा उपचारप्रतिको प्रभाव पनि थाहा पाउन सकिन्छ । 

यसले क्यान्सर रोगको अवस्था विश्लेषण गर्न, शल्यक्रिया गरेर ट्युमर निकालेपछि बिरामीलाई निगरानीमा राख्न, औषधिको प्रभाव अनुमान गर्न, उपचारको निगरानी गर्न सघाउ पुर्‍याउँछ । ट्युमर मार्करका लागि शरीरका श्राव (विशेषतः रगत) वा तन्तु प्रयोग गरिन्छ । 

ट्युमर मार्कर अणु पनि हुन सक्छ । सामान्य कोषले भन्दा क्यान्सर कोषले अत्यधिक मात्रामा त्यस्ता अणु उत्पादन गर्ने तथा क्यान्सरकै प्रतिक्रियास्वरूप सम्बन्धित अन्य कोषले पनि त्यस्ता ट्युमर मार्कर उत्पादन गर्न सक्छन् । ट्युमर मार्करले रोग निदान गर्ने होइन तर बायोप्सी र रेडियो इमेजिङ (भिडियो एक्सरे, सिटी स्क्यान वा एमआरआई) को नतिजासँग यसको मात्रा दाँजेर हेर्न भने सकिन्छ । 

यो प्रोटिन, कार्बोहाइड्रेट, रिसेप्टर (शरीरका कोषको सतहमा पोषण तत्व, इन्जाइम वा हर्मोनमा आधारित कुनै शारीरिक सूचना, हानिकारक तत्व विशेषको सूचना ग्रहण गर्ने च्यानल वा विन्दु) वा जिन (वंशाणु अंश), हर्मोन, इन्जाइम जे पनि हुन सक्छ । 

इन्जाइम वा हर्मोन खालको ट्युमर मार्कर पत्ता लगाउने लगायत इन्जाइमको क्रियाकलाप मापन गर्नुपर्ने हुन्छ । इन्जाइममा आधारित ट्युमर मार्करको विश्लेषण पहिले प्रयोगमा भए पनि हाल यसलाई अङ्कोलोजिकल एन्टिजेन (रोग वा स्वास्थ्य समस्या गराउने कारक तत्व) एवं मोनोक्लोनल एन्टिबडी (शरीरमा कुनै स्वास्थ्य समस्या वा रोग गराउने तत्वविरुद्ध शरीरले विकसित गर्ने प्रतिरोधात्मक क्षमतायुक्त तत्व) ले प्रतिस्थापन गरिसकेको छ । 

कार्बोहाइड्रेट अन्तर्गत एन्टिजेन ट्युमर कोषमा वा ट्युमर कोषबाट उत्पादित म्युसिन वा रक्तसमूहमा आधारित एन्टिजेन हुन सक्छ । म्युसिन भनेको एकखाले ग्लाइकोप्रोटिन हो । यसले पाचन नली वा शरीरको कुनै प्रणालीको सतही कोषलाई सुरक्षा दिन वा चिप्लो बनाउन मद्दत गर्दछ ।  

उपचारप्रति बिरामीले कस्तो प्रतिक्रिया जनाउला भनी मापन गर्न रिसेप्टरको अध्ययन विश्लेषण परीक्षण प्रयोग गरिन्छ । जबकि जिन वा जिनको उत्पादन विश्लेषणले व्यक्ति विशेषको जिनमा कुनै फेरबदल आएको छ कि भनेर विश्लेषण गरिन्छ ।

ट्युमर मार्करको उपयोग

माथि उल्लेख गरे झैँ ट्युमर मार्करको उपयोग धेरै उद्देश्यका लागि गरिन्छ । जस्तै :

१. क्यान्सरको अनुगमन : ट्युमर मार्करको माध्यमबाट क्यान्सर पत्ता लगाएपछि ट्युमर मार्करको मात्रा मापन गरी ट्युमरको अवस्थिति र उपचारप्रतिको प्रतिक्रिया अनुगमन ट्युमर मार्करको मापनबाट गरिन्छ । यदि क्यान्सरविरुद्ध उपचार थालेसँगै वा उपचारको केही समयसम्म पनि ट्युमर मार्करको मात्रा उत्तिकै वा झन् बढ्न थाल्यो भने उपचारले काम गरिरहेको छैन भन्ने बुझिन्छ । त्यस्तो बखत वैकल्पिक उपचार विधि खोज्नुपर्ने हुन्छ तर पनि ट्युमर मार्करको मात्रा बढ्नुको अर्थ क्यान्सर बढिरहेको भनिहाल्न मिल्दैन । कहिलेकाहीँ क्यान्सर विशेषसँग सरोकार नभएका अन्य स्वास्थ्य समस्याका कारण पनि ट्युमर मार्कर बढेको हुन सक्छ ।

२. क्यान्सरको चरण : क्यान्सर कुन चरणमा पुगिसकेको छ भन्ने थाहा पाएपछि ट्युमर मार्करको मात्रा अनुसार क्यान्सरको परिणति र उपचारका लागि योजना बनाउन सहज हुन्छ ।

३. क्यान्सर स्क्रिनिङ  : हालसम्म कुनै पनि स्क्रिनिङ उम्दाको पाइएको छैन किनकि उच्च मात्राको ट्युमर मार्कर बिनाइन (अर्थात् घातक खालको क्यान्सर होइन) खालको ट्युमरमा पनि पाउन सकिन्छ । अहिलेसम्म भरपर्दाे स्क्रिनिङ विधिका रूपमा प्रोस्टेट क्यान्सरका लागि प्रोस्टेट स्पेसिफिक एन्टिजेन (पिएसए) को मापन नै हो । 

४. क्यान्सर निदान : त्यसो त क्यान्सर पत्ता लगाउनकै लागि ट्युमर मार्करको मापन मात्र काफी छैन तर पनि ट्युमर मार्करको मापनले क्यान्सरको आशङ्का गर्न भने सकिन्छ । यस्तो दोधार अवस्थामा केवल बायोप्सी (मासु जाँच) ले मात्र क्यान्सर छ वा छैन वा कुन खालको क्यान्सर हो ठ्याक्कै निदान गर्न सकिन्छ ।

५. क्यान्सर दोहोरिएको : उपचारपछि क्यान्सर पुनः दोहोरिएको छ कि भनेर ट्युमर मार्करले पत्ता लगाउन सक्छ । अर्थात् ट्युमर मार्करको मापनले सहयोग गर्छ । 

ट्युमर मार्कर मापन गर्ने विधि

अधिकतर रगतको नमुनाबाट ट्युमर मार्कर मापन गरिन्छ । विरलै मात्र पिसाबको नमुनाबाट पनि सम्भव हुन्छ । शरीरका तरल पदार्थ (श्राव) को इम्युनएसे (इम्युनएसे भन्नाले एक प्रकारको बायोकेमिकल जाँच नै हो । जाँचको क्रममा घुलनशील पदार्थमा एन्टिबडी वा कहिलेकाहीँ एन्टिजेन प्रयोग गरी कुनै तत्वको उपस्थिति वा त्यसको बाक्लोपना हेरिन्छ ।) त कहिलेकाहीँ निश्चित इन्जाइमको गतिविधि मापन वा विश्लेषणलाई ट्युमर मार्करका रूपमा लिइन्छ ।


एलाइसा र रेडियोइम्युनएसे वा मोनोक्लोनल एन्टिबडी (क्लोनिङका माध्यमबाट उत्पादित श्वेतरक्त कोषबाट बनाइएको एन्टिबडी) को अध्ययनलाई समेत ट्युमर मार्करका रूपमा लिने गरिन्छ । धेरै खालका परीक्षणमा विभिन्न विधि अपनाइन्छन् ।

ट्युमर मार्करका रूपमा 

अल्फाफिटोप्रोटिनले जर्म सेल क्यान्सर र कलेजोको क्यान्सर, क्यान्सर एन्टिजेन १५–३ ले स्तन क्यान्सर, क्यान्सर एन्टिजेन १९–९ ले प्यान्व्रिmयाज, आन्द्रा र पाचन नलीको क्यान्सर, क्यान्सर एन्टिजेन १२५ ले विशेषतः डिम्बाशयको क्यान्सर, ह्युमेन कोरिओनिक गोनाडोट्रोफिन (एचसिजी) ले गर्भवतीसँग सम्बन्धित क्यान्सर, प्रोस्टेट स्पेसिफिक एन्टिजेन (पिएसए) ले प्रोस्टेट क्यान्सर, कार्सिनोइम्ब्रोयोनिक एन्टिजेन (सिइए) ले पाचन नली, पाठेघरको मुख, फोक्सो एवं डिम्बाशयको क्यान्सर तथा क्याल्सिटोनिनले थाइरोइड क्यान्सर पत्ता लगाउन मद्दत गर्दछ ।

राम्रो खालको ट्युमर मार्कर भन्नाले कुनै अङ्गविशेषको क्यान्सर सङ्केत गर्ने, क्यान्सरपूर्व अवस्थामै पहिचान गर्न मद्दत गर्ने, सकेसम्म गलत परिणाम नदेखाउने, ट्युमर मार्करको मात्राले क्यान्सरको अवस्था जनाउने, उपचारको प्रभाव मापन गर्न सकिने हुनुपर्छ तर विडम्बना हालसम्म त्यस्तो आदर्शको ट्युमर मार्कर भेटिएको छैन ।  

–युवामञ्च   

Author

प्राडा सुमनराज ताम्राकार