• १० कात्तिक २०८१, शनिबार

स्वास्थ्यमा नयाँ आयाम

blog

वर्तमान सरकार गठन भएको एक सय दिनमा नागरिकले स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष लाभको अनुभूति गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा प्रदीप पौडेल नियुक्त भएसँगै सरोकारवाला सङ्घसंस्था र व्यक्तिसँग सुझाव लिएर स्वास्थ्य क्षेत्र सुधार, प्राथमिकताका विषयसहित अल्पकालीन र दीर्घकालीन कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । कार्ययोजनामा निरोगी नेपाल, आगामी पुस्ता निरोगी पुस्ता, स्वास्थ्य बिमा कार्यक्रममा रकमको दायरा बढाउने, जलन उपचारलाई निःशुल्क गर्ने तथा स्वास्थ्यलाई एकीकृत स्वास्थ्य प्रणालीलगायतका विषय समेटिएका छन् । यस्तै आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिक औषधी उपचार कार्यक्रम र निःशुल्क उपचारका सबै कार्यक्रमलाई एकीकृत गरेर बिमामा जोड्ने कार्ययोजनामा छ ।

यसै गरी सात वटै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण केन्द्र विस्तार गरिने, मुटु उपचार केन्द्रलाई सात वटै प्रदेशमा पुर्‍याउने, नेपाल सरकारले कार्यान्वयन गर्न सक्ने कार्यक्रममा दोहोरोपना हुन नदिन सरकारले कार्यान्वयनको नीति अघि सार्ने तथा विद्यमान नीतिमा पुनरवलोकन गरिने जस्ता विषय मन्त्री पौडेलको प्राथमिकतामा थिए । यीबाहेक औषधीको मूल्य समायोजन र औषधी व्यवस्था विभागको क्षमता सुदृढीकरण, उपचार तथा निदानमा प्रयोग हुने सम्पूर्ण मेडिकल डिस्पोजेबल, उपकरणको आयात तथा उत्पादनमा गुणस्तर सुनिश्चित गरिने उहाँको कार्ययोजनामा छ । अस्पतालमा लाग्ने गरेको भिड कम गर्ने उद्देश्यबमोजिम हाल सङ्घीय सरकारी अस्पतालमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिएका छन् । सङ्घ अन्तर्गतका सबै अस्पताल अनलाइन प्रणालीमा गएका छन् । 

जलनको निःशुल्क उपचार

जलन भएका व्यक्तिको निःशुल्क उपचार गर्ने निर्णय मन्त्रीपरिषद्ले गरिसकेको छ । मन्त्री पौडेलका अनुसार उपचार गर्न सक्ने आर्थिक हैसियत हुनेको पनि निःशुल्क उपचार हुने छ । क्यान्सरलगायतका आठ वटा जटिल रोगमा निश्चित शुल्क तोकिए पनि जलनको उपचारमा शुल्क तोकिएको छैन । जलन भएका जो कोहीले पनि उपचारका लागि शुल्क तिर्नु नपर्ने सरकारको निर्णयलाई सबैले स्वागत गरेका छन् । जलनको उपचार पूर्ण नहुँदासम्म सेवा दिइने छ ।

सात वटै प्रदेशमा अङ्ग प्रत्यारोपण, क्यान्सर र मुटु उपचार विस्तार

सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र सुर्खेतस्थित प्रादेशिक अस्पतालबाट मिर्गौला प्रत्यारोपण गर्न सुरु गरिसकेको छ । सात वटै प्रदेशमा अङ्ग प्रत्यारोपण गर्नका लागि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई क्लिनिकल फेलोसिप कार्यक्रम सञ्चालन गर्न नेपाल मेडिकल काउन्सिलले स्वीकृत दिइसकेको छ । स्वास्थ्यमन्त्रीको पहलमा भएको उक्त काममा प्रत्यारोपण केन्द्रले आवश्यक जनशक्तिलाई तालिम दिने छ । फेलोसिप कार्यक्रममा भने मिर्गौला प्रत्यारोपण र रिनल प्रत्यारोपण मेडिसिनलाई एक वर्षका लागि काउन्सिलले स्वीकृत दिएको हो । मिर्गौला प्रत्यारोपण सुदूरपश्चिम र कोशी प्रदेशमा सञ्चालनको तयारी भइरहेको छ । बाँकी अरू प्रदेशमा पनि मिर्गौला प्रत्यारोपण सेवालाई विस्तार गरिँदै लगिने मन्त्री पौडेलको योजना छ । प्रत्यारोपण केन्द्रबाट वर्षमा १९६ जनाको मिर्गौला र १५ कलेजो प्रत्यारोपण शतप्रतिशत सफल भएको छ । केन्द्रबाट देशको ७० प्रतिशत प्रत्यारोपणको कार्य भइरहेको छ । मुटु उपचार पनि सातवटै प्रदेशमा विस्तार गर्ने मन्त्री पौडेलको योजना छ । बाँसबारीस्थित शहीद गङ्गालाल हृदय केन्द्रको समन्वयमा सात वटै प्रदेशमा मुटु उपचार विस्तार गर्ने लक्ष्य छ । मधेश र गण्डकी प्रदेशमा मुटु उपचार सुरु भइसकेको छ । यसबाहेक क्यान्सर उपचार पनि सात वटै प्रदेशमा विस्तार गरिएको छ । भक्तपुर क्यान्सर अस्पताल र भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालको संयोजनमा सात वटै प्रदेशमा क्यान्सर उपचार विस्तार गरिएको हो । 

एकीकृत स्वास्थ्य प्रणाली र स्वास्थ्य बिमा

मन्त्री पौडेलले सङ्घीय सरकार, प्रदेश र स्थानीय तहबाट स्वास्थ्यमा दोहोरोपन हटाएर एकीकृत प्रणालीमार्फत जनस्वास्थ्य सुधार अघि बढाइने बताउनुभएको थियो । एकीकृत स्वास्थ्य प्रणाली लागु गर्न मन्त्री पौडेलले सात वटै प्रदेशका स्वास्थ्यमन्त्रीसँग छलफल गरेर दोहोरोपना हटाउने हुनुभएको छ । स्वास्थ्य बिमा प्रभावकारी बनाउने मन्त्री पौडेलको मुख्य योजना छ । स्वास्थ्य बिमामा हाल पाइरहेको एक लाख सुविधालाई बढाएर पाँच लाख पु¥याउन उहाँ सक्रिय हुनुहुन्छ । यसका लागि जनस्वास्थ्यविद् डा. शम्भु आचार्यको नेतृत्वमा समिति गठन गरिएको छ । समितिले प्रतिवेदन दिइसकेपछि कार्यान्वयनका लागि मन्त्रीपरिषदमा लगिने छ । अन्य सामाजिक सुरक्षाका कार्यक्रम एकीकृत गर्दा स्वास्थ्य बिमालाई पाँच लाख पु¥याउन सकिने मन्त्री पौडेलको विश्लेषण छ । 

कार्यदक्षताका आधारमा भत्ता

मन्त्रालयले स्वास्थ्यकर्मीलाई कार्यदक्षताको आधारमा भत्ताको व्यवस्था गर्न लागेको छ । डा. लोचन कार्कीको संयोजकत्वमा गठित समितिले स्वास्थ्यमा तीन सिफ्ट काम गरेर थप सेवा, सुविधा तथा भत्ता लिन सक्ने प्रतिवेदन दिएपछि त्यसलाई लागु गर्न लागिएको हो । सङ्घीय अस्पताल अन्तर्गत रहेका चिकित्सकको कार्यदक्षताका आधारमा भत्ता दिइने छ । स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर रोगको स्व्रिmनिङ तथा उपचारका लागि मापदण्ड बनाएर कार्यक्रम सञ्चालन गरिने भएको छ । निरोगी नेपाल : आगामी पुस्ता निरोगी पुस्ता कार्यक्रमले ४० वर्षमाथिका सबै नागरिकको नसर्ने रोगको स्क्रिनिङ गर्ने विषय समेटेको छ । 

उपकरण मर्मत र व्यवस्थापन

स्वास्थ्य मन्त्रालयमातहत रहेका उपकरणको अवस्थाबारे मन्त्रालयले काम सुरु गरेको छ । अस्पतालमा भएका उपकरणको सम्पूर्ण जानकारीका लागि नारायणविक्रम थापाको संयोजकत्वमा समिति बनाइएको छ । समितिले प्रतिवेदन बुझाउने क्रममा छ । यसबाहेक महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई बिग्रेका स्वास्थ्य सामग्रीको व्यवस्थापनको जिम्मेवारी दिएको छ । जस अनुसार वीर अस्पतालमा काम सम्पन्न भइसकेको छ । कान्ति बाल अस्पताल, पाटन अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र सिंहदरबार वैद्यखानामा पनि केन्द्रले उपकरण मर्मतको काम सुरु गरिसकेको छ । 

महामारीजन्य रोग नियन्त्रण

महामारीजन्य रोगको नियन्त्रणका लागि सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनको संयोजकत्वमा समिति गठन गरेर काम सुरु गरिएको छ । त्यससम्बन्धी प्रतिवेदन आइसकेकाले त्यसको कार्यान्वयन गरिँदै लगिने मन्त्री पौडेलले बताउनुभयो । 

यसबाहेक एक सय दिनमा जनस्वास्थ्य प्रयोगशालामा अन्य सरकारी क्यान्सर अस्पतालमा सम्भव नभएका नमुना विदेश पठाउन नपर्ने गरी प्रयोगशाला सुविधामा वृद्धि गरिएको छ । सार्वजनिक बिदाका दिन अस्पतालमा ओपिडी सेवा सुरु भएको छ । समायोजनमा समस्या देखिएका स्वास्थ्य जनशक्तिको समस्या समाधानका लागि कार्यविधि स्वीकृत गरिएको छ । शहिद गङ्गालाल अस्पतालमा राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरिएको छ । स्वास्थ्यकर्मीको सुरक्षा सम्बोधन गर्ने गरी विधेयक अघि बढाउन प्रक्रिया सुरु भइसकेको छ ।   

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।