पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी, कात्तिक ७ गते । लोकआस्थाको महान् पर्व छठ नजिकिएसँगै तराई–मधेशका जिल्लाहरूमा अहिले छठघाटको व्यवस्थापन र सरसफाइले तीव्रता पाएको छ । श्रद्धा र निष्ठाका साथ मनाइने यस चार दिने पर्वको तयारी स्वरूप स्थानीय शहर तथा गाउँ बस्तीहरूमा रहेका नदी, तलाउ र पोखरीहरूको किनारमा छठघाट निर्माण र सजावटको कामलाई भव्यताका साथ अघि बढाइएको हो ।
पश्चिम नवलपरासीमा पनि स्थानीयवासी, युवा क्लब र विभिन्न पूजा व्यवस्थापन समितिहरू छठघाटलाई आकर्षक र व्यवस्थित बनाउन सक्रियताका साथ जुटेका छन् । छठ पर्वमा सूर्यदेवलाई अर्घ्य दिनका लागि जलाशयको किनारमा घाट बनाउने परम्परा अनुसार, पोखरी र नदी किनारहरूलाई सरसफाइ गरी झकिझकाउ बनाउने छ ।
छठघाटको विशेष तयारी
शुद्धीकरणः व्रतालुहरूका लागि अर्घ्य दिने स्थानहरूमा माटोको लेप लगाई शुद्ध पारिने कार्य भइरहेको छ ।
सजावटः घाट वरपर आकर्षक पण्डाल, रङ्गीचङ्गी बत्ती र तोरणहरूले सिङ्गारिँदै छ । केराका थम्बा र झिलिमिली बत्तीको प्रयोगले घाटहरूलाई मनमोहक बनाइँदै छ ।
‘नहाय खाय’ विधिबाट सुरु हुने यो पर्वमा व्रतालुहरूले निराहार व्रत बसी अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर पारिवारिक सुख, शान्ति, समृद्धि र सन्तान प्राप्तिको कामना गर्नेछन् ।
सद्भावको पर्व
सद्भाव र भातृत्वको प्रतीकसमेत मानिने यस विशुद्ध धार्मिक आस्थाको पर्वलाई बढो हर्ष अनि उल्लासका साथ मनाइन्छ । छठी माताको व्रत लिने व्रतालुका घरमा छठमा चढाउनका लागि छरछिमेकबाट पनि प्रसादहरू दिने चलन छ । केराका घोगा, नरिवल, भोगटे लगायतका मौसमी फलफूलहरूलाई छठको प्रसादका रूपमा लिइन्छ । यी फलफूलहरूलाई छठको अन्तिम दिन बिहानै अर्घ्य स्वरूप उदाउँदो सूर्यलाई देखाउने र प्रसादका रूपमा घर लैजाने परम्परा रहेको छ ।