टोपलाल अर्याल
रेसुंगा(गुल्मी), कात्तिक ७ गते । सदरमुकाममा व्यवसाय गरेर बसको मान्छे गाउँ फर्किएर बाँझिएका बारीहरुमा खाल्डा खन्न थाल्दा धेरैलाई आश्चर्य पनि थियो । गुल्मीदरबार गाउँपालिका–१, बलिथुमका युवा कृषक रुपलाल श्रेष्ठको परिवारले गाउँ छोडेका २० वर्ष भए ।
घरबारी छोडेर लामो समय उपयोगविहीन भएपछि बाँझिएको जमिनमा कागती खेतीको काम भइरहेको छ । श्रेष्ठले आफ्नै ६० रोपनी जमिनमा कागती खेतीको बगैँचा विस्तार गर्नुभएको छ । पुष्पाञ्जली एग्रो फर्ममार्फत जङ्गल जस्तै बनेको आफ्नै पखेरमा कागती फल्न थालेपछि श्रेष्ठले ठुलो आशामा सफलता प्राप्त गर्न थाल्नुभएको छ ।
गाउँमा रुपेशका जस्तै अर्गेला जमिनको गणना छैन । गुल्मीबाट बर्सेनी दुई हजारभन्दा बढि परिवार तराईमा बसाइँ सरेर जान्छन् । काम गर्ने उमेर समूह परदेश पस्ने, परिवारले सुखका लागि गाउँ छोड्दा उर्वर गैराबारीहरुमा पनि वनमाराले ढाक्न थालेको छ । यो अवस्थामा निरन्तरको कर्मले बलिथुमका युवा श्रेष्ठले बाँझो जमिनमा कागती फलाउन थालेको कथा धेरैका लागि प्रेरणा र उर्जा बन्न सक्छ ।
बगैँचामा अहिले १० क्वीन्टल कागती फल्ने अनुमान श्रेष्ठको छ । गत वर्ष खासै राम्रो फल थिएन । अहिले केही बोटहरुमा कागती राम्रो फलेकाले बजारको पिरलो सुरु भएको श्रेष्ठले बताउनुभयो । कागती सानो रहर र मेहेनतले फल्दैन् । यो दिन आउन आफुले माटोको परीक्षण, सिँचाइ व्यवस्थापन, रोग नियन्त्रण, जनशक्ति व्यवस्थापनसहितको कठिन डेढ दशक बिताएको श्रेष्ठले बताउनुभयो ।