• १२ वैशाख २०८१, बुधबार

भान्टाको मूल्य र माग बढ्दा किसान खुसी

blog

सर्लाही, जेठ १ गते  । सर्लाहीका किसानले यो वर्ष भान्टा खेतीबाट राम्रो कमाइ गरिरहेका छन् । मूल्य र बजार दुवै पाएकाले भान्टा खेती गरेका किसानलाई यो पटक राम्रो आम्दानी भइरहेको हो । किसानका अनुसार बजारमा अहिले भान्टाको माग बढेको छ । 

बरहथवा नगरपालिका–५ का किसान घनश्याम बलम्पाकीले यो वर्ष भान्टाले मूल्य र बजार दुवै पाएकाले राम्रो आम्दानी भइरहेको भन्दै खुसी व्यक्त गर्नुभयो । “यो वर्ष बजारबाट माग धेरै नै आइरहेको छ, अघिल्लो वर्षमा जस्तो बजारको समस्या छैन । फलेको सबै बिक्री भइरहेको छ,” बलम्पाकीले बताउनुभयो ।

प्रतिकेजी २० रुपियाँमा भान्टा बिक्री भइरहेको बलम्पाकीले बताउनुभयो । उहाँले केही सातादेखि दिन बिराएर एक हजार पाँच सयदेखि दुई हजार रुपियाँसम्मको भान्टा बेचिरहेको जानकारी दिनुभयो । एक जना किसानले एक कट्ठादेखि चार/पाँच कट्ठासम्म भान्टा लगाउने गरेका छन् । सर्लाहीमा बरहथवा, घुर्कौली, नवलपुर, लालबन्दी, ईश्वरपुर, चन्द्रनगरलगायतका क्षेत्रका किसानले भान्टा खेती गर्छन् ।  

लामो समयदेखि तरकारी खेती गर्दै आउनुभएका हरिवन नगरपालिका–६, घुर्कौलीका किसान रामचन्द्र महतोले हरेक सिजनमा भान्टा मात्रै डेढ लाख बढीको बिक्री गर्ने गरेको सुनाउनुभयो । “फलाउन सके भान्टाबाट राम्रो पैसा हुन्छ, यो वर्ष पनि राम्रै भाउ पाइएको छ । अहिलेसम्म ५० हजार बढीको भान्टा बेचिसकेको छु,” महतोले भन्नुभयो ।यहाँ फलाइएको भान्टा सर्लाहीकै लालबन्दी, नवलपुर, हरिवन, सोल्टी, बरहथवा, मलङ्गवा, बयलबासलगायतका बजारमा बिक्री हुने गरेको छ ।