• ३० असोज २०८१, बुधबार

महिला साफ च्याम्पियनसिप

उपाधि घरमै राख्ने नेपालको दाबी

blog

दशरथ रङ्गशालामा बिहीबारदेखि सुरु हुने महिला साफ च्याम्पियनसिपअघि ट्रफीसँग तस्बिर खिचाउँदै सातै टोलीका कप्तान । तस्बिर : गोरखापत्र

काठमाडौँ, असोज ३० गते । दक्षिण एसियाली महिला फुटबलको महाकुम्भ महिला साफ च्याम्पियनसिप बिहीबारदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ । च्याम्पियनसिपमा भाग लिन साफका सातवटै देशका खेलाडी काठमाडौँ आइसेका छन् ।

च्याम्पियनसिपअघि बुधबार आयोजित प्रि–म्याच कन्फेरेन्समा सहभागी सातै टोलीका प्रशिक्षक र कप्तानले उत्कृष्ट प्रदर्शन गर्ने जिकिर गरे । आयोजक नेपाल र सर्वाधिक सफल टोली भारतले भने उपाधि चुमेर छाड्ने दाबी गरेका छन् । 

यसअघि पाँच संस्करणको फाइनलमा पुगेर उपविजेतामा सीमित बन्दै आएको नेपालले यस पटक जसरी पनि च्याम्पियन बनेर छाड्ने दाबी गरेको छ । नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङले साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ आफ्नो टोली मैदान उत्रिने बताउनुभयो ।

‘‘हाम्रो एउटै लक्ष्य उपाधि हो । हरेक पटक फाइनलमा पराजित भएको तितो क्षणलाई यस पटक बिर्साउने योजनामा छौँ । टिमको रूपमा जस्मा १५ दिन तयारी गरेका छौँ । तर पनि टोलीमा अनुभवी खेलाडी भएकोले हरेक खेल जितका लागि खेल्नेछौँ,’’ तामाङले भन्नुभयो ।


विगतमा राम्रो खेलेपनि रक्षापंक्तिको कमजोरीले उपाधि चुकाएको स्मरण गर्दै तामाङले यस पटक पहिलाको गल्ती नदोहोर्‍याउने प्रतिबद्धता पनि जनाउनुभयो । उहाँले मैदानमा सबै टोलीलाई बलियो रूपमा हेर्ने बताउँदै भुटानसँगको पहिलो खेल सजग भएर खेल्ने पनि बताउनुभयो । 

नेपालकी कप्तान एन्जिला तुम्बापो सुब्बाले घरेलु मैदानमा उपाधि चुम्न सबैले मिहेनत गरेर खेल्ने बताउनुभयो । ‘‘हरेक संस्करणमा राम्रो खेलेर पनि फाइनलमा चुकेका छौँ । यस पटक विगतलाई भुलेर सबै खेलमा ध्यान दिनेछौँ । टिमको रूपमा छोटो तयारी भएपनि लिगका कारण सबै खेलाडी फिट छन्,’’ सुब्बाले भन्नुभयो । 

भारतका प्रशिक्षक सन्तोष कश्यपले पछिल्लो समय भारतको महिला फुटबलको स्तर धेरै माथि पुगेकोले उपाधिका लागि खेल्ने बताउनुभयो । ‘‘टोलीमा अनुभवी खेलाडी छन् । नेपाली दर्शकको बिचमा खेल्न सबै खेलाडी उत्सुक छन् । हामी आक्रामक फुटबल खेलेर सबैलाई मनोरञ्जन दिनेछौँ । मलाई विश्वास छ, घरेलु टोली नेपालको प्रदर्शन पनि कम हुने छैन,’’ कश्यपले भन्नुभयो । 

यस्तै सहभागी अन्य टोलीका प्रशिक्षक र कप्तानले पनि पछिल्लो समय दक्षिण एसियाको महिला फुटबलमा क्रमशः सुधार आएकोले उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् । बिहीबार हुने उद्घाटन खेलमा पाँच पटकको च्याम्पियन भारत र पाकिस्तानबिच प्रतिस्पर्धा हुनेछ ।

नेपालले भने शुक्रबार भुटानसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । भुटानसँगको खेलमा नेपाली टोलीकी प्रभावशाली स्ट्राइकर सावित्री भण्डारी ‘साम्बा’ को अनुपस्थिति नेपाली टोलीलाई खड्किनेछ ।

फ्रान्सको एन एभेन्ट गेङगाम्पबाट व्यावसायिक फुटबल खेल्दै आउनुभएकी साम्बालाई क्लबले फुकुवा गर्न नमानेपछि पहिलो खेल गुमाउनु परेको हो । यद्यपि उहाँ दोस्रो खेलपछि टोलीमा आबद्ध हुने प्रशिक्षक तामाङले बताउनुभयो । 

कात्तिक १४ गतेसम्म सञ्चालन हुने च्याम्पियनसिपको समूह ‘ए’ मा साबिक विजेता बङ्गलादेश, भारत र पाकिस्तान रहेको छ । समूह ‘बी’ मा आयोजक नेपालसहित माल्दिभ्स, भुटान र श्रीलङ्का रहेका छन् । 

नेपालले लगातार तेस्रो पटक महिला साफ आयोजना गर्न लागेको हो । नेपालले यसअघि सन् २०१९ मा विराटनगरमा र दुई वर्षअघि काठमाडौँमा महिला साफआयोजना गरेको थियो । यसअघिका ६ संस्करणमा पाँच पटक फाइनल पुगेको नेपालले उपाधि भने जित्न सकेको छैन । 

नेपाल गत संस्करणको फाइनलमा बङ्गलादेशसँग ३–१ गोलले पराजित भएको थियो । सन् २०१० देखि सुरु भएको महिला साफमा नेपाल सन् २०१६ को चौथो संस्करण बाहेक सबैमा फाइनल पुगेको थियो ।