• १७ असार २०७९, शुक्रबार

सस्तो हुँदै साहित्य

blog

रामप्रसाद पन्त 

मानव सभ्यताको प्रथम उपलब्धि भनेकै उसमा साहित्य, संस्कृति र कलाको प्रादुर्भाव हुनु हो । जब मानव चेतनाको अङ्कुरण हुन थाल्यो, तबदेखि मानवमा दया, भावना र विचारले जन्म लिन थाल्यो । तिनै भावना र विचारहरूलाई अभिव्यक्त गर्ने साधन बन्यो साहित्य । यसकारण बुझ्नुपर्ने कुरा यही नै हो– व्यक्त वा अव्यक्त रूपमा मानवमा साहित्य, संस्कृति र कलाको अंश रहेन भने त्यो मानव पूर्ण मानव हुन सक्तैन । त्यही हो मानव धर्म र सभ्यताको पहिचान पनि ।

साहित्य भनेको के हो ? कस्तो हुनुपर्छ ? कुन दिशातिर निर्देशित हुनुपर्छ ? के गर्दा साहित्यको विकास हुन्छ ? साहित्य र संस्कृतिको विकास गर्ने जिम्मा कसको हो ? कसमाथि यसको दायित्व छ ? साहित्यको वास्तविक पहिचान के हो ? साहित्यले सभ्य र सुसंस्कृत समाज निर्माण गर्छ र राष्ट्रलाई समुन्नत बनाउँछ भन्ने कुरा सत्य हो कि होइन ? भन्ने कुराको सेरोफेरोमा नै हामी अक्षरमार्गीहरू लागिरहेका छौँ र मार्ग प्रशस्त गर्दैछौँ ।

वास्तवमा साहित्यरूपी वृक्षमा यस्ता जटिल प्रश्नहरू छन्, जसको तात्त्विक उत्तर दिन सजिलो छैन । व्यक्ति व्यक्तिका आआफ्नै तर्क र विचारहरू छन्, जसको अन्तर्विमर्शबाट अन्तर्भूत सार निस्कन कठिन प्रायः भएको छ । ‘साहित्य भनेको केही पनि होइन, यो एउटा अनुत्पादक र उपलब्धिविहीन समाजलाई अलमल्याउने ढर्रा हो । सुन्नमा एकछिन मजा आउँछ, सुन्दासम्म आनन्द मिल्छ, त्यसपछि केही न केही’ भन्नेहरूको जमात पनि एकातिर छ भने अर्कातिर साहित्य संस्कृति र कलाको संरक्षण र संवद्र्धनबिना समुन्नत राष्ट्र र सुसंस्कृत समाजको निर्माण गर्न सकिँदैन भन्ने बौद्धिक वर्ग पनि छ । 

यसै बौद्धिक वर्गले देखाएको बाटो अवलम्बन गरेर वर्तमान समयमा धेरै लेखक साहित्य लेखनतर्फ आकर्षित भएका छन् । कृतिहरूको ओइरो लागेका छन् । यसै गरी पुरस्कार र सम्मानका अनगिन्ती संस्था पनि खुलेका छन्, पुरस्कारका अभिलाषीहरू धुइरो लागेका छन् । यस कृत्यलाई कसैले जन्ती सम्मान र थोक पुरस्कार पनि भन्ने गरेका छन् । यति हुँदाहुँदै पनि साहित्यको गुणात्मक विकास किन हुन सकेको छैन र पाठकहरूको सङ्ख्या पनि तुलनात्मक रूपमा किन बढ्न सकेको छैन ? लेखकहरू आर्थिक रूपमा किन सम्पन्न हुन सकिरहेका छैनन् र लेखेर बाँच्न किन सकिरहेका छैनन् ? साहित्यकार भनेको गरिबै हुनुपर्ने हो र गरिबले मात्र आफ्ना दुःख वेदनाहरू औँल्याएर साहित्य लेख्नुपर्ने हो ? यी प्रश्नहरूले पनि बौद्धिक जगत् तरङ्गित बनेको छ ।

यी सबै कुराप्रति दृष्टिगत गर्दा लाग्छ, आजका अधिकांश लेखकमा निष्ठा र समर्पणको कमी छ । अध्ययन गरेर लेख्ने बानी छैन । जेसुकै र जस्तोसुकै होस्, लेखेर नाम कमाइहाल्ने अस्वस्थ प्रतिस्पर्धाले जरो गाडेको छ । साहित्यलाई कसरी बचाउने र अगाडि बढाउने ? भन्ने सोच होइन कि साहित्यको आडमा आफू कसरी बाँच्ने भन्ने प्रवृत्तिले प्राथमिकता पाइरहेको छ । वर्तमान विद्युतीय एवं यान्त्रिक युगका लेखकहरूले गहन अध्ययन र चिन्तनबिना नै साहित्यको नाममा अन्टसन्ट लेखिदिएर साहित्यलाई हल्का बनाइदिएका छन् । यस प्रवृत्तिको परिणाम यस्तै आउने गरेको छ– साहित्य प्रचारमुखी र सस्तो हुँदै गएको छ ।

अध्ययन गरेर लेख्ने बानी छैन । जेसुकै र जस्तोसुकै होस्, लेखेर नाम कमाइहाल्ने अस्वस्थ प्रतिस्पर्धाले जरो गाडेको छ । साहित्यलाई कसरी बचाउने र अगाडि बढाउने ? भन्ने सोच होइन कि साहित्यको आडमा आफू कसरी बाँच्ने भन्ने प्रवृत्तिले प्राथमिकता पाइरहेको छ । 

साहित्यिक इतिहासको पचासौँ वर्षपछि पनि आजका साहित्यिक पाठकहरूले देवकोटा, माधव घिमिरे, बीपी कोइराला, शङ्कर लामिछाने, भूपि, पारिजात र रिमालका किताबहरू खोज्छन् । यस्तो किन भयो ? हामी अनुमान गर्न सक्छौँ– साहित्यको प्रचार त भयो तर प्रचारित किताबभित्र पाउनुपर्ने गुदी भेटिएन । कसैको भनाइमा हिजोआज पाठक बढ्न नसक्नुको कारकतìव भनेको सामाजिक सञ्जाल, अनलाइन र मोबाइलहरू हुन् भनिएको छ । आफूले चाहेको किताबका अंशहरू– युट्युब, पोष्ट गरेको स्टाटस, फोटो र भिडियोहरूबाट प्राप्त हुन्छ भने लम्बेतान् किताब किन पढिरहने ?

उक्त भनाइ पनि केही अंशमा सत्य होला तर अर्काे सत्य के हो भने जतिसुकै विद्युतीय मिडियाले थिच्दै लगे पनि समूल किताबहरूको महìव निःशेष हुन सक्तैन । कौटिल्यको अर्थशास्त्र होस् या वात्सायनको कामसूत्र, शङ्कराचार्यको अद्वैतवाद होस् या सात्र्रको अस्तित्ववाद, सबैको आधार पुस्तक नै हो । अतः पुस्तकको अस्तित्व र पाठकको पुस्तक पढ्ने चाहनामा कहिल्यै विश्रान्ति आउँदैन । उदाहरणका लागि त्रिवि केन्द्रीय पुस्तकालयमा बिहानैदेखि किताब पढ्नेहरूको लाइन लाग्छ भन्ने सुनेको धेरै भएको छैन । 

खासगरी २०४६ सालपछि खण्डित हुन पुगेको एकात्मक साहित्यिक विचारधाराको कारण प्रत्यक्ष वा परोक्ष रूपमा नेपाली साहित्यको विकासमा नोक्सानी पुग्यो । लेखकहरू सामूहिक समस्याप्रति गम्भीर नभएर गुट उपगुटमा अल्झिए र स्वतन्त्र विचारबाट विचलित भए । ज्वलन्त रूपमा देखिएको समस्या के हो भने लेखकहरू वैचारिक वा सैद्धान्तिक लेखनमा भन्दा समसामयिक एवं गुटपरस्त लेखनतर्फ आकर्षित भए । परिणाम यही भयो, साहित्य क्षणिक लाभको घेराभित्र अल्झियो र मूलधारमा प्रवाहित हुन सकेन । प्रतिफल यही भयो, छयालीसपछिको खुला माहोलमा लेखिएका उल्लेख्य दश कृतिको नाम लिनुपरेमा एकछिन सोच्न बाध्य हुनुपर्ने अवस्था भयो ।

साहित्यिक रचना हुनका लागि परिष्कृत एवं शिष्ट भाषा, व्यञ्जना र भावाभिव्यक्तिजस्ता न्यूनतम आधारहरू पालना गरिएको हुनुपर्छ । साहित्यिक लेप लगाएर वा साहित्यिक कृतिको दर्जा दिएर पुस्तकाकारको रूपमा बजारमा आएका वा साहित्यिक विधा भनी पत्रपत्रिकाहरूमा प्रकाशित गरिएका असाहित्यिक रचनाहरूले पनि वास्तविक एवं गहन साहित्यको मानमर्दन गरिरहे । 

यसकारण पनि हामीसमक्ष एउटा चुनौती देखापरेको छ, जिम्मेवार निकायले यस प्रकारको गैरजिम्मेवार पद्धतिलाई नियन्त्रण गरेर साहित्यको स्तर वर्गीकरण नगरेसम्म नेपाली साहित्य यस्तै गन्जागोल अवस्थामा रहिरहने निश्चित छ । साहित्यको गुणस्तर मापन नभएकै कारण होला सायद, केही अपवादलाई छाडेर हेर्ने हो भने साहित्यिक कृति प्रकाशनको अवस्था आधुनिककालको प्रारम्भिक अवस्थामा जस्तो थियो, आज पनि उस्तै छ । अर्थात् देवकोटाको पालामा छापिने किताबको सङ्ख्या र हालको सङ्ख्यामा वृद्धि हुन सकेको छैन ।

जनसङ्ख्या बढिरहेकै छ, शिक्षित वर्गको सङ्ख्या पनि बढिरहेको छ भने साहित्यिक कृति प्रकाशनको सङ्ख्या बढ्न नसक्नुको कारण के हो त ? साहित्यको स्तर बढेन कि ! पाठकको क्रयशक्ति घट्यो कि ! पाठकले चाहेअनुरूपको साहित्यिक सामग्री आउन सकेन कि ! साहित्यप्रति पाठकको वितृष्णा जाग्यो कि ! पाठकहरू बहिर्मुखी बनेर रङ्गीन दुनियाँतिर आकृष्ट हुँदै पो गए कि ! के भयो ? बौद्धिक वर्गले सोच्नुपर्ने बेला भएको छ । 

अबको विश्व धेरै साँघुरिइसकेको छ । हामीले नेपाली साहित्यलाई विश्वबजारमा लैजानु छ र विश्वलाई चिनाउनु छ । यसको उपाय हो, नेपाली साहित्यको अनुवाद । अनुवाद नभएका पनि होइनन्, अनुवाद पनि भए केही कृति तर हुनुपर्ने महìवपूर्ण कृतिहरू अनूदित भएनन् र केही अपवादलाई छाडेर गर्नुपर्ने क्षमतावान् व्यक्तिले अनुवाद गरिदिएनन् । यसको उल्टो असर विश्वसाहित्यमा प¥यो । कमजोर अनुवादकले कमजोर कृतिहरू अनुवाद गरेर विश्वबजारमा पु¥याउँदा नेपालीइतर पाठकहरूले नेपाली साहित्यको स्तर यस्तै रहेछ भनी मूल्याङ्कन गर्न थाले ।

अनुवाद साहित्यको नियमन छैन र नियमन गर्ने निकाय पनि छैन । अब यसरी हुँदैन । अब यस तरिकाले नेपाली साहित्यले विश्वबजारमा स्थान पाउन सक्तैन । नेपाली भाषासाहित्यको मातृसंस्था नेपाल प्रज्ञा–प्रतिष्ठानले जिम्मा लिने हो कि, सम्बन्धित मन्त्रालयले अर्कै आयोग वा संस्था खडा गरेर जिम्मेवारी दिने हो ! उत्कृष्ट साहित्यिक कृतिहरूको छनोट गरेर विज्ञहरूबाट सिर्जनाको रूपमा अनुवाद गर्नुप¥यो र विदेशमा पठाउनुप¥यो । यसो गर्न सकियो भने नोबेल साहित्य पुरस्कारका लागि पनि आशावादी हुन सकिएला, अन्यथा सकिँदैन ।

यसैगरी चर्चित विदेशी साहित्यकारका कृतिहरू नेपाली भाषामा पढ्न चाहने पाठक तथा लेखकको सङ्ख्या पनि कमी छैन र विश्वसाहित्य पढ्नु जरुरी पनि छ । ती विश्वविख्यात साहित्यकारका कृतिहरू छानेर अनुवाद गरी नेपाली साहित्यका पाठक एवं साहित्यकारहरूलाई पढ्ने अवसर प्रदान गर्नुप¥यो । यसो गर्न सकियो भने विश्वसाहित्यसँग नेपाली साहित्यले घुलमिल हुने मौका पाउँछ । यो समयको माग हो र आवश्यकता पनि हो ।