• १० कात्तिक २०८१, शनिबार

पीडितलाई तीन महिनाभित्र पुनर्स्थापना गरिने

blog

काठमाडौँ, असोज २२ गते । सरकारले विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहका बाढीपहिरोपीडितलाई तीन महिनाभित्रमा पुनर्स्थापना गर्ने योजना बनाएको छ । प्राधिकरणका सहसचिव वसन्त अधिकारीले पुनर्स्थापना र पुनर्निर्माणको काम तीव्र बनाउने उद्देश्यले सरकारले विपत् सङ्कटग्रस्त स्थानीय तह घोषणा गरेकाले सो अवधिमा पुनस्र्थापनाका काम सम्पन्न गर्ने र पुनर्निर्माणलाई तीव्र पारिने बताउनुभयो । 

सरकारले शुक्रबार बाढीपहिरोबाट क्षतिग्रस्त भएका ४३ स्थानीय तहलाई विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो । विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा हुने पालिकाको सङ्ख्या भने अझै बढ्न सक्ने राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सहसचिव अधिकारीले भन्नुभयो, “सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तह केन्द्रित भई राहत, पुनर्स्थापना र पुनर्निर्माणलाई तीव्र पारिने छ । त्यसका लागि केही दिनभित्रै योजना सार्वजनिक गरिन्छ ।” विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनमा गम्भीर प्रकृतिको विपत् भएमा राजपत्रमा सूचना प्रकाशन गरी सिमाना र अवधि तोकी विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सकिने उल्लेख छ । 

अधिकारीले भन्नुभयो, “अब सरकारले स्रोतसाधन र जनशक्ति जुटाएर राहत, पुनस्र्थापना र पुनर्निर्माण तीव्र पार्ने छ ।” सरकारसँग पुनस्र्थापना र पुनर्निर्माणका लागि पर्याप्त बजेट नभए पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोग जुटाएर पुनस्र्थापना र पुनर्निर्माण तीव्र पारिने अधिकारीले बताउनुभयो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले पुनस्र्थापना र पुनर्निर्माणका लागि विशेष योजना बनाएर काम गर्नकै लागि विपत् सङ्कटग्रस्त स्थानीय तह घोषणा गरिएको बताउनुभयो ।  

सरकारले कोशी प्रदेश अन्तर्गत पाँचथरको फिदिम नगरपालिका, फालेलुङ गाउँपालिका र फाल्गुनन्द गाउँपालिका, ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका र सुनकोशी गाउँपालिका, उदयपुरको बेलका नगरपालिकालाई विपत् सङ्कटग्रत क्षेत्र घोषणा गरिएको छ । 

त्यस्तै बागमती प्रदेश अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका, नेत्रावती डबजोङ, गजुरी गाउँपालिका, धुनिबेँसी नगरपालिका, दोलखाको गौरीशङ्कर गाउँपालिका, बिगु र सैलुङ गाउँपालिका, रामेछापको मन्थली नगरपालिका, रामेछाप नगरपालिका, खाँडादेवी गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, सुनापती, लिखु तामाकोशी, गोकुलगङ्गा र उमाकुण्ड गाउँपालिका छन् । 

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका, ललितपुरको बागमती, कोन्ज्योसोम र महाँकाल गाउँपालिका र गोदावरी नगरपालिकालाई विपत् सङ्कटग्रत क्षेत्र घोषणा गरिएको छ । काभ्रेपलाञ्चोकको रोसी, तेमाल, बेथानचोक गाउँपालिका, चौँरीदेउराली र महाभारत गाउँपालिका काभ्रेकै मण्डनदेउपुर नगरपालिका, पनौती र नमोबुद्ध नगरपालिका छन् । सिन्धुलीको गोलन्जोर, सुनकोशी र फिक्कल गाउँपालिका, मकवानपुरको इन्द्रसरोवर र बकैया गाउँपालिका, चितवनको भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकालाई विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको प्राधिकरणका सहसचिव अधिकारीले जानकारी दिनुभयो । गत ११ र १२ असोजमा परेको अविरल वर्षाले यी स्थानीय तहमा सबैभन्दा धेरै क्षति पुर्‍याएको थियो ।