• ३ जेठ २०७९, मङ्गलबार

चराको यात्रा

blog

कृष्णप्रसाद भुसाल

 उड्न सक्नु चराको प्राकृतिक विशेषता हो । चराको यही बानीबाट प्रभावित भएर मान्छेले उडान भर्न सक्ने प्रविधि र यन्त्रको विकास गरेको होला । आज मान्छे पनि आकाशमा चराजस्तै उड्न सक्ने भएका छन् तर अझै पनि चराले गर्नेजस्तो नियमित र लामो दूरीको उडान, उडानको बेला बाटो पहिल्याउने तरिका, गन्तव्यको पूर्वजानकारी पाउने माध्यमजस्ता तथ्य भने पहिल्याउन सकिएको छैन । 

चराले आफ्नो प्रजनन क्षेत्रबाट चरन क्षेत्रसम्म हरेक वर्ष नियमित रूपमा गर्ने यात्रालाई चराको बसाइँसराइ भनिन्छ । अनुकूल मौसम, सुरक्षित बासस्थान, चरन र प्रजननका लागि चरा एक ठाउँबाट अर्को ठाउँ, एक देशबाट अर्को देश र एक महादेशबाट अर्को महादेशमा बसाइँ सरी आउने–जाने गर्छन् । बसाइँसराइ गर्ने चराले आफ्नो गन्तव्यसम्म पुग्ने दिशा तथा बाटो पहिचानका लागि सूर्य तथा अन्य ताराको अवस्थिति, नदी, भौगोलिक शृङ्खला, चुम्बकीय दिशा आदिको सहारा लिने गरेको विश्वास गरिन्छ । यसका साथै बसाइँसराइका लागि उत्प्रेरित गराउने र मार्गदर्शन गर्ने वंशाणुगत गुण पनि चराका वंशजमा स्थानान्तरण हुँदै जान्छन् । 

चराले बसाइँसराइको बेला प्रयोग गर्ने बाटोलाई उडान मार्ग भनिन्छ । विश्वमा नौवटा यस्ता उडान मार्ग पहिचान गरिएका छन् र नेपाल मध्य एसियाली उडान मार्गमा अवस्थित छ । रोचक त के छ भने चराले बसाइँसराइ गर्ने बेला यिनै निश्चित उडान मार्ग हँुदै आवतजावत गर्छन् । बसाइँ सर्ने चराको दिगो संरक्षण, तिनको आहार, बासस्थान र उडान मार्गको सुरक्षाका लागि विश्वव्यापी हातेमालो तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष अङ्ग्रेजी महिना मेको दोस्रो शनिबार विश्व बसाइँसराइ चरा दिवस मनाइन्छ ।

विश्वमा पाइने चराका ११ हजारभन्दा बढी प्रजातिमध्ये करिब ४० प्रतिशत नियमित रूपमा ऋतुअनुसार एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्छन् । नेपालमा पाइने चराका ८९० प्रजाति पनि वर्षभरि नै नेपालमा बस्दैनन् । हिउँदयाममा उत्तरी भूगोलमा अत्यधिक चिसो र भारी हिमपात हुने हँुदा जाडो छल्न रुस, चीन, मङ्गोलियाका साथै युरोप, कोरिया र तिब्बतबाट बर्सेनि करिब १५० भन्दा बढी प्रजातिका हजारौँ चरा नेपालको तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भूभाग तथा ताल, तलैया र नदी आसपासमा बसाइँ सरी आउँछन् । 

बसाइँसराइ गर्ने चराको यात्रा रोचक हुन्छ । अझ केही प्रजातिको यात्रा त अकल्पनीय र चामत्कारिक नै हुन्छ ।

यसैगरी करिब ५० प्रजातिका बटुवा चरा नेपालको बाटो हुँदै भारत, पाकिस्तान, श्रीलङ्का र अफ्रिकासम्म पुग्छन् । यसरी जाडोयाममा नेपालमा बसाइँ सरी आउने चरामा अधिकांश पानी चराका प्रजाति हुन्छन् भने अन्य सिकारी चरा, बगेडी, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राई आदि पर्छन् । यी हिउँदे आगन्तुक चरा नेपाल आउने क्रम भदौ मध्यदेखि पुस मध्यसम्म जारी रहन्छ भने चैतसम्ममा प्रायः चरा आफ्नो स्थायी बसोबास क्षेत्रमा प्रजननका लागि फर्किसकेका हुन्छन् । 

हिउँदे आगन्तुक चरा गर्मीयामको सुरुवातसँगै आफ्नो बासस्थान फर्किसक्दा भारत, श्रीलङ्का र अफ्रिकाबाट भने हजारौँ गृष्मकालीन आगन्तुक चरा बच्चा कोरल्न नेपाल आउँछन् । यसरी आउने करिब ६२ प्रजातिमा अधिकांश कोइली प्रजातिका हुन्छन् भने अन्य मुरलीचरी, सुनचरी, स्वर्गचरी, पिट्टा, कटुस टाउके आदि हुन्छन् । यी चराले नेपालमा बच्चा कोरली असोजसम्ममा हुर्काएर पुरानै बासस्थानमा फर्कन्छन् । गृष्मकालीन आगन्तुक चराको मुख्य बासस्थान भने वन र यस आसपासका घाँसे मैदान तथा कृषि भूमि हुन् । 

बसाइँसराइ गर्ने चराको यात्रा रोचक हुन्छ । अझ केही प्रजातिको यात्रा त अकल्पनीय र चामत्कारिक नै हुन्छ । उदाहरणका लागि परेवाजत्रो शरीर हुने आर्कटिक टर्न चरा जुन संसारकै सबैभन्दा लामो दूरीको यात्रा तय गर्ने प्राणी हो । यसले हरेक वर्ष करिब ९० हजार किलोमिटर दूरी पार गर्दै उत्तरी धु्रवबाट दक्षिणी धु्रवसम्म बसाइँ सर्छ । करिब ३० वर्ष आयु हुने यो चराले आफ्नो जीवनकालमा पृथ्वीबाट चन्द्रमामा चार पटक ओहोरदोहोर गर्ने दूरी पार गर्छ । त्यस्तै गे्रट स्नाइप भनिने चाहा प्रजातिको चरा ९७ किलोमिटर प्रतिघण्टाको गतिमा अविच्छिन्न रूपमा छ हजार ८०० किलोमिटर पार गर्छ, जुन तीव्र गतिमा लामो दूरी पार गर्ने चरा हो । यसैगरी करिब १० दिनसम्म खाना र आरामबिना उडेर बार टेल गुडविट भन्ने चरा १३ हजार किलोमिटर दूरी पार गरी अलास्काबाट न्युजिल्यान्ड पुग्छ । 

सर्वोच्च शिखर सगरमाथाको उचाइभन्दा माथि पनि उड्न सक्ने चरा हो– खोयाहाँस । करिब नौ हजार ३७५ मिटरको उचाइबाट सगरमाथा पार गरी नेपालमा बसाइँ सर्ने यो चरा संसारको सबभन्दा बढी उचाइमा उड्ने चराहरूमा पर्छ । उत्तरबाट हिउँद बिताउन नेपाल आउने चराहरू हिमालका बीचमा पर्ने होचा खोँचहरूबाट नेपाल प्रवेश गर्छन् तर खोयाहाँसले सिधै हिमाल नाघी अत्यन्तै जोखिमपूर्ण साहसिक र रोचक यात्रा तय गर्छ । हावाको गति ३२२ किलोमिटर प्रतिघण्टाभन्दा बढी हुने उक्त उचाइमा हेलिकप्टरसमेत उडन सक्दैन भने अक्सिजन अत्यन्तै कम हुन्छ । जहाँ मट्टितेलमा समेत आगो बल्दैन । हिमाल पार गर्नुपूर्व खोयाहाँसले लामो दूरीको उडान भर्छ, जसका कारण उसको शरीरमा ताप पैदा हुन्छ र ठूला प्वाँखको भित्र हुने मसिना भुवादार प्वाँखले तातोपना कायम राखिराख्छ र हिउँ जम्न दिँदैन । हाल आएर मान्छे पनि चिसोबाट बच्न यस्तै चराका डाउन फिदरको ज्याकेट लगाउँछन् । खोयाहाँसको रगतमा हुने हेमोग्लोबिन विशिष्ट प्रकारको हुने वैज्ञानिक बताउँछन् । यसले कम मात्रामा उपलब्ध अक्सिजनलाई पनि सजिलै र छिटै सोस्न सक्छ । फलतः खोयाहाँस कम अक्सिजन भएको क्षेत्रबाट उड्न सकेको हो । हावा बहावको प्रतिकूल दिशामा पनि उड्न सक्ने यस चराले ८० किलोमिटर प्रतिघण्टाको गतिमा एक दिनमा एक हजार छ सय किलोमिटरभन्दा बढी दूरी पार गर्न सक्छ ।

बेलायती प्रकृतिविद् ब्रायन हडसनले सन् १८३३ मा नेपालबाट विश्वका लागि नयाँ प्रजातिको चराका रूपमा पहिचान गरेको चिल हो– गोमायु महाचिल । नेपाली पहिचान बोकेर संसारभर उडिरहेको गोमायु महाचिल पनि नेपालका लागि हिउँदे आगन्तुक र बटुवा चरा हो । गोमायु महाचिल बसाइँ सरेर आउने क्रममा अधिकांश पूर्वी नेपालबाट प्रवेश गर्छ भने तराईका भूभागसँगै काठमाडौँ र पोखरा उपत्यकामा बढी समय बिताउँछ । पश्चिमतर्पm जान अन्नपूर्ण हिमशृङ्खलाको दक्षिण, ठूलाखर्क÷काँडेको बाटो प्रयोग गर्छ तर सन् २०१५ को असोज अन्तिम साता मङ्गोलियामा स्याटेलाइट ट्याग लगाएको गोमायु महाचिल करिब दुई महिनाको समयमा पाँच हजार २७८ किलोमिटर दूरी पार गरी मङ्गोलिया, चीन, नेपाल हुँदै भारतको उत्तराखण्डसम्म पुगेको थियो । औसतमा ४४ किलोमिटर प्रतिघण्टा र एक दिनमा बढीमा ३६५ किलोमिटरसम्म उडान भरेको उक्त चिल सात हजार २०० मिटर उचाइबाट हिमाल नाघी सगरमाथाको दक्षिणपूर्वी क्षेत्र हँुदै नेपाल भित्रिएको थियो । अत्यन्तै चिसो र कम अक्सिजन हुने हिमालय क्षेत्रभन्दा माथिबाट हावा बहावको प्रतिकूल दिशामा उड्दै नेपाल प्रवेश गरेको उक्त गोमायु महाचिलले अनुसन्धानकर्तालाई चकित पारेको थियो ।

गृष्मकालीन आगन्तुक चरा पनि हजारौँ किलोमिटर दूरी पार गरी नेपाल भित्रिन्छन् । उदाहरणका लागि जुरे कोइली अफ्रिका महादेशबाट करिब पाँच हजार किलोमिटर दूरी पार गरी नेपाल भित्रिन्छ । सन् २०१६ मा चीनको राजधानी बेइजिङनजिकबाट स्याटेलाइट ट्याग लगाएर छाडिएका दुई कुक्कु कोइलीले एक वर्षमा १६ देश हँुदै कम्तीमा २७ हजार किलोमिटर दूरी पार गरेर अफ्रिकासम्म पुगेका थिए । दर्जनौँ देश र महासागर नाघी झन्डै आधा संसारको यात्रा गरेका ती कोइली चरीको रोचक यात्रा पे्ररणादायी छ । नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले त आफ्नो गुँड नै बनाउँदैनन् र अण्डा अरू चराको गुँडमा पार्छन् । उक्त चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चालाई हुर्काउँछ । गृष्मयाममा नेपालमा पनि आउने खैरो गाँैथली १० महिनासम्म आकाशमा उडेको उड्यै गर्न सक्ने हालैको एक अध्ययनले देखाएको छ । 

नेपालमा बसाइँ सरी आउने चरा खासगरी बासस्थान सङ्कुचन तथा विनाश, कृषिमा रासायनिक मलको बढ्दो प्रयोग, जलस्रोतमा विषादीको प्रयोग, सिमसार क्षेत्रको अतिक्रमण, वन डढेलो, अवैध चोरीसिकारजस्ता कारणले सङ्कटमा परेका छन् । यसका साथै उडान मार्गमा हुने अवरोध र जलवायु परिवर्तनजस्ता कारणले पनि चराको आवागमनमा बाधा पु¥याएको छ । बसाइँ सरी आउने चरा लामो दूरीको यात्राले थकित हुने तथा आश्रयस्थल नयाँ हुने हँुदा प्राकृतिक तथा मानवीय सिकारको अत्यधिक जोखिममा हुन्छ । नेपालमा आगन्तुक चराको आवगमनको समयमा सन् १९८७ देखि बर्सेनि नियमित रूपमा गरिने पानी चराको गणनाको तथ्याङ्क भने पछिल्ला वर्षमा निराशाजनक छ । दशकअघिसम्म कोसी नदी आसपासमा मात्र पचासौँ हजार चरा हुन्थे भने हाल देशभरको गणनामा मुस्किलले पचास हजार चरा पुग्छन् । 

गृष्मकालीन आगन्तुक चराको गुँड बनाउने र बच्चा कोरल्ने समयमा भइरहेका भीषण वन डढेलोले यी चराको प्रजनन र नवजात शिशु मात्र प्रभावित भइरहेका छैनन्, सयाँै माउ चरा पनि मरिरहेका छन् । बासस्थानमा आइरहेको तीव्र परिवर्तन र वन डढेलो यी चराका लागि मुख्य चुनौती हो । बसाइँ सर्ने चराले मानिस, पारिस्थितिकीय प्रणाली र राष्ट्रहरूलाई जोडेका छन् । खास प्रकारको वातावरणीय सूचकको काम गरिरहेका छन् । तसर्थ यी चराको दिगो संरक्षण, तिनको आहार, बासस्थान र उडान मार्गको सुरक्षाका लागि स्थानीय समुदायदेखि अन्तरदेशीय साझेदारीको आवश्यकता छ ।