• २१ असोज २०८१, सोमबार

विश्व बसोवास दिवस

‘सहरी विकासमा युवाहरूको संलग्नता बढाउनुपर्छ’

blog

उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह (बिचमा) सहित अन्य सहभागी । तस्बिर : उपप्रधानमन्त्रीकाे सचिवालय

ललितपुर, असोज २१ गते । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्थित आवासमा नागरिकको पहुँच सुनिश्चित गर्ने दिशामा सरकार अग्रसर रहेको बताउनुभएको छ । सोमबार विश्व बसोबास दिवसको अवसरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले संविधानले प्रत्याभूत गरेको नागरिकहरूको आवासको हक सुनिश्चित गर्नका लागि सहर विकास मन्त्रालयले काम गरिरहेको बताउनुभयो । 

उपप्रधानमन्त्री सिंहले युवा जनसङ्ख्याको  ठुलो, गतिशील र शक्तिशाली हिस्सालाई उचित शिक्षा, रोजगारमूलक सीप, उचित रोजगारका अवसर उपलब्ध गराई उनीहरूको सृजनात्मक शक्तिलाई बृहत्तर राष्ट्रिय हितसँगसँगै समग्र सहरी विकासमा पनि समाहित गर्नु आजको प्रमुख आवश्यकता रहेको बताउनुभयो । ‘नेपालको संविधानमा आवासको हकलाई मौलिक हकको रूपमा व्यवस्था भए अनुसार सीमान्तकृत, घरबारविहीन, सामाजिक आर्थिकरुपले पछि परेका नागरिकहरूको आवासको सुनिश्चितताको प्रत्याभूत गरिएको छ । यसका लागि सहरी विकास मन्त्रालय जनता आवास कार्यक्रम, सुरक्षित नागरिक आवास कार्यक्रम तथा बस्ती विकास कार्यक्रमहरू सञ्चालन गरी ग्रामीण क्षेत्रका नागरिकलाई समेत व्यवस्थित आवासमा पहुँच सुनिश्चित गर्ने दिशामा अग्रसर छ’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।  

समावेशी र दिगो आर्थिक वृद्धि, सम्मानजनक रोजगारीको अवसर सृजना गर्ने, सहर र मानव बसोबासलाई समावेशी, सुरक्षित, उत्थानशील र दिगो बनाउने लक्ष्य दिगो विकास एजेन्डा ०३० ले राखेको भन्दै उहाँले ती लक्ष्य हासिल गर्नका लागि सङ्घीय, प्रादेशिक र स्थानीय सरकारहरू निरन्तर क्रियाशील रहेका पनि बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘‘१६ औँ आवधिक योजना, सङ्घीय तथा प्रादेशिक र स्थानीय सरकारका नीति, कार्यक्रम र बजेटमा पनि यसलाई उच्च प्राथमिकता दिइएको छ । सहरी विकास मन्त्रालय र यस अन्तर्गतका सहरी विकास तथा भवन निर्माण विभाग, स्थानीय पूर्वाधार विभाग र सम्बद्ध निकाय तथा कार्यालयहरूले रोजगार तथा उत्पादनमूलक पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएर कार्यक्रमहरू कार्यान्वयन गरिरहेका छन् ।’’ 

यस वर्ष विश्व बसोबास दिवसको नाराले बढ्दो सहरीकरणका विभिन्न चुनौतीलाई सम्बोधन गर्दै दिगो सहरी विकासमा युवाहरूको संलग्नता विषयलाई उजागर गर्न अवसर प्रधान गरेको भन्दै सिंहले नेपाल सरकारको तर्फबाट सहरी विकासमा युवाको संलग्नता विषयका लागि गर्नुपर्ने प्रयासहरूलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।