• २५ कात्तिक २०८१, आइतबार

मदन पुरस्कार विजेताको दसैँ

blog

वर्षभरिका अविच्छिन्न सङ्घर्षपूर्ण दैनिकीलाई थाती राखेर जीवनपथलाई नवीन आशा र ऊर्जाका साथ अघि बढाउने सङ्कल्प गर्ने माध्यम हुन् हाम्रा सबै चाडपर्व । दसैँतिहार, छठसहित सबै पर्वले समयानुकूल पृथक् मौलिक विशेषता भित्र्याएका हुन्छन् । नेपाली समाजको विशिष्ट बनोट र सामाजिक संरचना अनुसार चाडपर्व फरक फरक पनि छन् । जे भए पनि ती आफैँमा प्रेम, सद्भाव, विश्वास, मित्रता र समाजका मूल्य एवं संरचनालाई बलियो बनाउन महत्वपूर्ण छन् । नेपाली समाजको समावेशी बनोटले राष्ट्रलाई एकताको सूत्रमा बाँधेको छ । साधारण नागरिकको भाषामा चाडपर्व भनेको बोटबिरुवाले पालुवा फेरेजस्तो हो । पूर्वीय सभ्यता र संस्कृतिको अनुपम इतिहास र मान्यतालाई जोगाइराखेका नेपाली नागरिकका लागि चाडपर्वलाई सामान्य अर्थमा आफ्ना पूर्वजको परम्पराका रूपमा बुझ्छन् । मूलतः राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक रूपान्तरणलाई दृष्टिगत गरी हाम्रो चाडपर्वको विशिष्ट मौलिक शैली र ती चाडपर्वले दिने प्रेरणा जोगाउनु नै छ । 

नेपाली समाजको संरचनागत विशेषता, नागरिकका भावना, जनसङ्घर्ष, बलिदान तथा हिमाल, पहाड, तराई र मधेशका नागरिकले भोगेका अनेक कथा जीवन्त छन् । नागरिकका त्यस्ता भोगाइलाई जस्ताको तस्तै उतारिएका पुस्तक धेरै छन् । आर्थिक परिस्थिति जस्तो भए पनि वर्षमा एक पटक आउने चाडपर्व मनाउनु पर्छ भन्ने मान्यता समाजमा अहिले पनि छ । अहिलेको दसैँ र १०, २० वा ५० वर्षपहिलेको दसैँ कस्तो हुन्थ्यो ? नागरिकका चाहना के हुन्थे ? अहिलेको सामाजिक र आर्थिक बनोटले अबको पुस्तामा कस्तो रूपान्तरण देख्न सकिन्छ ? नेपाली मौलिक चाडपर्व र पुस्तान्तरणका सन्दर्भमा मदन पुरस्कार विजेता साहित्यकारहरू कृष्ण धरावासी (राधा, २०६२), राजन मुकारुङ, (दमिनी भिर, २०६९), राधा पौडेल (खलङ्गामा हमला एउटी नर्सको डायरी, २०७०), रामलाल जोशी (ऐना, २०७२) र मोहन मैनाली (मुकाम रणमैदान, २०८०) सँग जवाफ खोजेका छौँ । 

अभावमा पनि उल्लास हुन्थ्यो 

(ऐना, २०७२) रामलाल जोशी

समाज बदलिएको छ । आर्थिक रूपान्तरणले सबैतिर प्रगति छ । बाल्यकालमा अभाव थियो तर अभावमा पनि खुसी अर्कै हुन्थ्यो । अहिले खान, लाउन समस्या छैन, सहर बजारमा बसोबास छ । जीवनशैली परिवर्तन भएको छ । स्रोतसाधन छन् तर पैसा, कपडा र खाने कुरा नभए पनि अहिले सम्पन्नताका बिचमा पनि त्यो खुसी भेटिँदैन । टीका लगाउन तीन दिन हिँडेर गइन्थ्यो । अहिले एकैछिनमा पुगिन्छ । सबै साधनस्रोत भएर पनि पहिलेको उल्लास छैन । मान्छेलाई अहिले त्यसै पनि व्यस्त, हतारमा भए जस्तो के के छुटे जस्तो, के के नपुगे जस्तो भइरहन्छ । पुरानो समयमा अभावका बिच वातावरणमा शान्त र मनमा सुख थियो । त्यो बाल्यकालसँगै गयो, अब रहेन । अहिलेका बालबालिकामा पनि खुसी हुने वातावरण छैन । प्राकृतिक रूपमा पाइने रमाइलो प्रविधिले खोसिसक्यो । बनावटी खुसी छ तर प्रकृतिप्रदत्त खुसी भेटिँदैन । सामाजिक रूपमा पनि, प्रविधि र शिक्षाले बदलाव आएको पहिले जस्तो सौहार्द, एकआपसको प्रेम अहिले रहेन । प्रविधिले एक्लो बनाइदियो । 

पहिले कति ठुलो प्रतीक्षा हुन्थ्यो ! छ महिनाअघि औँला भाँचेर, पात्रो हेरेर, बुवा, हजुरबुवालाई सोधेर कहिले आउँछ दसैँ भनेर सोध्दै त्यो पलको प्रतीक्षा गरिन्थ्यो । दसैँमा मिठो खान पाइन्छ, एक जोर लुगा लगाउन पाइन्छ भन्ने प्रतीक्षाले पर्वको महत्वलाई अझ बढी बनाएको थियो । बुवा, दाजुहरू प्रवासबाट फर्किंदा दसैँका लागि सामान लिएर आउनुहुन्थ्यो । त्यो प्रतीक्षा, त्यो कौतुहलता, त्यो मिठास अलग थियो । अहिले जतिबेला जे खाए पनि उपलब्ध छ । यति हुँदाहुँदै पनि दसैँको त्यतिबेलाको खुसी रहेन । त्यसकारण आधुनिक प्रविधि र धनसम्पत्ति आर्जन भए पनि चाडपर्वको मौलिक पक्ष बिर्सिंदा मानिस प्रविधिको दास जस्तो भएको छ । त्यसैले मौलिक पक्षलाई समेटेर दसैँलाई उत्सवकै रूपमा मनाउनु पर्छ र हाम्रो सामाजिक संरचनालाई कायम राख्नु पर्छ । यो दसैँलाई सिर्जनशील बनाउने मेरो सोच छ । रमेश क्षितिजको ‘एउटा मायी नगरमा’, नयाँ लेखकका पुस्तक पनि पढ्छु । फुर्सद पाउँदा पुस्तक पढ्ने बानी छ पहिल्यैदेखि । बरु दसैँमा साथीसँग घुम्ने, रमाइलो गर्ने, पर्वको उल्लासमा ताजगी बढाउने सोचमा छु । 

 

दसैँ मान्दैनौँ भन्दा मृत्युदण्ड 

(दमिनी भिर, २०६९) राजन मुकारुङ

 किराँत समुदायमा जीवनशैली वा जीवन पद्धति मुन्धुम ग्रन्थबाटै विकास भएको हो । हामी मुन्धुमबाटै निर्देशित भएर सबै कर्म गर्छौं । मुन्धुममा दसैँबारे खास उल्लेख छैन तर राज्यले मानेको चाड हो । पृथ्वीनारायण शाहको एकीकरण अभियानले जसरी राज्य व्यवस्था र संरचना बन्यो, त्यो व्यवस्थाले हरेक मौजाहरूमा, हरेक गाउँमा जिम्मावाल निर्माण ग¥यो । अनि जिम्मावालहरूलाई दसैँ मनाउने उर्दी जारी ग¥यो किनभने दसैँका बेला तिरो उठाउने, अनि दसैँकै उपलक्ष्यमा जिम्मावालहरूले ठुलो–ठुलो मार हान्ने अनि भोजभतेर गराउने चलन सुरु भयो । त्यही अवसरमा गाउँका रैतीहरूले तिरो बुझाउनुपर्ने र तिरो बुझाउन नसके त्यही अनुसारको सिसार (कोसेली) बुझाउने पर्ने रीतिथिती बाँधी ल्याएको हुनाले सुब्बा, राई, गुरुङसहित जिम्मावालले त्यसलाई भव्यताका साथ मनाउँदै ल्याउनुपर्ने अवस्था आइपरेको इतिहास छ । पछि समग्र समाजमा दसैँ मान्ने मान्छे चाहिँ ठुलो मान्छे भइन्छ भन्ने सोचेर सबैले मान्न थाले । अर्को, यदि कसैले दसैँ नमाने सजाय पनि गरिन्थ्यो । धनकुटाका आठपरिया राईहरूले ‘हाम्रो चाड दसैँ होइन, हामी मान्दैनौँ’ भन्दा जङ्गबहादुर राणाकै पालामा मृत्युदण्ड दिएको इतिहास छ । 

त्यसकारण निरन्तर मान्दै आउँदा संस्कारका रूपमा विकास भएको पाइन्छ । दसैँ पर्व पञ्चायतकालमा पनि उल्लासकै रूपमा मानेको पाइन्छ । २०४६ को परिवर्तनपछि जागरण आयो । त्यसयता किराँती समुदायमा मुन्धुमप्रति अलि सचेत हुने, सामुदायिक सांस्कृतिक जीवनको खोजी अलि बढी गर्ने भएपछि दसैँ हाम्रो होइन रहेछ भनेर नमनाउने लहर पनि चल्यो तर पनि समग्र समाजले मानिआएको हुनाले प्रभाव रहन्छ । दसैँमा भेटघाट गर्ने तर टीका नलगाउने पनि पाइन्छ । कतिपय ठाउँमा उल्लासका साथ मनाएको पाइन्छ । दसैँका बेला धेरै दिन बिदा पनि हुने भएकाले पनि गाउँ फर्किने गर्छन् । यस्ता कुराले पनि हाम्रो समाजलाई दसैँले जोडेको छ । 

हामी सानो हुँदा राँगा, सुँगुर, भैँसी काट्ने चलन थियो । घर घरै मासु हुन्थ्यो । बाल्यकालमा एक जोर लुगा लगाउने, एकसरो भए पनि फेरिदिने चलन थियो । मासु, चिउरा, चामलको भात खान पाइने, पाहुना पनि आउने भएकाले उल्लासमय हुन्थ्यो । आर्थिक रूपमा परिवारलाई कति अप्ठ्यारो पारिरहेको छ भन्ने कुरा सोच्ने समय नै होइन त्यो । चाडपर्व आउँदा अत्यन्तै रमाइलो लाग्थ्यो तर अहिलेका बच्चालाई मासु खान, नयाँ लुगा लगाउनलाई दसैँ कुर्नु पर्दैन । साथीभाइ केन्द्रित हुने भएकाले वर्षभरि गरेका कामलाई थाती राखेर जमघट गर्ने गरेको देखिन्छ । बाल्यकालमा एक रुपियाँ, दुई रुपियाँको नोट पाउँदा खुसी लाग्थ्यो । नत्र हामीले पाउने भनेको २५ पैसा, आठ आना पाउने हो तर बिस्तारै ५, १० देखि २० रुपियाँसम्म पाउने भइयो । अहिले त जतिबेलै दसैँ मनाएर बसेका हुन्छन् । त्यसैकारण दसैँको छुट्टै महŒव थियो । अहिलेको दसैँ बिदामा साथीसँग भेट्ने योजना छ । फुर्सदमा पुस्तक पढ्ने, लेख्ने कार्य नियमित जस्तै हुन् । 

 सहर र गाउँमा फरक शैली 

(खलङ्गामा हमला एउटी नर्सको डायरी, २०७०) राधा पौडेल

वैश्विक व्यवस्था तथा समय परिवर्तन हुँदै जाँदा हाम्रा चाडपर्वको स्वरूप पनि परिवर्तन भयो । देशसँगै अमेरिका, बेलायतमा पनि दसैँ मनाउँदै गर्दा म पुगेकी छु । मलाई लाग्छ, समाज गतिशील हुँदा संस्कृति, परम्परा, चाडपर्व पनि रूपान्तरण हुँदै जान्छन्, त्यो स्वाभाविक हो, स्वीकार्नु पर्छ । अचेल सहरवासी दसैँको छुट्टी मनाउन जाने, ट्रेकिङ, हाइकिङ र विदेश घुम्न जाने भनेर वर्षभरि पैसा जम्मा गरेर राख्छन्, त्यस्तो चलन नै छ । पहिलेजस्तो राम्रो नखाई, नयाँ लुगा नलाई दसैँ नआउने भन्ने मान्यता छैन । आमाबुवाले छोराछोरी लिएर गाउँ जाने, घुम्ने, प्रकृतिसँग रमाउने, गाउँमा रहेका हजुरबुवा, हजुरआमासँग बसेर दसैँ बिदा सदुपयोग गरौँ भन्ने सोच हुन्छ । धान काट्ने, पिङ खेल्ने आदि गरिन्छ । सहरियाले आफ्ना सन्तानलाई गाउँसँग परिचित गराउने गरेको देखिन्छ । सहरमा पढ्न, रोजगारी गर्न आएका वा विदेश नै गएका युवा पनि गाउँमा आमाबुवा कुरेर बस्नुभएको छ गाउँमै जाऔँ भन्नेमा हुन्छन् ।

गाउँघरमा पनि अचेल जागरण आएको छ । संस्कारको स्वरूप परिवर्तन भएको छ । खर्च गर्ने तरिकामा भएको बदलावले पनि सांस्कृतिक कार्यक्रम गर्ने, खेल्ने, नाच्नेसँगै ‘हामी के कम’ भन्ने सोच गाउँवासीमा देखिन्छ । सहरमा बस्नेलाई लुगा, गरगहना महŒवपूर्ण होइन रहेछ, प्रकृतिसँग रमाउनु पर्छ, घुम्नु पर्छ, आफ्ना मान्छे भेट्नु पर्छ भन्नेतिर जाँदै गर्दा गाउँतिर चाहिँ एउटा गहना वा लुगा थपौँ, खर्च गरेर देखाऔँ भन्ने सोच अहिले पनि देखिन्छ । सामाजिक प्रतिष्ठा आर्जनको विषयसँग जोड्ने गरेको पाइन्छ । बदलिँदो परिवेशसँग जोडिने कोसिसमा समाज रहँदा सामाजिक मूल्यमान्यताको निरन्तरता पनि एकैसाथ भइरहेको छ । त्यसैले समाज परिवर्तनलाई वास्तविकतालाई स्वीकार गर्दै सांस्कृतिक जागरण र मौलिक पक्षलाई ध्यान दिएर आफ्नो मूल परम्परा कायम रहने गरी दसैँसहित चाडपर्व मनाउनु पर्छ ।  

मोबाइलबाटै आशीर्वाद दिएर पुग्दैन 

(राधा, २०६२) कृष्ण धरावासी 

आर्थिक, सामाजिक परिवर्तनसँगै दसैँ पर्व मनाउने शैली पनि बदलिएको छ । पहिलेको जस्तो महत्व छैन । दसैँमा खाद्य पदार्थ, दही चिउरा, मिठो खानका दसैँ पर्खिनु पथ्र्यो । अहिलेका दसैँमा खाने सामग्री पनि बाह्रैमास खाइरहेकै हुन्छन् । लगाउने कुरामा पनि परिवर्तन आएको छ । पहिलेका दसैँमा जस्तो वर्षमा एक जोर लुगा फेर्छु भन्ने हुँदैन । दसैँमा लगाउने लुगा र विद्यालयको पोसाक एउटै हुन्थ्यो । दसैँमा लगाएपछि विद्यालय जाँदा पनि त्यही लुगा लगाउने चलन थियो । आफन्तका घरमा धाएर जानुपर्ने हुन्थ्यो । भेटघाट गर्ने परम्पराको विशेष महत्व थियो । अहिले नेपालमा लाखौँ युवा रोजगारीका लागि विदेश गएका छन् । बुवाआमाले छोराछोरीलाई मोबाइलबाट टीका लगाएर आशीर्वाद दिन्छन् । मैले नै पनि कति पटक मोबाइलबाटै टीका लगाइदिनु परेको छ । आशीर्वाद र शुभकामना पनि सामाजिक सञ्जालबाट दिन थालिएको छ । पहिले दसैँमा खाने, लगाउनेमा, भेटघाट गर्नेमा, आशीर्वाद थाप्नेमा जुन रौनक हुन्थ्यो, अहिले त्यस्तो छैन । चाडपर्वहरू केवल औपचारिकतामा सीमित छन् । दसैँ मात्रै होइन, अरू चाडपर्व पनि औपचारिक मात्रै भएका छन् ।

दसैँमा बिदा हुँदा रमाइलो गर्ने वातावरण पनि हुन्छ । कर्मचारीले खर्च पनि पाउँछन् । कर्मचारीलाई आम्दानीका हिसाबले पनि दसैँको आकर्षक छ तर अभिभावक नहुने र घरबाट टाढा रहेका आमनागरिकलाई दसैँ पीडादायक छ । पहिले दसैँमा घरैमा खसी काट्थे । अहिले महँगाइले एक दुई किलो मासुले दसैँ टार्नु परेको छ । दसैँलाई एकआपसमा भेटघाट गरी सद्भाव, शुभकामना साटेर र आशीर्वाद थापेर मनाइने चाडका रूपमा लिइन्थ्यो । अहिले सबै कुरामा बदलाव आएको छ । दसैँको भावनात्मक पक्ष र महत्व घटेको देखिन्छ । 

नेपालमा हिन्दु संस्कार र संस्कृतिका चाडपर्वलाई मौलिक शैलीमै मनाउन पर्छ तर पछिल्ला दशकमा ‘ह्याप्पी बर्थ डे’ भनेर केक काटेर जन्मदिन मनाइन्छ, त्यतिबेला जुन उत्साह र उल्लास हुन्छ, परम्परागत चाडपर्व मनाउँदा नयाँ पुस्ता त्यति उत्साहित हुँदैनन् । ‘भ्यालेन्टाइन डे’ मनाउँदा जति खर्च हुन्छ र जसरी उल्लासमय माहोलमा युवापुस्ताले मनाउँछन्, हाम्रा मौलिक चाडमा चाहिँ त्यस्तो देखिँदैन । अङ्ग्रेजी नयाँ वर्ष, भ्यालेन्टाइन, जन्मदिनमा केक काट्ने जस्ता पर्व व्रिmस्टियानीसँग जोडिएका चाडपर्व हुन् । हाम्रो देशमा सांस्कृतिक रूपमा इसाई धर्मसँग जोडिएका चाडपर्व बढी लोकप्रिय भइरहेका छन् । भारत, चीनसहित अन्य देशमा ती चाडले पहिल्यैदेखि निरन्तरता पाएका थिए तर हाम्रो देशमा हाम्रै दसैँतिहारसहित पर्व नै लोकप्रिय थिए । भाषाले संस्कृतिलाई बोकेर लाने हो । हाम्रा चाडपर्वलाई जोगाउने भाषाले नै हो । कर्मकाण्ड, पूजा आदिले हाम्रो चाडपर्वको मौलिक पक्ष जोगाएको छ किनभने संस्कृत भाषाले सभ्यतासँग जोडिएको सांस्कृतिक पक्षको जगेर्ना गरिरहेको छ । अङ्ग्रेजी भाषा दोस्रो भाषाका रूपमा विद्यालय र क्याम्पस तहदेखि नै पठनपाठन भइरहेको छ । सरकारी कामकाजमै पनि यो भाषाको प्रयोग आरम्भ भएमा त्यसले बोकेर ल्याउने संस्कृति र पर्वबाट अलग रहन सकिँदैन ।

सांस्कृतिक रूपमा विश्वबाटै अलग भएर उत्तर कोरिया जस्तो बस्न सकिँदैन तर हामीले हाम्रो चाडपर्वलाई मौलिक सभ्यताका रूपमा मनाउनु पर्छ, प्रवर्धन गर्नु पर्छ । हाम्रा चाडपर्वलाई उत्साहका रूपमा ग्रहण गर्न सिक्यौँ भने नयाँ पुस्ता रमाउन सक्छन् । देशबाट परदेश गएपछि आफ्नो संस्कृति र चाडपर्वको महत्व स्वतः बढ्छ । युरोप अमेरिका जाँदा नेपालभन्दा उल्लासमय रूपमा हाम्रा चाडपर्व मनाइरहँदा नेपाली भेट्न सकिन्छ । त्यहाँका नेपालीले आफ्ना सन्तानलाई नेपाली भाषा सिकाउने अवस्था नरहे पनि आफ्नो मौलिक परम्परालाई निरन्तरता दिएको पाइन्छ । त्यसैले सरकारले दिएको बिदासहितको सुविधालाई उत्सवका रूपमा मनाउने गरी हाम्रा चाडपर्वलाई मौलिक उत्सवकै रूपमा मनाउन प्रेरित गर्नु पर्छ । 

दसैँमा बिदाको सदुपयोग गर्ने सन्दर्भलाई दृष्टिगत गरी मैले पनि किताब लिएर आएको छु । आत्मकथाको तेस्रो भाग ‘अर्धकट्टी’ पाण्डुलिपिकै निरन्तरता हो । अढाई वर्ष विदेशमा रहँदा केही पुस्तक नेपालबाट मगाएर पढेँ । मदन पुरस्कार पाएका, पद्मश्री पाएका पुस्तक पढ्छु । त्यसबाहेक दसैँमा अहिले आएका आठ/दस वटा किताब पढ्ने तयारीमा छु । 


बिदामा सिर्जनशील काम गर्न सकिन्छ 

(मुकाम रणमैदान, २०८०) मोहन मैनाली 

अनदी धानको ढिँकीमा कुटेको चिउराको बासना होस् वा दसैँका लागि सिलाएका नयाँ लुगाको सुगन्ध दसैँ आयो भन्ने सन्देश दिने यस्तै सामग्री हुन्थे, हाम्रो बालापनमा । ती पल एउटा मिठो सम्झना भएर बसेका छन् । मौसम पनि फेरिएको, घरआँगनमा फूल फुल्न थालेको अनि दसैँको माहोलले उल्लासपूर्ण गाउँसहर, खुसी हुनका लागि दसैँ आए पुग्थ्यो, अरू केही चाहिँदैनथ्यो । हुन त उमेर अनुसार स्वाद फेरिने कुरा हो तर त्यो अनदी धानको मेहनतले जुटाएको चिउरा भेटिँदैन जस्तो लाग्छ र त्यो स्वाद पनि भेटिँदैन होला । मेरो बाल्यकालमा धानको भात खानकै लागि दसैँ पर्खिनुपर्ने त थिएन तर धेरै मान्छेको अवस्था त्यस्तो थियो । 

प्राकृतिक विपत्तिबिच देशभरि दसैँको माहोल छ । यातायात नपुगेका ठाउँ, विकट जिल्लामा दसैँका लागि सामग्री जोहो गर्ने क्रम सुरु भएको छ । पहिले कर्णालीवासी कुनै समय बर्दियाको राजापुर बजारबाट सामान खरिद गरेर गाउँ फर्किएर दसैँ मनाउने गरेको पाइन्थ्यो । भारत गएर काम गर्नेहरू पनि दसैँ मनाउन फर्किने हुँदा कर्णाली मात्रै होइन, सबै क्षेत्र उत्सवमा बदलिन्थ्यो । समयक्रमसँगै दसैँ मान्ने शैली परिवर्तन भएको छ । दसैँ बिदालाई सिर्जनशील काममा प्रयोग गर्न सकिन्छ । दसैँमा धेरै पुस्तक पढ्ने सोच छैन मेरो । दसैँमा अरू काम नै गरौँ भन्ने छ । बाँकी समय पढ्ने लेख्ने नै भएकाले पढ्ने कामबाट छुट्टी लिएर अरू नै काममा लाग्छु । पत्रकार एवं लेखक सुधीर शर्माको पुस्तक ‘हिमालपारिको हुरी’ पढ्ने तयारी छ । भगिराज इङ्नामको ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ का अभिलेख हेर्छु । वसन्त बस्नेतको ‘सिमसारा’, चूडामणि बन्धुको ‘यात्रा र संस्मरण’ पढ्छु ।