• ७ वैशाख २०८१, शुक्रबार

सिन्धुलीमा ७० प्रतिशतभन्दा बढी मत खसेको अनुमान

blog

बाबुराम देवकोटा
सिन्धुलीमाढी, वैशाख ३० गते ।
सिन्धुली जिल्लाका सबै मतदान केन्द्रमा स्थानीय तह निर्वाचनअन्तर्गतको मतदान उत्साहपूवर्क सम्पन्न भएको छ । 

मतदान कार्यमा वृद्धवृद्धा, अपाङ्गतालगायतका मतदाताको उत्साहपूर्वक सहभागिता रहेको स्थानीयले बताएका छन् । कमलामाई नगरपालिका–१० स्थित सिर्जन प्राथमिक विद्यालय केन्द्रमा १०६ वर्षीयाकुमारी सुनुवारले मतदान गर्नुभएको छ ।

वि.सं १९७२ कात्तिक १७ गते जन्मनु भएकी मतदाता सुनुवारलाई मतदान अधिकृत दुर्गाप्रसाद घिमिरेले सहजिकरण गर्नुभएको थियो ।

वृद्धा सुनुवार मतदान गर्न घरबाट हिँडेरै मतदान केन्द्रमा आउनुभएको र सम्भवत उहाँ सिन्धुली जिल्लाकै जेष्ठ मतदाता हुन सक्ने मतदान अधिकृत घिमिरेले बताउनुभयो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार यस पटक सिन्धुली जिल्लामा ७० प्रतिशतभन्दा बढी मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । कार्यालय प्रमुख पुष्पा झाले भन्नुभयो, ‘‘कति मत खस्या भन्ने सबै विवरण आउनु बाँकी छ । मतदातामा देखिएको उत्साह हेर्दा कम्तिमा पनि ७० प्रतिशत मत खसेको अनुमागन गर्न सकिन्छ ।’’

जिल्लाका नौ वटै स्थानीय तहमा कुल दुई लाख छ हजार ३३५ जना मतदाता रहेका छन् । सिन्धुलीमा २०७४ सालको स्थानीय तह निर्वाचनमा ७८ प्रतिशत मत खसेको थियो ।

नौ वटै स्थानीय तहको १४४ मतदानस्थलमा रहेका २६८ मतदान केन्द्रमा मतदान कार्य सकिएपछि पालिकामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका र कागजपत्र सुरक्षितसाथ ल्याउन सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सबै मतपेटिका ल्याइ सकेपछि रानीतिक दलसँग छलफल गरी मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हामी जतिबेला पनि मतगणना सुरु गर्ने गरी तयारी अवस्थामा छौं । राजनीतिक दलले समय दिएमा सम्भवत आजैदेखि नभए भोलि बिहानदेखि मतगणना सुरु गछौं ।’’

मतदान भइरहेको बेला दिउँसो हावाहुरीसहितको भीषण वर्षाका कारण तीनपाटन गाउँपालिकाको बालाजोर, भिमस्थान, बेलघारी, कमलामाई नगरपालिकाको रानीबास, दुधौली नगरपालिकाको सिर्थौली क्षेत्रका मतदान केन्द्रमा केही समय मतदान अवरुद्ध भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वर्षा रोकिना साथ मतदान पुनः सुरु गरिएको थियो ।

सबै मतदान केन्द्रमा शान्तपूर्ण वातावरणमा मतदान कार्य सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो ।

कमलामाई नगरपालिका र दुधौली नगरपालिकाका प्रमुख तथा उपप्रमुख र अन्य सात वटा गाँउपालिकाका प्रमुख तथा उपप्रमुख र वडा अध्यक्षसहित ४१३ जना जनप्रतिनिधि निर्वाचित गर्न एक हजार २४४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धाका लागि मैदानमा उत्रेका छन् ।