• १९ असोज २०८१, शनिबार

ग्रेड वृद्धिबाट थपिएका विद्यार्थीको पढाइमा समस्या

blog

काठमाडौँ, असोज १६ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा अनुत्तीर्ण विद्यार्थीलाई कक्षा ११ को पढाइको ढोका खोल्न सञ्चालन गरिएको दोस्रो चरणको परीक्षा (ग्रेड वृद्धि) बाट उत्तीर्ण परीक्षार्थीको व्यवस्थापनमा समस्या हुने देखिएको छ । 

राष्ट्रिय परीक्षा बोर्डले एसइई ग्रेड वृद्धि परीक्षाको नतिजा असोज ७ गते सार्वजनिक गरेको थियो । नतिजा अनुसार ५६.७८ प्रतिशत उत्तीर्ण भएका छन् । अर्थात् एक लाख १० हजार नयाँ विद्यार्थी कक्षा ११ मा भर्नाका लागि योग्य ठहरिएका छन् । 

विगतमा पनि एसइईमा ग्रेड वृद्धि परीक्षा सञ्चालन हुने गरेको थियो तर त्यतिबेला परीक्षामा सहभागी हुने र उत्तीर्ण विद्यार्थी थोरै हुने भएका कारण ती विद्यार्थी व्यवस्थापनमा ठुलो समस्या हुँदैनथ्यो । यस पटक भने एसइईमा ननग्रेडेड (एनजी) आएका जति सबै विषयमा परीक्षा दिन पाउने व्यवस्था भएका कारण एक लाख १० हजार विद्यार्थी कक्षा ११ मा थपिन लागेको हो ।

असार तेस्रो साता सार्वजनिक भएका एसइईको नतिजा अनुसार उत्तीर्ण भएका विद्यार्थीका पढाइ सञ्चालन भएको दुई महिना पूरा भइसकेको छ । ग्रेड वृद्धिबाट उत्तीर्ण भएका विद्यार्थीका लागि भने बल्ल कक्षा ११ मा भर्नाको प्रक्रिया सुरु भएको छ । जबकि साउनमा भर्ना भएका विद्यार्थीको भने सम्बन्धित स्कुलले २५ प्रतिशतभन्दा बढी कोर्स पढाइसकेका छन् ।

उनीहरूका लागि प्रथम त्रैमासिक परीक्षा पनि सुरु भइसकेको छ । सबैजसो स्कुलले यो परीक्षा दसैँअघि नै सम्पन्न गर्दै छन् । नयाँ विद्यार्थीका लागि भने भर्ना सकिए पनि पढाइ भने तिहारपछि मात्रै हुने छ तर दुवै थरी विद्यार्थी (असार तेस्रो साता उत्तीर्ण भएका र ग्रेड वृद्धि परीक्षामा उत्तीर्ण भएका) को वार्षिक परीक्षा भने एकै पटक सञ्चालन हुने छ । 

त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयका प्राचार्य हेरम्बराज कँडेलले ढिलो गरी भर्ना हुन आउने विद्यार्थीलाई अतिरिक्त कक्षा सञ्चालन गरेर भए पनि सिकाइ उपलब्धिमा कमी हुन नदिने बताउनुभयो तर एउटै कक्षामा दुई थरी विद्यार्थी हुँदा पठनपाठन गराउँदा शिक्षकलाई समस्या पर्ने उहाँले बताउनुभयो । 

काठमाडौँ महानगरपालिकाले पनि ढिलो भर्ना हुने विद्यार्थीको सिकाइ उपलब्धि बढाउने विषयमा छलफल गरिरहेको तर ठोस योजना नबनेको जनाएको छ । महानगरपालिकाका शिक्षा विभागका प्रमुख गोविन्द शर्माले भन्नुभयो, “उनीहरूलाई अतिरिक्त कक्षा सञ्चालन गरेर वा छुट्टै सेक्सन बनाएर भए पनि पढ्न व्यवस्था मिलाउनु पर्छ । सम्बन्धित विद्यालय र शिक्षकको परामर्शमा योजना बनाउँछौँ ।”

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि ग्रेड वृद्धि परीक्षाबाट उत्तीर्ण भएका परीक्षार्थीको सिकाइ सुधारका लागि के गर्ने भन्ने विषयमा अहिलेसम्म ठोस योजना बनाउन सकेको छैन । विद्यार्थीले दोस्रो पटक परीक्षा दिएर उत्तीर्ण हुनु नै मौका भएकाले पढाइमा पनि उनीहरूले थप मेहनत गरेर अरू सरह सिक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभो, “नयाँ भर्ना हुने विद्यार्थीको सङ्ख्या हेरेर सम्बन्धित विद्यालयले नै कसरी पढाउने भन्ने योजना बनाउनु पर्छ ।”

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।