• ७ पुस २०८१, आइतबार

हराए गोरु, हरायो हलो

blog

भिरालो जग्गामा रहेको बारीमा मिनीटिलरले जोत्नुहुँदै किसान टेकबहादुर बस्नेत । तस्बिर : गजेन्द्र गुरुङ

खजुरा, असोज १५ गते । परम्परागत रूपमा गोरुले खेतबारी जोत्ने प्रचलन अहिले पहाडी ग्रामीण क्षेत्रमा समेत बिस्तारै हराउँदै गएको छ । वर्षौँ अघिदेखि तराइमा मात्र चलिआएको खेत जोत्ने प्रविधि पछिल्ला केही वर्षयता पहाडी ग्रामीण बस्तीमा समेत पुगेको हो । 

केही वर्ष अघिसम्म गाउँका सबै किसानका घरघरमा हल गोरु हुने गर्दथे । हरेक परिवारले हल गोरु पाल्ने र खेतीका समयमा गोरुले खेतबारी जोतेर अन्नबाली लगाउने गर्दथे । तर, केही वर्षयता गाउँघरमा गोरु देखिन छाडेका छन् । किसानहरूले गोरु पाल्न छाडेर गोरुको काम प्रविधिबाट गर्दै आएका छन् । पाखा भिराला बारीमा मकै, गहुँ, जौ तथा खेतमा तोरी तथा धान छर्नका लागि खेतबारी जोत्ने काम अहिले गोरुको ठाउँमा मिनीटिलर (हाते ट्याक्टर)बाट गर्दै आएका छन् ।

ऐराबती गाउँपालिका वडा नम्बर ६ बिजुली महेन्द्र दीप प्युठानका किसान रविध्वज पाण्डेले विगत ५-६ वर्षयता गोरुको ठाउँमा मिनीटिलरले खेतबारी जोत्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “५-६ वर्ष अघिसम्म गाउँका हरेक घरमा एक हल गोरु हुने गर्दथे, खेतीका समयमा सबैले गोरुले नै खेतबारी जोत्ने गर्दथे, तर अहिले भने गाउँमा एकाध बाहेक गोरु नै छैनन्, करिब ८० घर रहेको गाउँमा मुस्किलले ३÷४ जनाको  घरमा गोरु होलान्, गोरु पनि हराए सँगसँगै जोत्ने परम्परागत काठे हलो पनि हरायो ।”

प्रविधिले गर्दा खेती गर्दा लाग्ने खर्चमा पनि कमी आएको पाण्डेको भनाइ छ । “वर्ष भरी गोरु पाल्यो, वर्ष भरी खुवायो, खेतीका समयमा मात्र हो गोरुको काम, त्यो पनि अत्यन्तै समय लाग्ने, बारीका कुनाकाप्चासम्म गोरुले जोत्न नसक्ने, पछि फेरी खेताला लगाएर कोदालोले खन्नुपर्ने, मिलाउनुपर्ने, डल्ला फुटाउनुपर्ने ।” उहाँले भन्नुभयो, “अहिले मिनीटिलरले जोत्दा निकै छिटो काम हुन्छ, कुनाकाप्चा सबै ठाउँमा भ्याउँछ, कोदालोको त कामै हुन्न, डल्ला फुटाउनुपर्ने झन्झट पनि हरायो, खर्चको हिसाबले पनि निकै सस्तो ।”

अर्का किसान टेकबहादुर बस्नेतले बेरोजगारीले गर्दा गाउँ खाली जस्तै भएको र काम गर्ने युवा नै नभएपछि गोरु पाल्ने चलन पनि हराउँदै गएको बताउनुभयो । “घरमा काम गर्ने मान्छे नै छैनन्, गोरुलाई चराउने, घाँस पानी गर्ने कोही नभएपछि बिस्तारै गाउँका सबै मान्छेले गोरु पाल्न छाडे ।” उहाँले भन्नुभयो, “मिनीटिलरले काम गर्दा निकै छिटो हुन्छ, समयको धेरै बचत हुन्छ, खर्च पनि कम हुने भयो, कहैं कतै गोरु भेटिए पनि एक दिन जोतेको तीन हजारसम्म लिन्छन् ।”

गोरुले जोतेको जमिनमा र मिनीटिलरले जोतेको जमिनमा उत्पादनमा भने फरक हुने गरेको अनुभव सुनाउनुहुन्छ बस्नेत । “प्रविधिले गर्दा जोत्ने काममा छिटो छरितो र सहज त भएकै छ तर अन्नबाली उत्पादनमा भने फरक हुने गरेको छ ।” बस्नेतले भन्नुभयो, “मिनीटिलर हल गोरु जति उपयोगी छैन, गोरुले खेतबारी जोत्दा समय त लाग्थ्यो तर उत्पादन राम्रो हुने गर्थ्यो, मिनीटिलरले छिटो भए पनि उत्पादनमा कमी आएको मैले अनुभव गरेको छु ।”

अहिले गाउँका बारी बाँझै छन्, भर्खरै किसानले मकै बाली भित्र्याएका छन् । बाँझो बारी जोत्नका लागि गाउँका हरेक किसानले मिनीटिलरको प्रयोग गर्ने गरेका छन्, कसै कसैका बारीमा मात्र हल गोरुले जोतेको देख्न सकिन्छ । युवाशक्ति गाउँमा नहुँदा गोरु पालन र गोरुले खेतबारी जोत्ने प्रचलन हराएजस्तै भएको स्थानीय बताउँछन् । 

Author
गजेन्द्र गुरुङ

उहाँ बाँके (खजुरा)बाट रिपोर्टिङ गर्नुहुन्छ ।