• १४ असोज २०८१, सोमबार

एनपिएलको ‘कमर्सियल राइट्स’ ६ करोडमा विक्री

blog

काठमाडौँ, असोज १४ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपिएल) को रणनीतिक व्यावसायिक अधिकार ब्रान्ड लजिकले पाएको छ ।

क्यानले बोलकबोल मार्फत मागेको ‘स्ट्राटेजिक एण्ड कमर्शियल राइट्स’ आवेदनमा सबैभन्दा बढी ५ करोड ९२ लाख रुपियाँ बोली लगाएर ब्रान्ड लजिकले सो अधिकार प्राप्त गरेको हो।

यस सम्झौतासँगै ब्रान्ड लजिकको सहकार्यमा नेपाल प्रिमियर लिगलाई थप व्यवस्थित र दिगो बनाउने अपेक्षा गरिएको क्यानले जनाएको छ । कम्पनीले खेलको प्रचारप्रसार व्यवस्थापनदेखि आर्थिक पक्षलाई थप मजबुत बनाउने जिम्मेवारी लिनेछ। सम्झौतामा लिगको ब्रान्डिङ, मार्केटिङ, प्रसारण अधिकार, प्रायोजन व्यवस्थापन र ग्राउन्ड ब्रान्डिङको अधिकार समावेश गरिएको छ।

व्यवस्थापनसँगै  ब्रान्ड लजिकले एनपिएलका खेललाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रसारण गर्ने अधिकार पाएको छ । साथै, विभिन्न प्रायोजन अवसरलाई समन्वय गर्दै लिगको आर्थिक पक्षलाई थप मजबुत बनाउन काम पनि गर्नेछ । 

सम्झौतासँगै ब्रान्ड लजिकले अब लिगको सम्पूर्ण ब्रान्डिङ र प्रचार प्रसारको जिम्मेवारी लिएको ब्रान्ड लजिकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रोशन निरौलाले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “क्रिकेट खेलसँग हाम्रो कम्पनीलाई जोड्न पाउँदा उत्साहित छु । नेपाल प्रिमियर लिगलाई अझ राम्रो बनाउन र विश्वस्तरमा पुर्‍याउन सक्ने जिम्मेवारी पाउँदा मलाई गर्व लागेको छ।’’