• १६ चैत २०८०, शुक्रबार

चोभार सुक्खा बन्दरगाहमा भित्रिन थाले सामान

blog

काठमाडौँ, वैशाख ३०  गते  । काठमाडौँको चोभारमा निर्माण गरिएको सुक्खा बन्दरगाह (ड्राइपोर्ट)मा सामान भित्रिन थालेका छन् । एक महिनाअघि उद्घाटन गरिएको यो सुक्खा बन्दरगाहमा हालसम्म १० ट्रक सामान आइपुगेका हुन् । भारतबाट वीरगञ्ज हुँदै सामान बोकेर आएका ती ट्रक सिधै चोभारमा आएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ चैत २२ गते चोभार सुक्खा बन्दरगाहको औपचारिक उद्घाटन गर्न‘भएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले तीन वर्ष लगाएर यसको निर्माण सम्पन्न गरेको हो । 

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले अहिलेसम्म १० वटा ट्रक सामान लिएर चोभारमा आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सञ्चालन भएको एक महिना मात्रै भएकाले धेरै सामान आउन सकेका छैन । नयाँ बन्दरगाह भएकाले यसबारे जानकारी पाउन समय लाग्ने हुँदा बिस्तारै आवागमन बढ्छ ।” 

व्यवसायी र व्यापारी भैरहवा, विराटनगर, वीरगञ्जमा सामान लैजान बानी परेका र चोभार नयाँ बन्दरगाह भएकाले पनि बुझ्न समय लाग्ने उहाँले बताउनुुभयो । यस विषयमा निजी क्षेत्रसँग छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । छिमेकी मुलुक भारत र भारत हुँदै तेस्रो मुलुकबाट आएका सामान वीरगञ्ज भन्सारमा चेकजाँच नभई सिधै चोभारमा आउन सक्ने भएकाले सामान ढुवानीमा लाग्ने समय र लागत बचत हुने गजुरेलको बताउनुभयो । 

नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनका अध्यक्ष मनोज अधिकारीले वस्तु आयातका लागि प्रतीतपत्र (एलसी) बन्द भएको र आयातमा कडाइ गरिएकाले धेरै सामान आउन नसकेको बताउनुभयो । चोभार सुक्खा बन्दरगाहसम्म सामान ल्याउन छुट्टै एलसी खोल्नुपर्ने र भन्सार बिन्दुमा कर र भ्याट दुवै शुल्क तिर्न‘पर्ने भएकाले व्यवसायीले सामान ल्याउन नसकेको उहाँले जानकारी दिनुभयो । चोभार सुक्खा बन्दरगाहले आयात निर्यात व्यापारमा सहजीकरण गर्ने सम्भावना रहे पनि अझै केही समस्या रहेको निजी क्षेत्रले बताएका छन् । समितिले बन्दरगाहमा सबै पूर्वाधार तयार भएको बताए पनि मालवाहक सवारीसाधनका लागि पार्किङ स्लट, स्टोर र वितरण सेन्टर अझै तयार भइनसकेको निजी क्षेत्रले जनाएका छन् ।

भारत र भारत हुँदै तेस्रो मुलुकबाट आएका सामान वीरगञ्ज भन्सारमा चेकजाँच नभई सिधै चोभारमा आउन सक्ने भएकाले सामान ढुवानीमा लाग्ने समय र लागत बचत हुने 

व्यवसायीहरूले वीरगञ्ज, भैरहवा भन्सारका लागि एलसी खोलिसकेकाले चोभारमा तत्काल आकर्षण नदेखिएको अध्यक्ष अधिकारीले बताउनुभयो । अन्य नाकाबाट आउँदा कन्टेनरको ‘लक’ बिग्रिएको अवस्थामा र तोकेकै समयमै ट्रक आइनपुगेको अवस्थामा भन्सार र जरिवाना गरी तिर्न‘पर्ने रकम २०० प्रतिशत हुन्छ । बाटोमा चालकले बदमासी गरेर ‘लक’ बिगारे थप रकम तिर्नुपर्छ । 

नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनका अध्यक्ष अधिकारीका अनुसार सिपिङ कन्टेनर काठमाडौँ ल्याउँदा कन्टेनरमा समस्या भए बीमाको सुविधा नरहेको र कन्टेनर दुर्घटना भए कसले जिम्मा लिने भन्ने समस्या छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चोभारमा निर्माण भएको सुक्खा बन्दरगाहले आयातित वस्तु काठमाडौँ ल्याउन र यहाँबाट निर्यात गर्न सहजीकरण गर्ने बताउनुभयो । मुलुकमा हुने कुल आयात निर्यात व्यापारको करिब ५० प्रतिशत काठमाडौँबाटै हुने भएकाले चोभार सुक्खा बन्दरगाह उपलब्धिमूलक भएको उहाँले बताउनुभयो ।  

यो बन्दरगाहबाट पस्मिना, हस्तकलाका सामान, कार्पेट, जडीबुटीलगायतका सामानको ब्रान्डिङ गरेर निर्यात गर्न सकिने उहाँले जानकारी दिनुभयो । चोभार बन्दरगाहको सम्भावना धेरै रहेकाले साना–ठूला निर्यातकर्ताका लागि उपयुक्त रहेको व्यवसायीको भनाइ छ । 

समितिका अनुसार पाँच सय कन्टेनर तथा पाँच सय ट्रकका लागि आवश्यक ६५ हजार वर्गमिटरको पार्किङ क्षेत्र, भन्सार, क्वारेन्टाइन, सुरक्षा र अपरेटर कम्पनी रहेका छन् । बैङ्कलगायत अन्य संरचनाका लागि तीन भवन, तीन गोदाम, तीन एप्राइजल सेड, स्टफिङ/डिस्टफिङ सेड, तीन धर्मकाँटा, विद्युतीय सबस्टेसन, बाउन्ड्री लाइटलगायत पूर्वाधार निर्माण गरिएको छ । यो बन्दरगाहभित्र भन्सार जाँचपाँस कार्यलय, क्वारेन्टाइन, प्रशासनिक भवन, कन्टेनर पार्किङ, गोदाम घर, चेकजाँच कक्ष सबै सुविधा एकै ठाउँमा रहेका छन् । 

विश्व बैङ्कको एक अर्ब ५४ करोड रुपियाँ सहयोगमा २६० रोपनी क्षेत्रफलमा यो बन्दरगाह निर्माण भएको थियो । बन्दरगाहमा ३५० वटा ट्रक पार्किङ, ढल प्रशोधन केन्द्रलगायतका सुविधा र कुल आयोजना क्षेत्रको ६ प्रतिशत क्षेत्रफलमा हरियाली राखिएको छ ।

Author

लक्ष्मी सापकोटा