• ११ असोज २०८१, शुक्रबार

इन्डोनेसियाको अवैध सुनखानीकाे पहिरोमा १५ जनाको मृत्यु

blog

 जकार्ता,  असोज ११ गते । पश्चिमी इन्डोनेसियाको अवैध सुनखानीमा गएको पहिरोमा कम्तीमा १५  जनाको मृत्यु भएको छ भने भग्नावषेशमा पुरिएर दर्जनौं बेपत्ता भएको अधिकारीहरुले शुक्रबार बताएका छन् । 

सुमात्रा टापुमा अवस्थित पश्चिम सुमात्रा प्रान्तको दुर्गम क्षेत्रमा बिहीबार साँझ भारी वर्षाले पहिरो निम्त्याएको प्रान्तीय विपद् न्यूनीकरण विभागका प्रवक्ता इल्हाम वहाबले बताउनुभयो । 

“हिजो राति सुन खानीमा पहिरो गएको जानकारी हामीले प्राप्त गर्यौ । पहिरोमा दर्जनौ मानिक पुरिएका छन्, पीडितको खोजीकार्य जारी छ”, उहाँले भन्नुभयो । 

इल्हानले घटनामा १५ जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएको र उद्धारकर्ताले बेपत्ता भएका २५ जनाको खोजी गरिरहेको जानकारी गराउनुभएको छ ।  

सोलोक जिल्ला विपद् विभागले विज्ञप्तिमार्फत परित्याग गरिएको ‘अवैध खानीमा पहिरो गएको जानकारी गराएको छ ।  

दुर्गम ठाउँमा रहेको यस क्षेत्रमा पुग्न नजिकैको गाउँबाट घन्टौँ पैदल हिँड्नुपर्ने भएकाले उद्धार कार्यमा बाधा पुराएकाे इल्हामले बताउनुभयो । 

“पहिरो गएको स्थान धेरै टाढा छ । यसले उद्धारका प्रयासमा बाधा पुराएकाे छ”, उहाँले भन्नुभयो । 

सोलोक जिल्ला विपद् विभागले उक्त क्षेत्रमा मोबाइल फोनको पहुँच नभएकाले उद्धारकर्तालाई एकअर्कासँग कुराकानी गर्न गाह्रो भइरहेको बताएको छ । रासस,एएफपी