• ११ असोज २०८१, शुक्रबार

पर्यटन दिवसमा लेकसाइडमा मिनी सडक महोत्सव

blog

राजधानी पोखराको मुख्य पर्यटकीय स्थल लेकसाइड । तस्बिरः फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी
लेखनाथ, असोज १० गते ।
राजधानी पोखराको मुख्य पर्यटकीय स्थल लेकसाइडमा विश्व पर्यटन दिवसको अवसरमा मिनी सडक महोत्सव हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्षमा भव्य सडक महोत्सव गर्दै आएको रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले पर्यटन दिवसको दिन शुक्रबार साँझ महोत्सव गर्न लागेको हो ।

शुक्रबार साँझ फेवाताल किनार अम्बोटदेखि वाराहीचोकसम्म एक दिने मिनी सडक महोत्सव गर्न लागिएको महोत्सवका संयोजक वीरन्द्र शेरचनले जानकारी दिनुभयो । “सडकमै खाऔं, सडकमै रमाऔँ” भन्ने उद्घोषसहित हुने महोत्सवले पर्यटन प्रवर्द्धन गर्न सघाउने अपेक्षा गरिएको छ ।

महोत्सवमा बाजागाजासहित विभिन्न सांस्कृतिक कार्यक्रम तय भएको शेरचनाको भनाइ छ । उहाँले भन्नुभयो, “पर्यटनको राजधानीले पृथक् र भव्य तवरले पर्यटन दिवस मनाउनुपर्छ भनी महोत्सव गर्न लागेका छौँ ।”

महोत्सवमा स्वदेशी र विदेशी खानाका परिकार, यहाँका विभिन्न जातीय संस्कृति, भेषभूषा, सांस्कृतिक नृत्य, पर्यटकीय स्थलहरुको दृश्यावलोकन गराइने रेवान अध्यक्ष विश्वराज पौडेलले बताउनुभयो । मुख्य पर्यटकीय मौसमको सँघारका हुने महोत्सवले पर्यटन दिवसमा पर्यटकलाई भव्य स्वागतसहित उत्कृष्ट सत्कारको सन्देशसँगै पर्यटन प्रवर्धनमा योगदान पुग्ने अध्यक्ष पौडेलले उल्लेख गर्नुभयो ।