• ११ असोज २०८१, शुक्रबार

ट्रमा सेन्टरका लागि क्याथल्याब ‘भालुको कन्पट’

blog

काठमाडौँ, असोज ८ गते । राष्ट्रिय ट्रमा सेन्टरमा मुटुरोगीका लागि अत्यावश्यक हुने क्याथल्याब मेसिन थन्किएको १० वर्ष भएको छ । सेन्टरमा मेसिन जडान भए पनि हालसम्म एक जनाको पनि परीक्षण गरिएको छैन । त्यही क्याथल्याब मेसिन मुटु रोगको उपचार हुने अस्पतालमा भइदिएको भए १० वर्षसम्ममा हजारौँ मुटुका बिरामीले एनजिओप्लास्टी सेवा लिन सक्ने थिए । 

क्याथल्याब मुटुका बिरामीका लागि एनजिओप्लास्टी गर्ने अत्यावश्यक मेसिन हो तर दुर्घटनाका बिरामी मात्र आउने अस्पतालमा त्यत्तिकै थन्किएर बसेको छ ।

एक जना बिरामीको पनि एनजिओप्लास्टी नगरी थन्क्याएर राखिएको क्याथल्याब यतिखेर ट्रमा सेन्टरका लागि ‘भालुको कन्पट’ बनेको छ । क्याथल्याब मेसिनले ठाउँ मात्र ओगटेको हुनाले ट्रमा सेन्टरलाई घाँडो बनेको हो । क्याथल्याब कार्डियाक क्याथिराइजेसन ल्याब्रोटरी हो । बिरामीको रक्तनलीमा कुनै समस्या छ कि छैन भनेर रोग पहिचान गर्नका लागि यो मेसिनको प्रयोग गरिन्छ । 

ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनीले क्याथल्याब सेन्टरलाई आवश्यक नरहेको जानकारी दिनुभयो । क्याथल्याब यतिखेर सेन्टरका लागि घाँडो बनेको भन्दै उहाँले मुटुसम्बन्धी उपचार हुने अस्पताललाई मात्र काम लाग्ने जानकारी दिनुभयो । उहाँले मुटुको उपचार हुने वीरमा लगेर सञ्चालन गर्नका लागि आग्रह गर्दा पुरानो मेसिन सञ्चालन गर्दा झन्झट हुने भएकाले लैजान नमानेको गुनासो गर्नुभयो । ट्रमा सेन्टरमा मुटुरोग विशेषज्ञको दरबन्दी नरहेको र मुटुसम्बन्धी बिरामी नआउने हुँदा क्याथल्याबको औचित्य नभएको उहाँले बताउनुभयो । 

एमआरआई गर्ने बिरामीलाई पठाइन्छ निजीमा

अस्पतालका निर्देशक डा. मरासिनीले ट्रमा सेन्टरमा दैनिक एक सय जना बिरामीको एमआरआई गर्नुपर्ने बताउनुभयो । दुर्घटनालगायत उपचार गर्न आउने दैनिक एक सयभन्दा बढी बिरामीलाई ट्रमा सेन्टरबाट एमआरआई गर्न बाहिर निजीमा पठाउने गरिएको स्वीकार्नुभयो । 

“दैनिक एक सयभन्दा बढी बिरामी एमआरआई गर्न बाहिर पठाउने गरिन्छ,” डा. मरासिनीले भन्नुभयो, “एमआरआई मेसिन हालसम्म खरिद गर्न सकिएको छैन ।” ट्रमा सेन्टरमा दुर्घटनामा परेका घाइते, चोकपटक लागेका, रुख तथा भिरबाट लडेका व्यक्ति उपचारका लागि आउने हुनाले एमआरआई मेसिन अत्यावश्यक हो । 

उहाँले स्वास्थ्य मन्त्रालयमा एमआरआई खरिदका लागि प्रस्ताव गरिएको जानकारी दिनुभयो । उहाँले सरकारले बजेट नछुट्याउँदासम्म सेन्टरमा एमआरआई ल्याउन कठिन हुने बताउनुभयो । 

किन ल्याइयो क्याथल्याब

राष्ट्रिय ट्रमा सेन्टरका एक कर्मचारीका अनुसार सेन्टरमा पहिलो निर्देशकका रूपमा डा. अशोक वज्राचार्य आउनुभएको थियो । भारत सरकारको सहयोगमा एमआरआई दिन लाग्दा उहाँले क्याथल्याब मगाएको आरोप छ । डा. वज्राचार्यको पुतलीसडकमा एक अस्पताल रहेको छ । उक्त अस्पताल विशेषतः अर्थोपेडिक र महिला तथा प्रसूति रोगमा पहिचान बनाइसकेको अस्पताल हो । सो अस्पतालमा एमआरआई मेसिन पहिलेदेखि नै थियो । ट्रमामा एमआरआई ल्याए डा. वज्राचार्यको अस्पताल सुक्ने डरले एमआरआई नल्याई क्याथल्याब ल्याइएको आरोप छ । 

यसबारे सेन्टरका तत्कालीन निर्देशक डा. वज्राचार्यले सेन्टरमा क्याथल्याब ल्याउनुपर्ने कारणबारे स्पष्टीकरण दिँदै नेपाल सरकार र भारतका प्रतिनिधिबिच भएको छलफलपछि क्याथल्याब ल्याएको दाबी गर्नुभयो । 

क्थाथल्याब मेसिन आउनुमा आफ्नो कुनै दोष नभएको उहाँको भनाइ छ । उहाँले पनि सेन्टरका लागि आवश्यक क्याथल्याब नभई एमआरआई मेसिन नै हो भन्नुभयो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सेन्टरका लागि एमआरआई मेसिन अत्यावश्यक रहेको बताउनुभयो । उहाँले दुई वर्षअघि एमआरआई खरिद गर्न बजेटको व्यवस्था गरिए पनि खरिद हुन नसकेको जानकारी दिनुभयो । 

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।