• ९ मंसिर २०८१, आइतबार

जैविक विविधता क्षतिबारे न अध्ययन, न तथ्याङ्क

blog

काठमाडौँ, असोज ७ गते । बाढी, पहिरो, वन डढेलो लगायतका प्राकृतिक विपद्बाट भएको मानवीय र भौतिक क्षतिको तथ्याङ्क सरकारी निकायसँग भए पनि विपद्बाट जैविक विविधताको क्षेत्रमा के कति हानी नोक्सानी भएको छ भन्ने विवरण हालसम्म कुनै पनि निकायले राख्ने गरेको छैन । 

प्राकृतिक विपद्बाट उत्पन्न भएको हानी नोक्सानी तथा क्षतिको विवरण जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय मार्फत गृह मन्त्रालयले अद्यावधिक गर्ने गरेको छ । जैविक विविधताको भएको हानी नोक्सानीको विवरण तथा अध्ययन अनुसन्धान गर्ने काम वन तथा वातावरण मन्त्रालयको हो तर सो मन्त्रालयमा जैविक विविधता नोक्सानीको न त तथ्याङ्क छ, न त अध्ययन गर्ने गरिएको छ । 

मन्त्रालयभित्र जैविक विविधता तथा वातावरण महाशाखा रहेको छ । मन्त्रालय अन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन तथा भूसंरक्षण विभाग, वनस्पति विभाग र वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र रहेका छन् । ती महाशाखा र विभागहरू प्रत्यक्ष रूपमा वन, वनस्पति, वन्यजन्तु तथा समग्रमा जैविक विविधताको संरक्षण, संवर्द्धन तथा तिनको अवस्थाको अध्ययन, अनुसन्धानसँग सम्बन्धित रहेका छन् तर यति धेरै निकाय भए पनि प्राकृतिक विपद्बाट वन, वनस्पति, वन्यजन्तुमा भएको हानी, नोक्सानी तथा क्षतिको यथार्थ विवरण कुनै पनि निकायसँग छैन । 

वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक डा. राजेन्द्र केसीका अनुसार प्राकृतिक विपद्ले जैविक विविधतामा पुर्‍याएकाे हानी, नोक्सानीको यथार्थ विवरण अद्यावधिक गर्ने काम हालसम्म खासै हुन सकेको छैन । उहाँले भन्नुभयो, "वन अनुसन्धान विभागले पनि त्यो विषयमा हेर्न त सक्छ तर कार्यक्रम र बजेटको अभावले हालसम्म त्यसतर्फ काम गर्न सकिएको छैन । आगामी दिनमा कार्यक्रम र बजेटको व्यवस्थापन भए विभागमा भएका दक्ष जनशक्तिलाई लगाएर यो क्षेत्रमा काम गर्न सकिन्छ ।"

बाघ, गैँडा, हात्ती जस्ता ठुला वन्यजन्तु विवरण राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग रहने गरेको छ । तर पनि ससाना जीवजन्तु के कति मरे, क्षति भए, घाइते भए भन्ने कुराको विवरण भने सो विभागसँग पनि नभएको विभागले जनाएको छ । विभागका महानिर्देशक डा. सिन्धुप्रसाद ढुङ्गानाले भन्नुभयो, "ठुला प्रजातिका वन्यजन्तुको त हामीसँग विवरण हुनेगर्छ तर साना प्रजाति वन्यजन्तु, किटपतङ्ग, पन्क्षीहरुको विवरण अद्यावधिक गरेको छैन । विभागको स्रोत, साधनले त्यो सम्भव पनि हुँदैन ।"

२०७७ सालमा नारायणी नदीमा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जका गैँडा बगाएर भारत पुर्‍याएको थियो । सो घटनामा १० वटा गैँडाको उद्धार गरिए पनि कति गैँडा बगायो र नेपाललाई क्षति भयो भन्ने विवरण वन तथा वातावरण मन्त्रालयसँग छैन । सो बाढीमा जरायो, हरिण, मृग, गौरी गाई लगायतका कति साना वन्यजन्तु बगेर मरे, लोपोन्मुख वनस्पति, जडीबुटीको नोक्सानी के कति भयो ? सो बारे हालसम्म कुनै अध्ययन पनि हुन सकेको छैन । 

हरेक वर्ष सुख्खा याममा वन डढेलो लाग्ने गर्छ । वनजङ्गल सखाप हुनेगरी भएको डढेलोले कति वनस्पति, जडीबुटी, पन्क्षी तथा वन्यजन्तुमा हानी नोक्सानी भयो भन्ने तथ्याङ्क न वन तथा भूसंरक्षण विभागसँग छ न त वनस्पति विभागसँग नै रहेको छ । 

वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माका भनाइमा वन, वनस्पतिका क्षेत्रमा भएको क्षतिका बारेमा केही हदसम्म वन तथा भूसंरक्षण विभागमा रेकर्ड आउने गरेको छ । वन्यजन्तु सम्बन्धीको सूचना निकुञ्ज विभागले राख्ने गरेको भए पनि वृहत् अध्ययनका लागि स्रोत तथा कार्यक्रम नभएकाले प्राकृतिक विपद्का कारणले जैविक विविधताका क्षेत्रमा हुने गरेको हानी, नोक्सानी तथा क्षतिको यथार्थ विवरण आउन नसकेको हो । 

सचिव डा. शर्माले भन्नुभयो, "यो विवरण मन्त्रालयले राख्नुपर्ने त हो तर त्यसका लागि स्रोतको नै अभाव हो । सङ्घीयता कार्यान्वयन भएपछि जिल्ला वन कार्यालयहरू प्रदेश मातहत गएपछि त अत्यावश्यक सूचनाहरू समेत वन तथा वातावरण मन्त्रालयमा आउन छाडेको छन् । हरेक बर्खामा पहिरोले पहाडी क्षेत्रका बहुमूल्य वन, वनस्पतिमा नोक्सानी हुने गरेको छ भने बाढी, डुबान तथा धमिलो, लेदो पानीका कारण जलचरको वासस्थान विनाश हुने गरेको छ ।"

लामो खडेरी लगायतका प्राकृतिक घटनाले वनजङ्गलको पारिस्थितिकीय प्रणाली नै खराप हुने गरेको वन्यजन्तुविद् डा. अशोककुमार रामले बताउनुभयो । उहाँले भन्नुभयो, "विपद्ले एउटा इकोसिष्टमलाई नै ध्वस्त पार्ने गरेको छ । विपद्मा परेर मानिसको ज्यान जोखिममा पर्दा तत्काल समाजलाई असर पर्छ तर एउटा इकोसिष्टम नै ध्वस्त भयो भने त समग्र मानव समाज र सम्पूर्ण चराचरलाई अनन्तकाललसम्मका लागि असर पर्ने गर्छ । त्यसैले विपद्बाट जैविक विविधतामा भएको हानी, नोक्सानी र क्षतिको यथार्थ विवरण राज्यसँग हुनुपर्छ, राज्यले राख्नुपर्छ । अनि मात्र राज्यले त्यस्ता समस्यालाई सम्बोधन गर्न सक्छ ।"