• २ असोज २०८१, बुधबार

संविधान बहस

संविधान छिटो कार्यान्वयन गर्ने देशमा नेपाल पर्छ

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ ।

काठमाडौँ, असोज ३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनप्रतिनिधिले बनाएको संविधानमा जनताको भावना र अपनत्व जोडिएको बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा गोरखापत्र अनलाइनले गरेको ‘संविधान बहस’मा कुराकानी गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। उहाँले भन्नुभयो, ‘‘यो जनताको प्रतिनिधिले बनाएको संविधान हो, यसमा जनताको भावना र अपनत्व जोडिएको छ । हाम्रो आवश्यकताका आधारमा कार्यान्वयन अलि ढिलो भयो भन्ने गरिन्छ तर संविधान छिटो कार्यान्वयन भएको एउटा देश विश्वमा नेपाल हो ।’’ उहाँले संविधान कार्यान्वयनको क्रममा देखिएका चुनौतीको सामना गर्दै सरकार अगाडि बढेको बताउनुभयो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बी सुब्बा गुरुङ भन्नुहुन्छ : 

  • यो जनताको प्रतिनिधिले बनाएको संविधान हो, यसमा जनताको भावना र अपनत्व जोडिएको छ । हाम्रो आवश्यकताका आधारमा कार्यान्वयन अलि ढिलो भयो भन्ने गरिन्छ तर संविधान छिटो कार्यान्वयन भएको एउटा देश विश्वमा नेपाल हो भन्ने यसले प्रष्ट पार्छ ।
  • संविधान कार्यान्वयनको क्रममा मुख्यतः दुईवटा चुनौती देखियो, प्रदेश प्रहरीको व्यवस्थापन हुन सकेको छैन र निजामती कर्मचारीको बाँडफाँटको विषय छिनोफानो हुन बाँकी छ । समाधान हुन्छ । संघीय सरकारले त्यसअनुरुप काम अघि बढाएको छ । 
  • समानुपातिक व्यवस्थाबाट पछि हट्न सकिन्नँ र त्यसको उचित व्यवस्थापन गरेरै अघि बढ्नुपर्छ  
  • हामीले संघीयताको फाइदाको विषयबारे जनतालाई बुझाउनै सकेका छैनौं । यो कुरा राजनीतिक दल र नेताहरुले स्वीकार गर्नुपर्छ । 


  • दक्षिण एसियामा मिडियाको विकास एकदम राम्रो भएको देश नेपाल हो । सरकारी मिडिया पनि चाहिन्छ र निजी मिडिया पनि चाहिन्छ । सरकारले गरेको कामको प्रचार गर्न र जनताको बिचमा सरकारको खबर र जनताको समस्या सरकारसम्म लैजान बलियो सरकारी मिडिया चाहिन्छ । 
  • डिजिटल इकोनोमीको क्षेत्रमा सरकारले काम गरिरहेको छ र यसले कुल ग्राहस्थ उत्पादनको ३ प्रतिशत पुराउनुपर्छ भन्ने सरकारको लक्ष्य छ । डिजिटल इकोनोमीको माध्यमबाट सुशासन कायम गर्नुपर्नेछ । 
  • मुलुकको शासन व्यवस्थालाई डिजिटलाइज्ड गर्न सक्यौं भने भ्रष्टाचार स्वतः हट्छ । यसले सुशासन कायम गर्नमा सहज हुन्छ डिजिटल फ्रेमवर्क नेपाल सुरु गरिएको छ । युवालाई स्वरोजगार बनाउने अभियान पनि हो यो । 
  • टिकटक बन्द हुँदा करिब तीन अर्ब राजस्व घटेको थियो । हजारौं युवा बेरोजगार भएका थिए,  त्यसैले सरकारले टिकटक पुनः खुला गरेको छ । 
  • डिजिटल क्षेत्रको विकास गर्न एआईको नीति बनाउँदैछौं । अब हामीले आफ्नै स्याटेलाइट बनाउने छौं । डिजिटलमा हामी आत्मनिर्भर बन्ने गरी काम गर्नेछौं । अरुको भर परेर विकास हुँदैन । 
  • यो वर्षभित्र सेक्युरिटी प्रेसका लागि काम गरेर अर्को वर्षदेखि आफ्नै स्मार्ट कार्ड छाप्ने, राष्ट्रिय परिचयपत्र, ड्राइभिङ लाइसेन्स, पासपोर्ट हामी आफैँले छाप्ने गरी काम गर्नेछौं । यो काम यही सरकारले गर्नेछ । त्यसो गर्न सकेमा देशको १७ अर्बभन्दा बढी बजेट जोगिने देखिन्छ । 
  • राजनीतिक स्थायित्व अब कायम भयो भनेर बुझ्दा हुन्छ । सरकार चलाउन मात्र यो सहकार्य भएको होइन । संविधान बचाउन, देशको अर्थतन्त्रलाई सुदृढ बनाउन यो सहकार्य भएको हो । दुई दल मिलेसम्म कसैले केही गर्न सक्दैन । यो सहकार्य २०८४ सम्मै चल्छ ।
  • विदेशको बासी स्याउभन्दा स्वदेशको ताजा स्याउ मीठो हुन्छ । विदेशको स्याउ खाएर किन रमाउने ? आफ्नै बारीको स्याउ तागतिलो हुन्छ भन्ने बुझेर युवाहरुले काम गर्नुपर्छ । देश बनाउनमा हामी सबैले हातेमालो गर्न सक्यौं भने ‘समृद्ध नेपाल सुखी नेपाली’को सपना पूरा हुन्छ ।

प्रस्तुत छ– गोरखापत्र अनलाइनका लागि नारद गौतम, मनोजरत्न शाही र केशव गुरुङले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बी सुब्बा गुरुङसँग गरिएको विशेष भिडियो वार्ता :  


Author
नारद गौतम

उहाँ गोरखापत्र अनलाइनका सम्पादक हुनुहुन्छ ।