सिराज खान
नेपालगन्ज, चैत २२ गते ।जिल्ला प्रहरी कार्यालय बाँकेले गत फागुन महिनामा मात्रै बाँकेमा २७ जना फरार अपराधीलाई पक्राउ गरि कानूनी दायरामा ल्याइएको जनाएको छ ।
अदालतबाट कैद तथा आर्थिक जरिवाना भई फरार रहेका अपराधीमध्ये खोज तलासको क्रममा २७ जनालाई पक्राउ गरि अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिनुभयो ।
उहाँले पक्राउ परेका फरार अपराधीबाट १४ लाख ४३ हजार ९७६ रुपियाँ राजस्व समेत सङ्कलन गरिएको बताउनुभयो ।
ती फरारबाट ७ वर्ष चार महिना १६ दिनको कैद पनि भुक्तानी गराइने छ । अदालतले सजाय तोकेपनि फरार रहेका व्यक्तिलाई पक्राउ गरि कानूनी दायरामा ल्याउने सरकारको नीति अनुसार लुकेर बसेका अपराधीलाई पक्राउ गरि अदालतमा बुझाइएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक जिसीले बताउनुभयो ।
केही समयअघि देखि जिल्लामा शुरु गरिएको फरारलाई पक्राउ गर्ने अभियान अन्तर्गत हरेक महिनामा २५ देखि ५० जनाजतिको हाराहारीमा फरारलाई पक्राउ गर्ने कार्य भइरहेको जनाउँदै प्रहरी उपरीक्षक जिसीले सो अभियान निरन्तर जारी रहने उहाँको भनाइ छ ।
उहाँले अदालतबाट फैसला भएर सजाय तथा जरिवाना पाएका धेरै जनाले अझैपनि आफै अदालत समक्ष पुगेर अदालतको फैसलाको सम्मान नगरेको हुँदा उनीहरुको खोजी भइरहेको बताउनुभयो ।