• १ असोज २०८१, मङ्गलबार

धनकुटामा वनको राजस्वमा २४२ प्रतिशतले वृद्धि

blog

डिभिजन वन कार्यलय धनकुटा । तस्बिर : कविराज घिमिरे

कविराज घिमिरे
हिले, भदौ ३१ गते ।
धकुटामा वन कार्यलयमार्फत प्राप्त हुने राजस्वमा वितेको आर्थिक वर्ष २४२ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/०८० मा २६ लाख ७१ हजार दुई सय ४५ रुपियाँ प्राप्त भएकोमा आर्थिक वर्ष २०८०/०८१मा भने सो बढेर ९१ लाख ४९ हजार सात सय ४६ रुपियाँ प्राप्त भएको छ ।

सबैभन्दा बढी राजस्व अन्य सेवा शुल्क तथा बिक्रीमार्फत प्राप्त भएको छ । अन्य सेवा शुल्क तथा बिक्रीमार्फत ८१ लाख ७५ हजार दुई सय ९७ रुपियाँ प्राप्त भएको छ ।

त्यस्तै वन क्षेत्रको रोयल्टीमार्फत ८ लाख ९१ हजार पाँच सय ४९, बेरुजु दाखिलामार्फत ४२ हजार नौ सय र अन्य प्रशासनिक सेवा शुल्कमार्फत ४० हजार प्राप्त भएको डिभिजन वन कार्यलय धनकुटाका प्रमुख भरतबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै यो वर्ष धनकुटाबाट ३९ लाख ८८ हजार चार सय ८५ क्युफिट काठ निकासी भएको छ । जसमध्ये सबैभन्दा बढी निजी वनको ३९ लाख ६७ हजार एक सय नौ क्युफिट काठ निकासी भएको हो ।

त्यस्तै सल्लेरी राष्ट्रिय वनबाट २० हजार आठ सय ५५ र बेवारिसे बरामद भएको खयर पाँच सय २१ क्युफिट रहेको कार्यालयले जनाएको छ ।