• २० असोज २०८१, आइतबार

खाद्यसम्बन्धी चौसट्ठी मुद्दा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २८ गते । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य ऐनविपरीत खाद्यवस्तु उत्पादन तथा बिक्रीवितरण गरिएको सम्बन्धी ६४ मुद्दा दायर गरेको छ । विभागले नमुना परीक्षणबाट लेबल नभएका, म्याद नाघेका, न्यून गुणस्तर, दूषित र खाद्य ऐनविपरीत उत्पादन तथा बिक्रीवितरण गरेको कसुरमा कारबाहीका लागि जिल्ला प्रशासन कार्यलयमा मुद्दा दायर गरेको हो । 

विभागले चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म दुई हजार ६७१ नमुना सङ्कलन गरेको थियो । ती नमुना परीक्षणबाट प्रतिकूल देखिएको अवस्थामा मुद्दा दायर गरेको हो । विभागको अनुसन्धानले सबैभन्दा धेरै दुग्धजन्य र प्रशोधित पानीमा कैफियत पाइएको हो ।  

विभागका अनुसार दूध तथा दुग्धजन्य पदार्थमा १३, खाद्यान्न तथा दलहन १३ प्रशोधित पानी नौ, सस पाँच, चिया चार, दाना पदार्थ नौ, मसलाजन्य खाद्य पदार्थ पाँच, खाने तेल दुई, मिठाई एक, मह एक र अन्य खाद्य पदार्थका दुईवटा मुद्दा दायर गरिएको हो । 

विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार उपभोक्ताको स्वास्थ्यमाथि प्रतिकूल असर पार्ने उत्पादन गर्ने उद्योगलाई खाद्य ऐनअनुसार कारबाही गर्न मुद्दा दायर गरिएको हो । तरकारी, फलफूलका ३२ नमुना प्रतिकूलविभिन्न मुलुकबाट आयात भएका फलफूल तथा तरकारीका ४० हजार नमुना परीक्षण गर्दा ३२ वटामा समस्या पाइएको छ । विभागले सातवटा नाकाबाट जीवनाशक विषादीको द्रुत परीक्षण गर्दा ३२ वटा नमुनामा प्रतिकूल पाइएको हो । 

विभागले गत कात्तिक १ देखि चैत मसान्तसम्म सातवटा नाकामा आयातित फलफूल तथा तरकारीका नमुनाको जीवनाशक विषादी अवशेष परीक्षण गरेको थियो । ३२ वटा नमुनामा तोकिएको भन्दा बढी मात्रामा विषादीको अवशेष पाइएको विभागले जानकारी दिएको छ । जुनार, केरा, चुकन्दर, आलुलगायतका तरकारीमा प्रतिकूल पाइएको प्रवक्ता महर्जनले  जानकारी दिनुभयो ।