• १४ पुस २०८१, आइतबार

पत्रकारितामा विश्वसनीयता

blog

पत्रकारिता पेसाको प्रमुख उद्देश्य नै आदर्श समाज स्थापना गर्नु हो । पत्रकारिताका माध्यमबाट आदर्श समाज स्थापनाका लागि सही सूचना, सत्शिक्षा र उत्प्रेरणादायी खुराक पस्कने काम गरिन्छ । यस अर्थमा पत्रकारिता समाजको ऐना हो । विश्वमै शक्तिशाली र गरिमामय मानिएको पत्रकारिता पेसा नेपालको सन्दर्भमा सोचेअनुरूप विश्वसनीय हुन सकिरहेको छैन, जसले नेपाली पत्रकारिताको व्यावसायिक उन्नतिमा समेत आशातीत सफलता चुमेको पाइँदैन । यसर्थ नेपाली पत्रकारितामा सबै पक्षबाट विश्वसनीयता बढाउनुपर्ने आवश्यकता खड्किँदै छ ।

विषयगत ज्ञान 

पत्रकारिताको विश्वसनीयता बढाउन सम्बन्धित पत्रकारमा पर्याप्त विषयगत ज्ञान आवश्यक पर्छ । नितान्त जटिल र प्राज्ञिक पेसा मानिने पत्रकारिताले समाज र राष्ट्रका सबै पक्ष र विषय सन्दर्भलाई समेटेको हुन्छ । यस अर्थमा पत्रकार पनि ती सम्पूर्ण पक्षका विषयमा जानकार हुनु पर्छ । उसले सामाजिक, सांस्कृतिक, शैक्षिक, धार्मिक, राजनीतिक, आर्थिक तथा कानुनी विषयका सन्दर्भ राम्ररी बुझ्नु पर्ने हुन्छ । त्यति मात्र नभई खास विषय क्षेत्र मानिने खेलकुद, विज्ञान, वातावरण, कृषि, पर्यटन, उद्योग, व्यापार, मनोरञ्जन, संसदीय मामिला जस्ता विषयसँग सम्बन्धित समाचार लेख्दा वा रिपोर्टिङ गर्दा पनि ती विषयवस्तुबारे जानकार हुनु आवश्यक हुन्छ । विषयगत ज्ञानमा कमी भयो भने समाचार वा सूचनामा चाहेर पनि विश्वसनीयता कायम गर्न कठिन हुन्छ । विभिन्न क्षेत्रसँग सम्बन्धित शब्द चयनमै समस्या भयो भने त्यसको अर्थलाई राम्ररी वर्णन गर्न सकिँदैन । खोजमूलक समाचार लेखनमा पनि कठिनाइ उत्पन्न हुन्छ । त्यसो त पछिल्लो समय नेपाली पत्रकारिता क्षेत्रमा विधागत पत्रकारिताको अभ्यास बढ्दो छ तर सबै सञ्चार माध्यममा विधागत पत्रकारितासँग सम्बन्धित विषयगत ज्ञान भएका पर्याप्त पत्रकार कार्यरत भएको पाइँदैन । 

पेसागत आचरण

नेपाली पत्रकारिताको विश्वसनीयता स्थापित गरिरहनका लागि मूलतः पेसागत आचरण र मर्यादा विपरीतका कर्म कहीँ कतै पनि हुनु हुँदैन । पेसागत आचरण पालन नगर्ने हो भने समग्र पेसा नै ‘बेलगामको घोडा’ सरह बन्छ । नेपाली पत्रकारिताको पेसागत आचरणलाई आचारसंहिताले समेटेको हुन्छ । पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन २०७६) अनुसार नेपाली पत्रकारिताको व्यावसायिक अभ्यासलाई उच्च पेसागत, मर्यादित, जवाफदेही एवं उत्तरदायी बनाउने प्रयास भएको छ । नेपाल पत्रकार महासङ्घको सहमतिमा प्रेस काउन्सिल नेपालले जारी गरेको पछिल्लो आचारसंहितामा पत्रकार तथा सञ्चार माध्यमले पालना गर्नु पर्ने कर्तव्य र गर्न नहुने कार्यका अलग अलग १४ बुँदा समावेश गरिएको छ तर समसामयिक नेपाली पत्रकारिता जगत्मा अहिले कैयौँ पत्रकारले यो आचारसंहिता पालना नगर्दा पेसाको विश्वसनीयता उँचो हुन नसकेको प्रतीत हुन्छ । 

पछिल्लो पटक कैयौँ नेपाली मिडियाले विशेष संवेदनशील अवस्थामा पनि संयम भई सतर्कतापूर्वक समाचार सम्प्रेषण गर्न सकेनन् । भर्खरैको सौर्य एयरलाइन्स दुर्घटनाको समाचारमा कैयौँ अनलाइनमा फरक फरक र मिथ्या समाचार सम्प्रेषण हुन पुग्यो । सोही समाचारमा एरलाइन्सको नाम, मृतकको सङ्ख्या, उद्धार गरिएका व्यक्तिको सङ्ख्या तथा क्याप्टेनको नामसमेत भिन्न हुँदा पत्रकारिताको विश्वसनीयतामा अलि ठेस पुग्यो । यस्तै आचारसंहिता विपरीत कतिपय अनलाइनले पहिलेको पोस्ट नै डिलिट गर्ने कामसम्म गरे । खासमा पत्रकारिताको विश्वसनीयता कायम राख्नका लागि पहिलेको गलत पोस्ट डिलिट गर्नुभन्दा पनि भूलसुधार गर्नु बढी बुद्धिमत्ता ठहथ्र्यो । 

यसै गरी अहिले पेसागत आचारसंहिताभन्दा बाहिर गएर कतिपय समाचार वा सूचनामा पत्रकार स्वयम् न्यायाधीशको भूमिकामा रहने गरेको पाइन्छ । कतिपय समाचारले न्याय निरूपण प्रक्रियामा समेत प्रभाव पारिरहेको हुन्छ । न्यायिक निकायमा विचाराधीन मुद्दाको स्वच्छ सुनुवाइ प्रक्रिया वा निर्णयमा प्रतिकूल असर पार्ने गरी कतिपय सामग्री सम्प्रेषण हुने गर्छन् । मुद्दाको फैसला नै नभई ‘बलात्कारी पक्राउ, हत्यारा पक्राउ’ जस्ता समाचारका शीर्षक सम्प्रेषण हुने गरेका छन् । यिनमा ‘आरोपित हो’ भन्ने संज्ञा पनि दिइएको हुँदैन । यस्ता संवेदनशील विषय सन्दर्भमा पत्रकार आचारसंहिताको ‘गर्न नहुने कार्य’ अन्तर्गत ११ नम्बरमा रहेको व्यवस्थाविपरीत कतिपय सञ्चार माध्यममार्फत समाचार सम्प्रेषण हुनु भनेको पत्रकारिताप्रतिको विश्वास गुम्दै जानु हो । 

सामाजिक सञ्जाल 

पत्रकारिता र सामाजिक सञ्जालबिच आमसञ्चारको नाता छ । आमसञ्चारको माध्यममा समानता भए पनि सामाजिक सञ्जाललाई पत्रकारिताको माध्यम मानिँदैन । पछिल्लो समय नेपाली पत्रकारिता क्षेत्रमा सामाजिक सञ्जालले आफ्नो प्रभुत्व जमाउन थालेपछि पत्रकारिताको खास पहिचान हराउँदै गएको छ । पत्रकारिताको मूल्य, मान्यता, आचरण, सिद्धान्त र नीतिनियम नै नबुझी सामाजिक सञ्जालमा प्रचारबाजी गर्ने होड बढ्दो छ । कानुनी हैसियत प्राप्त नगरी न्युज पोर्टल बनाएर सामाजिक सञ्जालमा प्रचारबाजी गर्नेहरूले नै अहिले वास्तविक पत्रकारिताको विश्वसनीयता गुमाउन भूमिका निर्वाह गर्दै छन् । न्युजपोर्टलको आधिकारिता नहुने, सम्पादक/प्रकाशक नै बेनामे हुने, कार्यालयीय ठेगाना कतै नपाइने र गलत सम्पर्क नम्बर दिएर समाचार वा सूचना सम्प्रेषण गर्ने कार्य सामाजिक सञ्जालमार्फत भइरहेको छ । यस्ता कथित न्युज पोर्टलबाट आजित सर्वसाधारणलाई आधिकारिक र विश्वसनीय सूचना सम्प्रेषण गरेर विश्वास जित्नुपर्ने चुनौती नेपाली पत्रकारितामा बढ्दो छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले समाजमा फैलाउने दुष्प्रचार रोक्नका लागि पत्रकार आफैँ जागरूक हुनुको विकल्प छैन । सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि ‘यो विषयवस्तु पत्रकारिताको आधिकारिक न्युज पोर्टलको हो र यो होइन’ भनी छुट्याउन सक्ने अवस्थामा पु¥याउने जिम्मेवारी स्वयम् पत्रकारकै बनेको छ ।

यस्तै कतिपय पत्रकारले समाचारमा आउनुपर्ने विषय पहिले नै सामाजिक सञ्जालमा पोस्ट गर्ने वा ‘फेसबुक स्टाटस’ को रूपमा सम्प्रेषण गर्ने गरेको पाइन्छ । कुनै बेला त फेसबुकमै आधिकारिक समाचार पढ्न भेटिन्छ, जसको कुनै न्युज पोर्टल वा मिडिया नै हुँदैन । यसले गर्दा पनि जोकोहीलाई आधिकारिक समाचार पोर्टलको महत्व बोध गराउन कठिनाइ हुन्छ । परिणामतः विश्वसनीय सूचना तथा समाचार पस्कने मिडिया गुमराहमा पर्छन् ।

भाषिक शुद्धता

अहिले नेपाली पत्रकारिता क्षेत्रमा भाषिक शुद्धताको सवाल पनि प्रमुख बन्न थालेको छ । कतिपय अवस्थामा भाषिक त्रुटिले गर्दा विषयवस्तुको अस्पष्टतासँगै अनर्थलाई जन्माउने गरेको छ । भाषाकै माध्यमबाट कतिपय सन्दर्भमा गलत सूचनासमेत प्रवाह हुने गरेको छ । यस्तो अवस्था रहँदा पनि अहिले नेपाली पत्रकारितामा व्यवहारतः भाषिक पक्षलाई त्यति बढी महìव दिइएको पाइँदैन । सम्पादकलाई स्वयम् भाषाको ज्ञाता ठान्ने प्रचलन बढ्दो छ । समाचार सम्पादकले नै भाषा सम्पादकको समेत भूमिका निर्वाह गर्ने प्रचलन अहिले धेरै जसो सञ्चार माध्यममा पाइन्छ । यसको अर्थ सबै सम्पादकमा भाषिक ज्ञान हुँदैन भन्न चाहिँ खोजिएको होइन । स्थानीय स्तरबाट प्रकाशन एवं प्रसारण हुने धेरै जसो सञ्चार माध्यममा भाषा सम्पादकको नियुक्ति हुँदैन । यस्तो अवस्थामा ती सञ्चार माध्यमबाट प्रकाशन एवं प्रसारण हुने समाचारजन्य विषय सन्दर्भमा धेरै गल्ती हुने गरेका छन् । नेपाली भाषाको सन्दर्भमा धेरै ठाउँमा लिङ्ग, वचन, पुरुष, काल, पक्ष, भाव, वाच्य जस्ता व्याकरणिक, कहीँ कतै सन्दर्भपरक र अर्थगत गल्ती बढी हुने गरेका छन् । भाषाकै कारण कतिपय अर्थ अनर्थमा परिणत हुने गरेका छन् । विषयवस्तु सही र प्रामाणिक हुँदाहुँदै पनि कतिपय अवस्थामा भाषाकै कारण मिडियाप्रतिको विश्वास गुम्दै गएको भान हुन्छ । अतः पत्रकारितामा विश्वास जगाउने सबालमा उपयुक्त शब्द चयन, शुद्ध वर्णविन्यास, सरल वाक्यविन्यास जस्ता समग्र भाषिक शुद्धतामा ध्यान दिन जरुरी छ । 

फोटो तथा दृश्य

नेपाली पत्रकारितामा पछिल्लो समयमा फोटो तथा दृश्यको प्रयोग गलत तरिकाबाट पनि प्रयोग भएको पाइन्छ । कतिपय समाचारमा असम्बन्धित व्यक्तिको फोटो हुने गर्छ । सामाजिक सञ्जालमार्फत धेरै ‘लाइक’ र ‘भ्यु’ पाउने आशामा पनि कतिपय अश्लील प्रकृतिका फोटा एवं दृश्य सम्प्रेषण हुने गरेका छन् । यस्तै व्यङ्ग्यचित्रको नाम दिने तर यथार्थमा व्यङ्ग्यबोधको सट्टा सोझो रूप देखाउने र अप्रत्यक्ष तरिकाले सम्बन्धित व्यक्तिको चरित्रहत्या गर्ने काम कतिपय मिडियामार्फत भइरहेको छ । व्यङ्ग्य चित्रकारले नयाँ नयाँ परिकल्पनाद्वारा तयार पारेका व्यङ्ग्य चित्रमा निश्चय पनि मानवता हटाउनै हुँदैन किनकि पत्रकारिता भनेको वास्तविक तथ्यको सन्तुलनपरक प्रस्तुति पनि हो । मिडियाले जुनसुकै समयमा जोकोही व्यक्तिको अतिरञ्जित रूप देखाउनु पक्कै पनि वास्तविक पत्रकारिताको धर्म होइन । आफूले सही नियतले कसैको फोटो प्रयोग गरिँदै छ भने अर्कोले त्यसलाई गलत नियतमा अथ्र्याउन पनि सक्ने हुँदा द्वैध अर्थधारी फोटो वा दृश्यको प्रयोग नगर्नु बढी श्रेयष्कर हुन्छ । 

अन्त्यमा विश्वसनीय पत्रकारिताको रक्षार्थ सबै सञ्चारकर्मी थप सजग र जिम्मेवार हुनुपर्ने आवश्यकता खड्किँदै छ । पत्रकारले आफ्नो सञ्चार माध्यमका सूचना तथा समाचार भरपर्दा देखाउनका लागि थप कडा मिहिनेत र परिश्रम गर्नुपर्ने हुन्छ ।   

Author

केशव निरौला