राममणि दाहाल
मकवानपुर, असार १७ गते । पूर्व पश्चिम राजमार्गको हेटौँडा उपमानगरपालिका– १५ रातोमाटेस्थित सडक खण्डमा लहरी ट्रक ब्रेकफेल भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मङ्गलबार बिहान २ः३० बजेको समयमा रातोमाटेस्थित चार्जिङ पोइन्ट नजिकै भारतको वनारसबाट रिद्धिसिद्धी सिमेन्ट उद्योगको कोइला लिइ आउँदै गरेको युपी६१एटी ०९६२ नं.को लहरी ट्रक ब्रेकफेल भइ बाटोको दाहिने किनारमा पल्टिन जाँदा चालक भारत गाजिपुर जिल्ला पुरैनियाका वर्ष ४०/४५ का महेन्द्र यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गाडी भित्र च्यापिएका चालक यादवको घाइते अवस्थामा उद्धार गरी उपचारको लागी हेटौँडा अस्पताल पठाएकोमा डाक्टरले जाँच गर्दा बिहान ५ः४५ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
सहचालक भारतको जिल्ला गाजिपुरका वर्ष २५/२६ का मनोज यादबलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल मकवानपुर पठाएको र अवस्था सामान्य रहेको छ । दुई वटा क्रेनको सहयहोगमा गाडी भित्र च्यापिएको चालक यादवलाई उद्धार गरिएको थियो ।