संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई नहुने एउटा माध्यम पर्यटन हो । पर्यटनलाई बढावा दिने मुख्य साधन यातायात हो । यातायातबिना पर्यटन विकासको कल्पनै गर्न सकिँदैन । यातायात असुविधाकै कारणले पहाडी राष्ट्रमा विकासको गति मन्द हुन्छ । यस्ता राष्ट्रमा यातायातका साधन विकट पहाडी क्षेत्रमा पुर्याउन कठिन र जोखिमपूर्ण हुन्छ । त्यसैले त्यस्ता क्षेत्रमा हवाई यातायातको व्यवस्था गर्नु पर्छ । हवाई यातायातको व्यवस्था गर्न पनि महँगो पर्छ । नियमित उडान गराउन विविध समस्याका कारणले कठिन हुने भए पनि त्यस्ता राष्ट्रमा स्थल यातायातभन्दा हवाई यातायात चाँडै व्यवस्था गर्न सकिन्छ ।
नेपालको भूधरातललाई दृष्टिगत गर्दा हवाई यातायातलाई पर्यटन प्रवर्धनका लागि प्रयोग गर्नु हाम्रो आवश्यकता र चुनौती दुवै हो । यसका लागि सरकारी नियन्त्रणको नेपाल वायुसेवा निगमलाई सबल बनाउनु पहिलो कर्तव्य हुन आउँछ । आन्तरिक तथा बाह्य पर्यटकलाई एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्नु मात्र होइन, यातायातको सुविधा नभएका ठाउँमा उपभोग्य वस्तुको ढुवानी गर्नु पनि हवाईसेवाको कर्तव्य हो ।
न्यून भूभाग मात्र सुगम र अत्यधिक भूभाग दुर्गम रहेको हाम्रो राष्ट्रमा अझैसम्म पनि कतिपय सुगम मानिने ठाउँमा समेत यातायात सेवा पुर्याउन सकिएको छैन । हिमाली र पहाडी भेगमा पर्ने धेरै जसो स्थान यातायात सुविधाबाट वञ्चित छन् । विकासको गति तीव्र बनाउने हो भने नेपालका हिमाली र पहाडी भेगका सबै ठाउँमा यातायात विस्तार गर्नु अत्यावश्यक छ । हिमाली प्रदेशमा राजमार्ग निर्माण गर्नुपर्ने प्रस्ताव भर्खरै आएको छ । सरकारको इच्छाशक्ति, विश्वसनीयता र जनपरिचालन हुने हो भने यो काम कठिन र असम्भव हुँदै होइन । नेपालको पर्यटन विकासमा यातायातका यस्ता पक्षले अहम् भूमिका खेल्न सक्छन् ।
नीति निर्माण तहमा रहेका व्यक्तिको अदूरदर्शिताका कारणले आन्तरिक तथा बाह्य दुवै प्रकारका पर्यटकले समुचित सेवा पाउन सकिरहेका छैनन् । नेपालभित्रको आन्तरिक राजनीतिक द्वन्द्वबाहेक सिधा बाटो नपाएर पनि विदेशी पर्यटक नेपाल आउन पाइरहेका छैनन् । विश्वमा पर्यटकीय गतिविधिको बढ्दो क्रियाकलापले नेपालमा पनि पर्यटक सङ्ख्यामा उल्लेख्य वृद्धि हुने आशा सबैमा पलाएको छ । नेपाल वायुसेवा निगमले विश्वका ठुलठुला वायुसेवा निगमले उडान गर्ने दोहा, दुबई र दमामसँग सिधा हवाई सम्पर्क जोडेको छ । त्यसले युरोप र अमेरिकाका पर्यटक नेपाल आउन सजिलो भएको हुँदा पर्यटक सङ्ख्यामा उल्लेख्य वृद्धि हुने आशा पलाउनु स्वाभाविक हो । खाडी राष्ट्रमा काम गरिरहेका करिब १० लाख नेपाली मजदुरको आवतजावत यो उडानले सुविधा पु¥याएको छ । दुबई र दमामसँग सिधा हवाई सम्पर्क भइरहेकाले विदेशी पर्यटकले भारत हुँदै नेपाल आउनुपर्ने बाध्यता हटेको छ । निगमले आफ्नो ध्वजावाहक विमान सङ्ख्यामा बढोत्तरी गरी नियमित उडान गरे राष्ट्रका लागि यसलाई ठुलो उपलब्धि मान्नु पर्छ ।
हाम्रो जस्तो हिमाल र पहाडले भरिएको मुलुकमा विदेशी पर्यटकलाई भिœयाउन सक्नु र उनीहरूबाट विदेशी मुद्रा प्रशस्त आर्जन गर्न सक्नु हाम्रो प्रमुख कर्तव्य हो । यो कर्तव्यको निर्वाह गर्ने प्रमुख माध्यम नै हवाईसेवा हो । पर्यटन–उद्योग नै देश विकासको मेरुदण्ड भएकाले र पर्यटन उद्योगको विकास हवाईसेवाको क्रियाकलापमा नै निर्भर रहेकाले यसको उचित संरक्षण र व्यवस्थापन गर्नु अत्यावश्यक छ । यसले पर्यटन क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न र राष्ट्रको उन्नति गर्न हामीलाई सजिलो पर्ने छ ।
नेपालले हवाईसेवाबाट आयआर्जन गर्न सकिरहेको छैन । नेपालमा कमिसनतन्त्र, राजनीतिक द्वन्द्व, राजनीतिक हस्तक्षेप र समुचित व्यवस्थापन अभावले अपेक्षित लाभ लिन सकिरहेको छैन । हालै मात्र अन्तर्राष्ट्रिय हवाईसेवामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) का कारणले विदेशी पर्यटकको सङ्ख्यामा गिरावट आई भारतलगायत अन्य देशबाट नेपाल आउने पर्यटक सङ्ख्यामा समेत कमी आएकाले पनि नेपाललाई केही समस्या परेको छ । अहिले न्यूनतम विदेशी मुद्रा मात्र पर्यटन व्यवसायबाट नेपालले आम्दानी गर्ने गरेको छ ।
२० वर्षदेखि हवाई यात्रुको सङ्ख्या विश्वमा नै बढिरहेको छ । हवाई यात्रुको सङ्ख्या बढेपछि सडक यात्रुको सङ्ख्या घटिरहेको छ । सडक यात्राले भन्दा हवाई यात्राले पर्यटकलाई बढी सुविधा दिएका कारणले यस्तो भएको हुन सक्छ । हवाई यात्राको प्रतिशत लगातार बढिरहे झैँ सडक यात्राको प्रतिशत लगातार घटेको छ । हवाई यातायातका क्षेत्रमा यो शुभ सङ्केत हो । युरोपबाहेक अन्य क्षेत्रका पर्यटक परिवहनमा हवाई यातायातको प्रयोग ५० प्रतिशतभन्दा बढी नै हुने गरेको छ ।
विश्वभरका कुल १.७ अर्ब पर्यटकले हवाई यातायातमार्फत आफ्नो यात्रा तय गर्ने गरेको अभिलेख छ । उता एसिया र प्रशान्त क्षेत्रका हवाईसेवाले आफ्नो परिवहन क्षमता विगतको तुलनामा झन्डै १० प्रतिशतले बढाएका छन् । विश्वव्यापी अनुमानभन्दा अलि बढी अर्थात् ८० प्रतिशत यात्रु भार प्राप्त भइरहेको छ ।
विश्वको हवाई यातायातको विकासक्रमसँगसँगै हवाई यात्राको लागत कम गर्ने पद्धतितिर पनि ध्यान दिन थालिएको छ । आगामी दिनमा हवाईसेवा र पर्यटनमा अरू चाप थपिई चर्को प्रतिस्पर्धा हुने स्थिति भएकाले लागत कम गर्नेतर्फ ध्यान जानु स्वाभाविक पनि हो ।
हवाई यातायातका क्षेत्रमा नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा बोइङ ७७७ र एयरबस ३३०–२०० सम्म उत्रिने क्षमता भइसकेको हुँदा अब बढ्दो परिवहन धान्न विमानस्थलको आफ्नो धावनमार्गलाई पनि अझै वृद्धि गर्नुपर्ने भएको छ । यसका साथसाथै द्रुत टिकेटिङ र उच्च अनुगमनको सुविधा पनि पूरा गर्नुपर्ने भएको छ । पर्यटकीय कागजातको द्रुत व्यवस्थापनको जरुरी पर्ने भएको छ । इन्टरनेटको व्यापक प्रयोग गरी समयानुकूल हुनु पनि आवश्यक छ भने ट्राभल एजेन्टले ट्रेकिङ एजेन्सी वैकल्पिक वा इच्छाधीन सेवाको पर्याप्तताले गर्दा सोही अनुरूप यात्रुले पनि बढी मोलाहिजा र बार्गेनिङ गर्ने हुनाले त्यसप्रतिको भूमिका पनि साँच्चै महत्वपूर्ण हुने स्पष्ट छ ।
नेपालको पर्यटन व्यवसायलाई गति दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल वायुसेवा निगम, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल पर्यटन बोर्ड, निजीस्तरका हवाई कम्पनी तथा विभिन्न ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी, नेपाल पर्वतारोहण सङ्घ, यातायात व्यवसाय र होटेलको महत्वपूर्ण भूमिका छ । अन्य विभिन्न सङ्घ संस्थाको पनि प्रत्यक्ष अप्रत्यक्ष सम्बन्ध छ । सम्बन्धित सम्पूर्ण निकायबिच आवश्यक समन्वय र सामञ्जस्य हुन नसक्दा त्यसले पर्यटन व्यवसायलाई असर पारेको छ र अस्वस्थ प्रतिस्पर्धाका कारणले आफ्नो लक्ष्यप्राप्तिका लागि कठिन भइरहेको छ ।
सरकारी नीति निर्धारक, चालक दल, हवाई कम्पनीमा काम गर्ने कर्मचारी, हवाई कम्पनीका मालिक, सरकारी निगमको व्यवस्थापन पक्षसँग सम्बन्धित व्यक्ति र उड्डयनसँग सम्बन्धित व्यक्तिका दृष्टिकोणमा समन्वय र सामञ्जस्य ल्याउन आवश्यक छ । राष्ट्रिय हितमा ती सबैलाई प्रयोग गर्न नसकेसम्म आन्तरिक र बाह्य दुवै पर्यटनको एवं पर्यटन व्यवसायको समेत भविष्य उज्ज्वल बनाउन कठिन छ ।
नेपालको अधिकांश भूभाग पहाड र पर्वतले भरिएको छ । यहाँ उड्डयनको विशेष महत्व छ । नेपालमा हाल ६० वटा विमानस्थल छन् र तीमध्ये २५ वटा विमानस्थलको कालोपत्रे भइरहेको छ । ३५ वटा कच्ची विमानस्थल छन् । रातिको समयमा पनि उडान भर्न सक्ने आठ वटा विमानस्थल छन् । ती सबै विमानस्थल संरक्षण गरेर समुचित ढङ्गले उपयोग गर्ने हो भने त्यसले नेपालको पर्यटन क्षेत्रलाई धेरै फाइदा पु¥याउने छ । आगामी दिनमा नेपालमा विदेशी पर्यटकको सङ्ख्या बढ्ने कुरा निश्चित भएकाले विमानस्थललाई जुनसुकै समयमा पनि प्रयोग गर्न सकिने स्थितिमा राखिरहनु आवश्यक छ ।
नेपालमा पूर्ण रूपले व्यवस्थित अन्तर्राष्ट्रिय विमानस्थल हुनु आवश्यक छ । पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल राम्रोसँग सञ्चालन गर्नु पर्छ । निगमले पर्यटकको कमी हुने जुनसुकै मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्नुको सट्टा पर्यटक बढी हुने मुलुकसँग बढी सम्बन्ध विस्तार गर्ने हो भने ४२ वटा मुलुकको सट्टा त्योभन्दा कम मुलुकसँग भएको द्विपक्षीय हवाई सम्झौताले पनि नेपालको पर्यटन व्यवसायलाई ठुलो टेवा पुग्ने छ ।
नेपालबारे समाचार सम्प्रेषण गर्दा नवीन पद्धति अनुरूप आकर्षक रूपबाट विदेशीलाई समाचार सम्प्रेषण गर्नु आवश्यक छ । विदेशमा रहेका विदेशी राजदूतावास तथा निगमका कार्यालयको व्यवस्थापन र अन्य पक्षमा कुनै कमजोरी रहेका छन् भने तिनलाई सुधार गरेर ती कार्यालयमार्फत निगमले पर्याप्त मात्रामा प्रचारप्रसार गर्ने र नेपालका विषयमा उचित र जानकारीमूलक समाचार सम्प्रेषण गर्न पनि सकिन्छ । ती कार्यालयको प्रभावकारी भूमिकाबाट पनि नेपालले प्रशस्त वैदेशिक मुद्रा आर्जन गर्ने सम्भावना छ । नेपालभित्र आउने अन्य विदेशी एयरलाइन्सले करिब एक सय अर्ब रकमको कारोबार गर्छन् भने नेपाल वायुसेवा निगमले चार/पाँच अर्ब मात्र कारोबार गर्छ । यसमा सरकारले ध्यान दिएको देखिँदैन । सरकारले पर्यटन उद्योगलाई मुलुकमा अन्य उद्योगसरह प्रेरणा, न्यायिक सुरक्षा र सुविधा उपलब्ध गराई पूर्ण मान्यता दिनु पर्छ । निजी क्षेत्रसँगको कार्यगत सम्बन्ध सुदृढ बनाउँदै सरकारले मुलुकमा सर्वसाधारण जनता, उद्योग एवं पर्यटन क्षेत्रमा शान्ति सुरक्षाको प्रत्याभूति दिनु पर्छ । पर्यटनसँग सम्बद्ध व्यावसायिक सेवालाई प्रस्ट रूपले परिभाषित गरी एकअर्काको क्षेत्रमा अनधिकृत रूपमा हुने गरेका व्यावसायिक क्रियाकलाप अविलम्ब अन्त्य गराउनेतर्फ पनि सरकार संवेदनशील हुनु आवश्यक छ ।
नेपालभित्र रहेका गन्तव्य स्थलमध्ये सम्बन्धित व्यवसायीबाट समुचित सम्भाव्यता अध्ययन गराई नयाँ गन्तव्य स्थलको प्रतिवेदन तयार गरी तिनलाई प्रचारप्रसार गराउने हो भने त्यसले पनि धेरै फाइदा पु¥याउने छ । पर्यटन प्रवर्धन गर्दा अन्तर्राष्ट्रिय परिप्रेक्ष्यलाई मात्र होइन, क्षेत्रीय प्रतिस्पर्धालाई पनि ध्यान दिँदै तदनुरूपको नीति निर्माण गर्नुका साथै अन्य सम्भावित मुलुकमा बजार प्रवर्धन गर्नु पर्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक स्वरूप एवं सुविधाको विकासका लागि अविलम्ब उपयुक्त कदम चालिनु पर्छ । खुला आकाशको नीतिलाई कागजमा मात्र सीमित नराखी नियमित उडानलाई प्राथमिकता दिई थप सुविधा र सहुलियत प्रदान गरिनु पर्छ ।
आन्तरिक हवाई उडानमा यात्रुको सुरक्षाको प्रत्याभूति दिनुका साथै निजी क्षेत्रबाट सञ्चालन हुने हवाई कम्पनीलाई थप इजाजत दिनेतर्फ नियन्त्रण गर्ने तर यसका लगि समयानुकूल, दिगो र दीर्घकालीन परिप्रेक्ष्यमा राष्ट्रिय पर्यटन नीति बनाउनु अपेक्षित छ । निजी क्षेत्र पर्यटनसँग सम्बन्धित सङ्घ संस्थाको समानुपातिक प्रतिनिधित्वका आधारमा उच्चस्तरीय सामञ्जस्य राखी काम गर्नु आवश्यक छ ।