• १३ साउन २०८१, आइतबार

निर्वाचन सामग्री बुझेर मतदानस्थलतर्फ कर्मचारी

blog

रमेश पौडेल
पोखरा, वैशाख २७ गते ।
एकै चरणमा वैशाख ३० गते शुक्रबार हुन लागेको स्थानीय तह निर्वाचनका लागि निर्वाचनमा खटिएका कर्मचारीहरुले निर्वाचन सामग्री बुझेर मतदानस्थलतर्फ लैजान थालेका छन् । मङ्गलबार ६४ प्रकारका निर्वाचन सामग्री बुझेर कर्मचारी मतदानस्थलतर्फ लागेका हुन् ।

कास्कीका मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले बुधबारसम्म मतदानस्थलमा पुगेर निर्वाचनका लागि आवश्यक तयारी गर्ने जानकारी दिनुभयो ।

कर्मचारीले स्वस्तिक छाप, लाहा, मतपेटिका सुरक्षण सिल, स्टिकर, स्ट्याम्प प्याड, मसी, मतपेटिका, मतपत्र, मतदाता परिचयपत्र, रबर म्याट, कपडा, कैची, स्केल, कागज, सियो, धागो, सलाई, ब्रोसर लगायतका ६४ प्रकारका निर्वाचन सामग्री बुझेका हुन् ।

निर्वाचन सामग्री लिनका पोखराको मुस्ताङचोकस्थित जिल्ला निर्वाचन कार्यालय र सहिदचोकस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कर्मचारीको दिनभर भीड लागेको थियो । मुख्य निर्वाचन अधिकृत भट्टराईले कर्मचारी अभावका कारण भीडलाई व्यवस्थित गर्न नसकेको जानकारी दिनुभयो ।

पाँच स्थानीय तह रहेको कास्कीमा दुई लाख ८१ हजार ८३३ मतदाता छन् । कास्कीमा १५० मतदान स्थल र ३३६ वटा मतदान केन्द्र तोकिएको छ । करिब एक हजार ६८० कर्मचारी र एक हजार आठ जना स्वयम् सेवक र दुई हजार बढी सुरक्षाकर्मी  परिचालन गरिएको छ  ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख हुमनाथ पराजुलीले गण्डकीका ११ जिल्लामा करिब २० हजार जना कर्मचारी परिचालित भएको बताउनुभयो । साथै प्रदेशका कुल एक हजार २५३ मतदानस्थलमा दुई हजार तीन सय मतदान केन्द्र तोकिएका छन् । गण्डकी प्रदेशमा पोखरा महानगरपालिकासहित २६ नगरपालिका, ५८ गाउँपालिका, ७५९ वडा रहेका छन् । गण्डकी प्रदेशमा करिब १८ लाख मतदाता  छन् ।

कास्कीमा पोखरा महानगरसहित रुपा, माछापुच्छे, मादी र अन्नपूर्ण गाउँपालिका छन् । पोखरा महानगरमाभित्र ३३ वडा छन् । कास्कीमा कुल वडाको सङ्ख्या ७२ छ । ७२ वडा र पाँच पालिका गरी कास्कीमा ३७० जना जनप्रतिनिधि चुनिन्छन् ।
पोखरा महानगरपालिका प्रमुख पदमा २८ र उपप्रमुख पदमा ११ जनाले उम्मेदवारी परेको छ ।