• १४ असार २०८१, शुक्रबार

विवेक पुर्‍याएर मतदान गर्न अध्यक्ष ओलीको आग्रह

blog

विष्णुप्रसाद पोखरेल
दमक, वैशाख २७ गते ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कसैको लै लै मा नलागी स्थानीय तहको निर्वाचनमा मतदान गर्न आग्रह गर्नुभएको छ । उहाँले विकास र समृद्धिको योजनाबद्ध खाका आफ्नो पार्टी र उम्मेदवारसँग रहेको जनाउँदै विवेक पुर्‍याएर मतदान गर्नु उहाँले आग्रह गर्नुभयो ।

झापाको दमकमा मङ्गलबार भएको चुनावी सभामा बोल्दै ओलीले दमकको र सिंगो मुलुकको विकासको खाका लिएर आफू अघि बढेको जनाउँदै यसमा साथ दिन अनुरोध गर्नुभयो । दमकको विकासको चर्चा अहिले राष्ट्रियस्तरमा नै हुने गरेको छ र यस्तो चर्चा सबै पालिकाको हुने अवस्था ल्याउनुपर्छ, उहाँले भन्नुभयो ।

दमकलाई अब राष्ट्रिय स्तरमा मात्र नभएर अन्तर्राष्ट्रियस्तरमा समेत चिनिने हिसाबले विकास गर्नुपर्ने पनि ओलीले बताउनुभयो । यहाँ बनिरहेको भ्यू टावर बहुआयामिक आर्थिक उन्नति गर्ने आधार बन्नेछ, ओलीको भनाइ थियो । यहाँ अस्पतालदेखि लिएर किनमेल स्थलसम्म बन्नेछ, ओलीले भन्नुभयो ।

ओली गृहनगर दमकमा सोमबार बेलुका आउनुभएको हो । मङ्गलबार उहाँले जिल्लाका ४ वटा चुनावी सभालाई सम्बोधन गर्नुभएको नेकपा एमालेका झापा अध्यक्ष दीपक कार्कीले जानकारी दिनु भयो ।