• ५ जेठ २०८१, शनिबार

जुम्लामा निर्वाचन अधिकृतको सबै कार्यालयमा सीसी क्यामरा

blog

नेत्र शाही
जुम्ला, वैशाख २७ गते ।
जिल्लाका सबै स्थानीय तहमा सीसी क्यामरा जडान गर्न सुरु गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षाका लागि सीसी क्यामरा जडान गर्न सुरु गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले आठैवटा स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा सीसी क्यामरा जडान गर्न निर्देशन दिएको जानकारी दिनुभयो । निर्देशन अनुसार धेरै निर्वाचन अधिकृतको कार्यालयमा जडान भइसकेको र केही कार्यालयमा जडान भइरहेको उहाँले बताउनुभयो । सबै कार्यालयले सीसी क्यामराजडान अनिर्वाय गर्नुपर्ने जानकारी समेत उहाँले दिनुभयो ।

विगतका निर्वाचनमा टेलिफोन समेत नलाग्ने स्थानीय तहमा यसपटक सीसी क्यामरा जडान गरिने भएको छ । 

प्रजिअ प्रसाइका अनसार केन्द्रीय निर्देशन अनुसार नै जिल्लाका स्थानीय तहलाई निर्वाचन अधिकृतको कार्यालयमा सीसी क्यामरा जडान गर्न निर्देशन गरिएको छ ।

विगतमा केही स्थानीय तहमा धाधली र झडप भएका थिए । यस पटक सीसी क्यामरा जडानपछि निर्वाचन अधिकृतको कार्यालय वा मतगणना स्थलमा थप सुरक्षित हुने अपेक्षा गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रसाइले केन्द्रबाट चारवटा सीसी क्यामरा निर्वाचन कार्यालय पठाएको र अन्य स्थानीय स्तरबाट जडान भएको बताउनुभयो ।

जिल्लाको हिमा गाउँपालिकामा सीसी क्यामरा जडान भइसकेको निर्वाचन अधिकृत रितु राईले जानकारी दिनुभयो । त्यस्तै, सिञ्जा गाउँपालिकामा पनि सीसी क्यामरा जडान भइसकेको निर्वाचन अधिकृत कर्णबहादुर महतले जानकारी दिनुभयो । 

यता मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पनि सीसी क्यामरा जडान भइसकेको सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायले जानकारी दिनुभयो ।