• १३ साउन २०८१, आइतबार

मतदान स्थलमा खटाइएका कर्मचारी गन्तव्यतर्फ प्रस्थान

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, वैशाख  २७ गते । वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि हिमालपारीको जिल्ला मुस्ताङको मतदान केन्द्रमा खटिने कर्मचारीहरु मतदान स्थलतर्फ प्रस्थान गर्नुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्ती बुझेपछि कर्मचारीहरु मतदान स्थलतर्फ लाग्नुभएको हो । हिमालपारीको जिल्ला मुस्ताङका ३८ स्थानमा ३८ मतदान केन्द्र निर्धारित छ । प्रत्येक केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगीसहितको सुरक्षाकर्मीको टोली मतदान स्थलतर्फ लागेको जिल्ला निर्वाचन कार्यालय मुस्ताङका सूचना अधिकारी समिर थापाले बताउनुभयो ।

२६ गते र २७ गते गरी दुई दिनमा नियुक्तीपत्र बुझेर आ–आफ्नो मतदान केन्द्रतर्फ कर्मचारीहरु लागेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो । मुस्ताङमा २७ गतेदेखि साँझ परेपछि हिडडुल गर्न एवम् मदिरा सेवन, बिक्री वितरण र वसारपसार कडाइकासाथ निशेध गरिएको प्रजिअ शर्माले बताउनुभयो ।

पाँच स्थानीय तहमा २५ वडा रहेको मुस्ताङ जिल्लामा भौगोलिक बिकटता एवम् सुरक्षा सम्बेदनशीलताको दृष्टिकोणबाट हेर्दा २३ मतदान केन्द्र सामान्य र १५ मतदान केन्द्र सम्बेदनशीलताको दर्जामा बर्गिकरण गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गोपिकृष्ण सुवेदीले बताउनुभयो ।

निर्वाचनका लागि मुस्ताङ जिल्लामा नेपाल प्रहरीका दुईसय २४ जना, म्यादी प्रहरी दुईसय ५५ जना, सशस्त्र प्रहरीबलका एकसय ८९ र नेपाली सेना दुईसय ७० जना खट्ने जिल्ला सुरक्षा समितिका प्रमुख एवम् प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो । मुस्ताङमा पाँच हजार एकसय २८ पुरुष, पाँच हजार तीनसय ५६ महिला र एक जना अन्य गरी कुल १० हजार चारसय ८५ मतदाता रहेका छन् ।